किताब पढ्न पत्रमार्फत छोरालाई सुझाव

यामबहादुर थापा मगर २०८१ वैशाख ९ गते ११:५१

प्यारो छोरा हिम्मतलाई शुभआर्शीवाद एवं शुभकामना
मैले छोरा हिम्मतलाई यसभन्दा अगाडि धेरै लामालामा पत्रहरू लेखेर पत्रपत्रिकाहरूमा प्रकाशन गरी अध्ययन गर्न अनुरोध गरेको छु । छोरा हिम्मतलाई लेखेका पत्रहरूबाट आमपाठकहरू समेत आफूलाई जस्तै लेखेको भनी उत्प्रेरणामूलक अनुभव र शिक्षा हासिल गरेको प्रतिक्रिया प्राप्त भएको थियो ।


अहिले मैले लामो समयपछि किताब किन पढ्नुपर्छ भनेर यसैमा केन्द्रित भई किताबलाई स्थायी साथी बनाउन सधैँ प्रेरित गरोस् भन्न यो पत्र लेख्ने प्रयास गरेको छु । पुस्तकप्रेमी किन बनाउने ? पुस्तक अध्ययन गरेपछि सिर्जनात्मक र गुणात्मक तरिकाले पुस्तक समीक्षा गर्न सक्ने सबल समालोचक बन्ने चेत हासिल गर्न र दक्ष नागरिक बनाउनका लागि जागरूक बनाउन यो पत्र लेख्ने काम भएको छ ।


अहिले ई बुक, ई पुस्तकालयको अभ्यासको सुरुआत भए पनि नेपाली भाषामा सर्वसुलभ रूपमा किताब पाउने अभ्यास र शैलीको सुरुआत हुने क्रममा छ । अंग्रेजी भाषामा प्रशस्त मात्रामा भेटिन्छ । नेपाली भाषाका अलावा हिन्दी भाषा, अंग्रेजी भाषा र नेपाली भाषामा अभ्यस्त हुने बानीको विकाससँगै मातृ भाषा मगर, गुरुङ, राई, लिम्बु, तामाङ लगायत लोप हुन लागेका भाषाहरूको विषयमा समेत भाषाविदहरुका अनुसार जानकारी राख्न पाउनुपर्ने र गहिरो अध्ययन गरी विचार र तर्क प्रस्तुत गरेको पाउनुपर्छ ।

Advertisement


मानव जीवनमा शिक्षाको महत्व आत्मसात गरेपछि व्यक्ति स्वयं आत्म केन्द्रित भई ज्ञान आर्जनका लागि आत्मबाटै लगनशील भई लाग्ने वातावरण निर्माण गर्ने व्यक्ति सफल हुन्छ । सिक्नका लागि लाज नमान्ने र कमी कमजोरी नलुकाई जानकारी हासिल गर्न निरन्तर अगाडि लम्की रही सोधखोजमा लाग्ने आनीबानीले सकारात्मक विकास पुर्‍याउँछ ।

पुस्तक पढ्ने बानीले मानिसको दिमागलाई निर्खादै प्रतिस्पर्धामूलक खुला बजारमा बिकाऊ जनशक्ति बनाउनमा दरिलो आधार प्रदान गर्छ । अब तपसिलका अनुच्छेदमा पुस्तक किन पढ्ने, कसरी पुस्तक प्रेमी बन्ने र पुस्तकको अन्तर्निहित शक्तिले मानिसलाई आत्मबल भर्न सहयोग गर्दछ भनी चिठी पत्रको सहयोग लिई प्रस्तुत गरेको छु ।

Advertisement


मैले घरमा पटकपटक मौखिक रूपमा भन्ने र छोरालाई कामको निरन्तरता जारी राख्दै भए पनि अझ प्रभावकारी बनाउनको लागि पत्रपत्रिकामा प्रकाशित गरी दस्तावेजीकरण र संस्थागत गर्नमा सहज होस् भन्न छोरालाई चिठी स्वरूप आलेख तयार गर्ने काम भएको छ ।

पुस्तक पढ्ने बानीले मानिसको दिमागलाई निर्खादै प्रतिस्पर्धामूलक खुला बजारमा बिकाऊ जनशक्ति बनाउनमा दरिलो आधार प्रदान गर्छ


किताब अध्ययनले मानिसलाई नयाँ कुराहरू सिकाउँछ र मानिसहरूमा भएको अज्ञानताको आँखा खोलिदिन्छ । घर वा अध्ययन गर्ने कोठा तथा पुस्तकालयमा बसीबसी बाहिरी संसारमा सहज र आनन्ददायक तरिकाले भ्रमण गराउन सहयोग पुर्‍याउँछ । विभिन्न भाषाहरूको ज्ञान हासिल पश्चात् धेरै भन्दा धेरै शब्द भण्डारको विकास गराई तर्क वितर्क गर्नमा किताबले निस्वार्थ रूपमा सहयोग गरेको हुन्छ । व्यक्तिगत हिसाबले अपूर्ण ज्ञानलाई पूर्णता हासिल गर्न अरूबाट सिक्न पुस्तकले सिकाउँछ ।


हतियार बोधो भएमा तिर्खानुपर्छ भने जस्तै पुस्तक अध्ययनले मानिसको दिमागलाई तिखो बनाउँछ र अरुभन्दा बौद्धिकता हासिल गरेको अब्बल मानिस बनाउनमा सहयोग गर्दछ । तनाव र बेचैन भएको समयमा किताब पढ्ने बानीले आराम र सुखानुभूति दिन्छ । मानिस सधैँ विकास र प्रगति चाहेको हुन्छ । निरन्तर अगाडी बढ्ने स्वभावलाई साथ दिई उन्नति र सफलताको खुड्किलो चढ्न सहायता किताबले पुर्‍याउँछ ।


साहित्य, इतिहास, भाषा, भूगोल, सूचना प्रविधि, इन्जिनियर, विज्ञान, पत्रकारिता, समाजशास्त्र, राजनीति शास्त्र, अर्थशास्त्र लगायतका भिन्नाभिन्नै विधाको स्वाद र ज्ञान प्रदान गर्नमा पुस्तक पढ्ने बानीले सहयोग गर्छ । पुस्तक अध्ययन गर्ने बानीले हिज्जेमा सिपालु बनाउँछ । मानिस जुनसुकै हरकत गरे पनि अन्तमा बन्न खोज्ने भनेको खुसी र आनन्द हासिल गर्नु हो । किताब अध्ययनमार्फत प्राप्त गर्ने शिक्षाले मानिसलाई खुसी बनाउँछ । मानिस सुरुआतमा साँघुरो घेरामा सीमित भएको हुन्छ ।

अध्ययनको दायरा बढाउँदै गएपछि बुझाइ र विषय वस्तुमा हेराइप्रतिको दृष्टिकोण फराकिलो र विस्तृतीकरण गराउनमा मद्दत गर्दछ । भविष्य अन्धकार हुन्छ । सो अन्धकार भविष्यलाई चिर्दै उज्यालो बनाउँदै ठूलो सपना देख्न सहायता गर्दै सो बमोजिमका सपना पुरा गर्न आधारशिला प्रदान पुस्तकले गरेको हुन्छ । विचारले मानिसलाई बुद्धिमानी वा मूर्ख के हो फरक छुटयाउन सहयोग गरेको हुन्छ । शून्यताबाट मुक्त भई विचारशील बनाई सिर्जनात्मक क्षमता बढाउन सहयोग गर्दछ ।


पुस्तक अध्ययनले भावनात्मक अमूर्त पक्षलाई सकारात्मक तरिकाले अभिवृद्धि गर्दै भावनात्मक क्षमतामा सबलता बढाउन सहायता गर्छ । समाजमा विभिन्न व्यक्तिहरू हुने र ती नयाँ परिवेश तथा वातावरणका मानिसहरूका बारेमा सिक्न र जान्नका लागि किताबले सहायता प्रदान गर्दछ । आत्मकेन्द्रित बानी, लोसिने र हौसिने मनस्थितिबाट मुक्त राखी खिन्नता र उदासीपनलाई हटाउन पुस्तकप्रेमी र अध्ययन गर्ने बानीले सजिलै हटाउने वैज्ञानिक अनुसन्धानका अध्ययनहरूले बताएको छ ।


मानिसमा विभिन्न दृष्टिकोण निर्माण गर्न सकारात्मक र सबलता हासिल गराउन सहयोग पुग्दछ । लेखन शैलीमा सुधार भई नयाँ दृष्टिकोणलाई वैज्ञानिक आधारमा अझै अब्बलता हासिल गर्न चुनौती दिन्छ । विभिन्न विकल्पहरूमध्ये अति उत्तम विकल्प छनोट गर्न सार्थक उपलब्धि हासिल गर्न सम्भाव्यताहरूलाई सहज रूपमा अगाडि निकट भविष्यमा देखाउँछ ।


मानिसका मनहरू चञ्चल र छटपटबाट ओतप्रोत हुने गरिरहँदा पुस्तक अध्ययन गर्दा एकाग्रता भई ध्यान केन्द्रित हुनमा मद्दत गर्दछ । मानिसको बोलीमा सब थोक हुन्छ भन्छन् । त्यसैले बोल्ने शैलीमा सुधार र सुवास ल्याउन किताबले सहयोग गर्दछ । मानिसमा भविष्यमा सम्भाव्यताहरूको खोजी गरी केही नयाँ र नवप्रवर्तनका कामहरू गर्न प्रेरणा मिल्छ ।

नेतृत्व विकास नै विकासको मूल आधार नै अध्ययनलाई मान्न सकिन्छ । असल अगुवा बनाउनमा पुस्तकहरूको अध्ययनले नै प्रमुख स्रोतहरू बनेको हुन्छ । शास्त्रीय ज्ञान, सिप, अनुभव, बदलिँदो परिवेश र परिवर्तनमा परिष्कृत गर्नुपर्ने हुन्छ । किताब अध्ययनले नयाँ, सोच, धारणा दिने काममा सहयोग गर्दछ । जोखिम र खतराका आयाम र परिदृश्यहरू जिन्दगीमा निरन्तर आइरहेको हुन्छ । ती जोखिम र भविष्यमा आउने भइपरी घटनाबाट सावधानी र ध्यान केन्द्रित हुन सहायता र सचेत गराउँछ ।


ज्ञान र शिक्षा लिने बलियो आधार इतिहास हो र विगतको लिपिबद्ध इतिहास अध्ययन गरेर सम्झना लायकलाई अध्ययन गरी ज्ञानको दायरालाई फराकिलो बनाउँछ । हानिकारक विद्युतीय साधनहरूदेखि अलग गराउँछ । पढाइमा कमजोर भएकाहरूलाई थप समय र किताबहरू अध्ययन गरी पढाइको तेज बढाउनमा महत्वपूर्ण सहयोग गर्छ ।


मानिसलाई हँसाउने साधन र तरिकासमेत आवश्यक पर्छ । रमाइला तथ्यहरू सिकाउँछ । आम्दानी भन्दा बढी खर्च गर्ने परिपाटीलाई रोकावट र नियन्त्रण गरी अधिक खर्च गर्ने परिपाटीलाई बचावट गर्छ । फजुल तरिकाले समय बरवाद गर्ने बानीमा सुधार गर्दछ । व्यक्ति र समाजका लागि परिवर्तन व्यवस्थापनका लागि आविष्कार र उत्पादन भएका नयाँ कुरालाई सराहना र प्रशंसा गर्न सिकाइ नयाँ वातावरणमा अनुसरण हुन पुस्तक पढ्ने बानीले सघाउँछ । भ्रमण गर्ने बानीले मानिसलाई नयाँ विचार र शिक्षा दिन्छ ।


विश्वमा भएका नयाँ नयाँ स्थानहरू पत्ता लगाई अनविज्ञ मानिसलाई ज्ञात गराउन किताबले सहयोग गर्दछ । धेरै पुस्तकहरूको अध्ययनले त सीमित समय र साधनबाट संसारमा नै भ्रमण गराउँछ । सावधानी र विचार पुर्‍याउन प्रोत्साहन गर्छ ।


समय निरन्तर नरोकिने तरिकाले खर्च भएको हुन्छ । समय, घटना, परिघटनाहरू थाहा नपाई बितिरहेको हुन्छ । ती बितेको समयमा पुस्तक अध्ययनले भ्रमण गराउँछ । आउनेवाला समयमा योजना, लक्ष्य मुताबिक निर्धारण गरे बमोजिम अन्तक्र्रिया मार्फत भ्रमण गराउँदछ । संसार बुझ्दै जाँदा र जानकारी लिँदै गर्दा विचित्रको छ । बुझ्नको लागि अथाह समय र क्षमताको आवश्यकता पर्छ । किताबले नयाँ संसारमा भ्रमण गराउँछ ।

मानिसहरू स्वभावले चञ्चल हुन्छ । किताबको अध्ययनले एकाग्रतामा वृद्धि गरी नयाँ नयाँ विषय वस्तुका बारेमा जानकारी हासिल गरी व्यक्तित्व विकास गर्नमा समेत मद्दत गर्दछ ।


मानिसको मस्तिष्क धेरै कम मात्रा प्रयोग भएको हुन्छ । त्यसैले मस्तिष्कलाई सक्रिय बनाउनमा पढाइले दिमागलाई स्फूर्ति दिलाउँछ । पढाइलाई निरन्तर रूपमा अगाडी बढाउनको लागि सहायता प्रदान गर्छ । लामो हवाई, रेल यात्रा, बस यात्रामा किताब अध्ययन गर्ने बानीले सहज यात्रा गर्नका लागि पुस्तकले सहायता पुग्छ । तनाव र चिन्ताबाट ग्रस्त भएकालाई पुस्तक अध्ययन गरेर तनाव घटाई वास्तविक संसारबाट केही क्षण टाढा गराउँछ ।


धेरै विकल्पहरू बारेमा थाहा र अवगत गराई अति उत्तम विकल्प छनोट र निर्धारण गर्नका लागि विकल्पहरू प्रदान गर्छ । कोरा र स्वतन्त्र रूपमा खाली रहेको दिमागलाई किताबको अध्ययनले काम लगाउँछ । समयलाई अनियन्त्रित हुन नदिई भविष्य मार्गदर्शक बनाउन समयलाई बाँधेर राख्छ । मायालु र कोकिल कण्ठयुक्त स्वरले भरिपूर्ण सम्मानित र इज्जतिलो आवाज भएको राम्रो बोल्नमा सहायता गर्छ ।


छोरा हिम्मत बाबुको नियमित विद्यालयमा जाने समयको अतिरिक्त समय बचावट भएको खण्डमा एक्लै भए पनि विद्यामन्दिर पुस्तकालय, बागलुङको पाठक कक्षमा गई अंग्रेजी भाषा लगायत अन्य कोर्सका किताब पढ्ने बानीको क्रियाकलापले म अत्यन्त खुसी छु ।


भोलिका दिनमास्वयं नै पुस्तकालयको सदस्य बनी थुप्रै किताबहरू घरमा ल्याएर स्वअध्ययन गर्ने बानी बसाउनमा समयमा नै जरुरी भएको छ । बजार उपलब्ध धेरै किताबहरू व्यक्तिगत हिसाबले किनेर अध्ययन गर्ने सामर्थ्य आर्थिक रूपमा सम्भव हुँदैन ।

अनिवार्य रूपमा क्याम्पसका किताबहरू किन्नुपर्ने थोरै मात्र किताब किन्न सकिन्छ । अंग्रेजी भाषाका किताबका अलावा नेपाली भाषा, हिन्दी भाषा लगायत अन्य किताबहरू पढेर ज्ञानको भण्डार क्षमता बढाउन जरुरी भएको छ । तिम्रा समकक्षी साथीहरूको आनीबानी जेजस्तो भए पनि ती साथीहरुको क्रियाकलाप र आनीवानीहरु कुलत र दुव्र्यसनमा लागेका छन् भने आफूमा अनुसरण गर्नु हुँदैन ।

सकभर ती दुव्र्यसनी साथीहरूलाई रोकथाम र नियन्त्रण गर्नमा प्रयास गर्नुपर्छ । छोराको साथीहरूसँग विचार र अन्तर्मन साथीहरूसँग मिल्छ भने आफूसँगै समय व्यवस्थापन र वार्तालाप गरेर पुस्तकालयमा नै लगी फुर्सदको समयमा किताब अध्ययन गरेर समय बिताउने योजनालाई सफल रूपमा कार्यान्वयन गरी व्यक्तित्व विकास गर्नमा कम्मर कसेर लाग्नुपर्छ ।


अहिलेको समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले विस्तृत रूपमा किताब अध्ययन गर्ने बानीको विकासमा ह्रास भएको भाष्य निर्माण गरिए पनि सफलतालाई चुम्न धेरैभन्दा धेरै किताबहरू अध्ययन गर्ने बानीलाई बढवा दिनुको विकल्प नै छैन ।
सिर्जनात्मक क्षमतालाई बढवा दिन र सोचाइमा निखरता ल्याउन किताबहरू पढ्नु नै एकमात्र विकल्प भएको जानकारी दिँदै आगामी दिन निरन्तर रूपमा थप पुस्तकहरू पढिरहनका लागि उत्प्रेरणा मिलोस् आशय व्यक्त गर्दै आगामी दिनमा थप विषयवस्तुलाई समेटी अर्को पत्र लेख्ने प्रयास गर्ने छु ।


पत्रमा भएका अस्पष्ट बुँदाहरु र शब्दहरुलाई मौखिक वार्तालाप वा गुगलको सहायता मार्फत थप शब्दार्थमार्फत स्पष्ट हुने प्रयास गरेको राम्रो मानिन्छ । पढ्ने र लेखनी यात्रामा सगँसँगै डायरी लेखन यात्रालाई निरन्तर रूपमा अभ्यासमा लागु गर्न अनुरोध गर्दै यो शृंखलाको पत्र अन्त गर्छु ।


उही बाबा
यामबहादुर थापा मगर
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे, धौलेचौर

तपाईको प्रतिक्रिया