सम्पादकीयः धुलाम्मे र अस्तव्यस्त पोखरा

समाधान संवाददाता २०८१ वैशाख ९ गते ११:५४

पोखराका सडकहरु हिजोआज निकै अस्तव्यस्त देखिन्छन् । त्यसको कारण भने खास नकारात्मक होइन । किनभने निर्माणकै लागि धेरैतिर अस्तव्यस्तता भइरहेको छ । पृथ्वीराजमार्ग होस् या यहाँका सडकहरु जताततै खाल्डाखुल्डीमात्रै छैनन्, कालोपत्रे नै भत्काइएको छ र सिधासिधा गाडी चल्न मुस्किल छ । यो क्रम कास्कीको प्रवेश बिन्दु कोत्रेदेखि बागलुङतिर जाने याम्दीसम्मै छ । र स्याङ्जातिर जाने बिरौटा र छोरोपाटनतिरसम्म नै छ । एक त अहिले पृथ्वीराजमार्गको स्तरोन्नतिको काम भइरहेको छ ।

पोखरा महानगरापालिकाले नै तालचोकदेखि बेगनासतालसम्मको सडक चौडासहित स्तरोन्नति गरिरहेको छ । पोखराका अरु चल्तीका चोक र बजारमा खानेपानीको लाइन विस्तारको काम भइरहेको छ । त्यसैले जहाँका सडक पनि खनिएकै छन् । भत्काइएकै छ । अनि अर्काे सँगसँगै बिजुलीको तार भूमिगतको काम पनि यही बेला भइरहेको छ । सडकहरु धुलाम्मे छन् ।


खासमा निर्माण व्यवस्थित गर्न सकिन्छ । तर नेपालको परिपाटी नै यस्तै खाले भएको छ, जसमा साँच्चीकै सुधार जरुरी छ । केही वर्षअघिमात्रै पोखरा महानगरपालिकाले अस्फाल्ट पिच गरेकै ठाउँमा खानेपानीले पानीको पाइप विस्तार गर्दा खनेर, भत्काएर चौपट पारेको छ । र पृथ्वीचोकमा हप्तौंसम्म यातायाता अप्ठेरो हुने गरी काम ग¥यो । सिर्जना चोकमा अझै काम सकेको छैन । खनेको खन्यैमात्रै देखिन्छ । रत्नचोकसम्म खनेको सडक राम्ररी पुरेको भेटिन्न । जिरोकिलोमिटरतिर जाँदा पनि उस्तै खाल्डा र भत्किएका सडकमात्रै भेटिन्छ ।

Advertisement


विकास गर्ने तर व्यवस्थित तरिकाले भन्ने सुद्धी नआएकै पनि अस्तव्यवस्तता जनताले बेहोर्नुपरेको हो । खानेपानीले एकपटक काम गरेको छ, बिजुलीले अर्काेपटक र अनि सडकले । खासमा सरकारी निकायले राम्ररी समन्वय गर्ने हो भने जनताले सास्ती बेहार्नुपर्नेमात्रै थिएन, राज्यको सम्पति नष्ट हुँदैनथ्यो । पिच गर्‍यो खर्च । भत्कायो खर्च र फेरि पिच गर्‍यो खर्चमात्रै भइरहेको छ ।

अस्तव्यस्तता अर्काे पाटो हुँदै भयो । राजमार्ग स्तरोन्नति गर्दा पनि पूरापूर एकैचोटि भत्काउने र बनाउने भन्दा एकातिर बनाउँदै जाने र अर्काेतिरबाट गाडी गुड्न मिल्ने सुविधा दिने काइदा गर्नु उत्तम हुन्थ्यो । तर त्यस्तो छैन । सोही कारण पोखरा सहरभित्रकै खण्डमा हिलो र धुलोको हैरानी सर्वसाधारणले खेप्नुपरेको छ । सम्बन्धित सरोकारवालाहरुले व्यवस्थितपनामा ध्यान पुर्‍याउन जरुरी छ ।

Advertisement

तपाईको प्रतिक्रिया