स्वर्ण महोत्सव मनाउँदै लान्द्रुकको हिमालय मावि

समाधान संवाददाता २०८१ वैशाख ९ गते १२:४१

कास्की ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ को उत्तरी भेगमा रहेको हिमालय माविले स्वर्ण महोत्सव मनाउने भएको छ । भिचुक, तोल्का र लान्द्रुक सेवा क्षेत्रभित्र प्राथमिक तह उत्तीर्ण विद्यार्थीहरुको अध्ययनको निम्ति स्थापित विद्यालयले वैशाख १०, ११ र १२ गते स्वर्ण महोत्सव मनाउन लागेको हो । यो विद्यालयको स्थापना २०३१ सालमा भएको थियो ।


स्थानीयको भेलाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज दुराको संयोजकत्वमा स्वर्ण जयन्ती महोत्सव आयोजक मुल समिति, वडा सदस्य गौप्रसाद गुरुङको संयोजकत्वमा आर्थिक संकलन उप–समिति, भगवान् पौडेलको संयोजकत्वमा प्रचार प्रसार उपसमिति र प्रेमबहादुर गुरुङको संयोजकत्वमा स्वर्ण जयन्ती स्मारिका प्रकासन उप समिति गठन गरी वैशाख १०, ११ र १२ गते त्रिदिवसीय स्वर्ण महोत्सव मनाउन लागेको हो ।


स्वर्ण महोत्सवको अवसरमा विद्यालय स्थापना गर्ने संस्थापकहरु, विद्यालय निर्माणका निम्ति जग्गा दान दिने जग्गादातालगायत १६ जना व्यक्तिहरुलाई मरणोपरांत सम्मान, भूतपूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, भूतपूर्व शिक्षक एवं प्रधानाध्यापक, अक्षयकोष दाता र स्वर्ण जयन्ती कोषमा चन्दा दिने चन्दा दाताहरुलाई सम्मान कार्यक्रम रहेको प्रचार प्रसार संयोजक भगवान पौडेल र सदस्य राजकुमार गुरुङले संयुक्त रुपमा जानकारी दिए ।

Advertisement


विद्यालयका प्रधानाध्यापक शरद सुवेदीका अनुसार स्वर्ण महोत्सवको अवसरमा विद्यालयले अन्नपूर्ण गाउँपालिका मावि स्तरीय छात्र भलिबल प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, वक्तित्वकला र हिसाब दौड लगायतका अतिरिक्त क्रियाकलाप र विविध सांस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गर्ने भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया