स्वर्णिम वाग्लेको संरक्षण सहकारी ठग्नेलाई छः भट्टराई

समाधान संवाददाता २०८१ वैशाख ९ गते १२:४३

दमौली ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले चुनाव हारे पनि आफूले चुनावमा बोलेका बाचा पूरा गर्ने अभियानमा आफू सक्रिय रहेको बताएका छन् । चुनाव जितेका व्यक्ति भने गाउँमा नभेटिएको उनले आरोप लगाए ।


तनहुँ १ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेप्रति लक्ष्य गर्दै उनले थपे, ‘उहाँलाई यहाँको विकासको चासो पनि छैन । उहाँहरुको चासो साना ठेलागाडा चलाउने, दूध बेचेर संकलन गरेको पैसा ६ सहकारीबाट ३ अर्ब हिनामिना गरेका ठग्ने मान्छेको संरक्षणमा छ ।’


देवघाट १ कोटामा सिर्जनशील युवा क्लबद्वारा आयोजित भलिबल प्रतियोगिताका विजेतालाई शनिबार पुरस्कार वितरण गर्दै भट्टराईले पानी ल्याइदिन्छु भनेको प्रतिबद्धता आफूले पूरा गरिरहेको सुनाए । ‘अहिलेको बजेटमा खानेपानीको योजनामा बृहत कोटा १८ लाख रुपैयाँ विनियोजन गराइदिएको छु । चाहिने अरु पैसा दिलाउने बाचा गर्न चाहन्छु,’ उनले भने ।

Advertisement


आफू हरेक दिदी बहिनीको भान्सामा पानी पुग्नुपर्छ भनेर लागेको भन्दै उनले आफ्नो सक्रियतामा तनहुँका ५९ खानेपानी योजना बनेको उल्लेख गरे । ‘चुनाव हारे पनि तनहुँमा २० वटा खानेपानीका नयाँ योजना पार्न पहल गरेको छु,’ देवघाटमासमेत त्यस्ता योजनाहरु परेको उल्लेख गर्दै उनले थपे, ‘५८ करोडको शालिग्राम करिडोरको ठेक्का पनि हाम्रै पहलमा लागेको छ ।’


देवघाटमा अरु विकासका योजना ल्याउनसमेत प्रयास गरिरहेको भट्टराईले बताए । ‘म यस ठाउँलाई दक्षिण भेगको विकासको केन्द्र बनाउन चाहन्छु,’ उनले भने । आफूलाई काम गर्न पद र सरकार नचाहिने तर्क गर्दै उनले भने,‘म यही ठाउँको हो । मलाई काम गर्न हाम्रो सरकार पनि चाहिन्न । तर, गोरु बेचेकै साइनो छैन भन्ने जितेका व्यक्ति कता हिँड्नुभएको छ ?’

Advertisement


कार्यक्रममा भट्टराईले खेलका लागि ३२ हजार तथा कांग्रेस महासमिति सदस्य पुरुषोत्तम खनालले ५० हजार रुपैयाँ व्यक्तिगत सहयोगसमेत गरेका थिए ।

तपाईको प्रतिक्रिया