२१ हजार गाडीबाट पौने २ करोड जरिवाना

समाधान संवाददाता २०८१ वैशाख १० गते १०:०९

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पछिल्ला दिनमा स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई कारवाही गरिरहेको छ । केही हप्ताअघि प्रहरीले स्वरुप परिवर्तन गराउने वर्कसप र मोटरसाइकल किनबेच गर्ने सोरुमै पुगेर कारबाही गरेको थियो ।


त्यसमा पोखरा नयाँबजारमा रहेका केही सोरुम सञ्चालक र वर्कसप सञ्चालक पक्राउ परे । उनीहरु पक्राउमात्र परेनन्, ट्राफिक नियम उल्लंघन गरेवापत जरिवाना नै तिरे । जिल्ला प्रहरी कार्यालय कास्कीले पछिल्ला तीन महिना माघ, फागुन र चैतको प्रगति आइतबार सार्वजनिक गरेको छ ।


कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले ३ महिनामा २१ हजार १ सय ९२ सवारी कारबाहीमा परेको जानकारी दिए । ती सवारीलाई कारबाही गर्दा १ करोड ७७ लाख ९२ हजार राजस्व संकलन भएको छ । माघ महिनामा ट्राफिक कारवाहीबाट ५८ लाख ७६ हजार रुपैयाँ जरिवाना असुल भएको छ । फागुनमा ६९ लाख ७१ हजार ५ सय रुपैयाँ र चैतमा ५९ लाख ४४ हजार ५ सय राजस्व उठेको हछ ।

Advertisement


यो अवधिमा १७ वटा सवारी दुर्घटनामा१३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएको शर्माले जानकारी दिए । यति ठूलो मात्रमा राजस्व संकलन हुनुमा प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन्सम्बन्धी कारबाही पनि हो । नदीजन्य अवैध उत्खनन गर्नेहरुबाट माघमा २ लाख ८२ हजार, फागुनमा ४२ हजार, चैतमा १ लाख गरी कुल ४ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।


साढे २ करोड अनलाइन ठगी

Advertisement


प्रहरीको विवरणमा तीन महिनामा १ सय ८८ वटा अनलाइन ठगीका उजुरी परेका छन् । सामाजिक सञ्चालको दुरुपयोग भएका २ सय २० वटा उजुरी दर्ता भएका छन् । उजुरीमा उल्लिखित रकम हेर्दा २ करोड ५३ लाख २१ हजार रुपैयाँ ठगी भएको देखिएको डिएसपी शर्माले जानकारी दिए ।


अनलाइन ठगीका उजुरीमध्ये १५ वटा फछर्यौट भएका छन् । १ सय ९९ वटा तालुक कार्यालयमा पठाएको प्रहरीले जनाएको छ । डिएसपी शर्माका अनुसार कास्कीमा तीन महिनामा ४ सय ८१ वटा मुद्दा दर्ता भएका छन् । माघमा १ सय ८३, फागुनमा १ सय ६० र चैतमा १ सय ३८ वटा मुद्दा दर्ता भएका हुन् ।

तपाईको प्रतिक्रिया