सम्पादकीय: हिम चितुवा संरक्षणको चुनौती

समाधान संवाददाता २०८१ वैशाख १० गते १२:०३

संसारमा हिमाली क्षेत्र नै कम छ । अफगानिस्तानदेखि पाकिस्तान, भारत, नेपाल, हुँदैन म्यान्मारसम्मको हिमाली पर्वतमाला नै हिमालय क्षेत्र हो । यही क्षेत्रमा दुर्लभ वन्यजन्तु पाइन्छ हिम चितुवा । यो पनि बाघ प्रजातिकै वन्यजन्तु हो, तर हिमाली क्षेत्रमा मात्रै पाइन्छ । हिमाली क्षेत्र नै कम भएको हुँदा यसको संख्या पनि कम हुनु स्वाभाविक हो । यसै पनि हिमाल नै जोखिममा छ, त्यसमाथि यो दुर्लभ वन्यजन्तु झन् जोखिममा हुनु स्वाभाविक हो । पारिस्थितिकीय प्रणालीको सन्तुलनका लागि यस्ता वन्यजन्तु अपरिहार्य छन् । तर तिनको संख्या लोप हुनु खतराजनक कुरा हो । मुस्ताङमा एकदुई वर्षअघिको अध्ययनले जम्मा १७ वटा हिम चितुवा रहेको देखाएको थियो । डोल्पामा भने यसको संख्या १२० छ । विश्वभरचाहिँ ७ हजारको संख्यामा हिम चितुवा रहेको अनुमान छ ।


डोल्पामा भन्दा मुस्ताङमा मानवीय गतिविधि अत्यधिक छ । सोही कारण हुनुपर्छ हिम चितुवाको संख्या कम छ । तिनै कम चितुवा पनि हिमाली क्षेत्र छाडेर मानव वस्तीतिर बेलाबेला देखा पर्छन् । यो साता त सडकतिर पनि देखिए । आहाराको खोजीमा वन्यजन्तु मानव बस्ती पस्ने हुन् । हिमाली क्षेत्रमै नाउर, झारल लगायत जनावारको सिकार गर्न पाए हिम चितुवा मानव वस्ती पसेर च्यांग्रा र भेडा मार्दैन । तर मुस्ताङमा बेलाबेला च्यांग्रा र भेडा मारिन्छन् हिम चितुवाबाट । स्वयं हिम चितुवा पनि चोरी सिकारी हुने गरेको छ । यो दुर्लभ प्राणी हुँदै जानुको कारण त्यो पनि हो । चोरी सिकारी नरोक्ने र यसको बासस्थानमा आहाराको व्यवस्था नहुने हो भने लोप हुन बेर लाग्दैन हिम चितुवा ।


पृथ्वी मानिसमात्रैको बासस्थान होइन । सबै प्राणीको साझा घर हो । यहाँ सबैको उत्तिकै अधिकार छ । मानिसले नै अरु प्राणीको रक्षाको जिम्मेवारी लिनुपर्छ । यो विवेकशील प्राणी हुनुको नाताले उसैको कर्तव्य हो । र मानिसको जीवनको अस्तित्व रक्षाकै लागि पृथ्वीमा अरु जीवजन्तु र वनस्पतिहरु हुन आवश्यक छ । पृथ्वीलाई प्राणीका लागि बस्न योग्य बनाएको यहाँको पारिस्थितिकीय प्रणालीले हो ।

Advertisement

त्यो प्रणाली भत्कन नदिन र खाद्यचक्र टुक्रिन नदिन सबै प्राणीको अस्तित्व रक्षा हुनुपर्छ । हिम चितुवाको पनि त्यसै कारण संरक्षण जरुरी छ । पछिल्लो समय देखा परेको यो प्राणीको संरक्षणको चुनौती राज्यस्तरबाट मात्रै होइन जनस्तरबाट पनि सामना गर्नुपर्छ । वनलाई वन र रहन दिनुपर्छ । हिमाललाई हिमालै रहन दिनुपर्छ । हिमाल नरहे, वनजंगल र वन्यजन्तु लगायत अरु प्राणी नरहे सहअस्तित्वको सन्तुलन बिग्रन्छ र अन्ततः मानव सभ्यता र जीवन पनि धरापमा पर्छ । खतरामा पर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया