‘ट्याक्सीले ठग्न खोजे १०३ मा कल गर्नू’

समाधान संवाददाता २०८१ वैशाख ११ गते १०:२८

पोखरा ।
पोखराका ट्याक्सीहरु हम्मेसि मिटरमा चल्न मान्दैनन् । त्यही कारणले बेला बेलामा यात्रुले ठगिएको गुनासो गरिरहन्छन् । यस्तै गुनासा बढेपछि आइतबार जिल्ला ट्राफिक कार्यालय कास्कीले एकै दिन १३ ट्याक्सीलाई नियन्त्रणमा लिएको छ ।


छड्के अनुगमन र सेवाग्राहीको गुनासोका आधारमा ती ट्याक्सीलाई नियन्त्रणमा लिइएको हो । ट्राफिक कार्यालय कास्कीले पोखरा महानगरभित्र मिटरमा नचल्ने ट्याक्सीलाई कारवाही गरिरहेको छ । यो आर्थिक वर्ष सुरु भएपछि ५ सय ४ ट्याक्सीलाई कारवाही गर्दा १४ लाख २८ हजार दुई सय राजस्व संकलन भएको छ । मिटरमा चलाउन इन्कार गर्ने ट्याक्सी चालकलाई २ हजार ५ सयदेखि ५ हजारसम्म जरिवाना गर्ने गरिएको छ ।


ट्राफि कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले गएको भदौ अन्तिम साता असोज १ गतेबाट ट्याक्सी व्यवसायी र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबिच मिटरमा ट्याक्सी चलाउने सहमति भएको उल्लेख गरे । सहमतिपछि त्यसलाई कार्यान्वयन गर्न बेला बेलामा अनुगमन गरिरहेको कार्यालय प्रमुख शर्माको भनाइ छ । ‘कुनै ट्याक्सी मिटरमा चल्न नमाने, ठगेको महसुस भए १०३ मा फोन गर्नुस्, हामी तत्कालै कारवाही गर्छाैँ,’ निरीक्षक शर्मा भन्छन् ।

Advertisement


सेवाग्राहीको गुनासो धेरै आएपछि सिभिल पोशाकमा प्रहरीलाई नै खटाएर ट्याक्सीले मिटर चलाएको/नचलाएको कार्यालयले अनुगमन गर्ने गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले यही भदौ १ गतेदखि पोखरा उपत्यकामा अनिवार्य मिटर प्रणाली लागू गरेको थियो । ट्याक्सीले मनपरी भाडा लिएर यात्रु ठग्ने गरेको जनगुनासो बढेपछि मन्त्रालयले मिटर प्रणाली लागू गर्न पहल लिएको थियो ।


विसं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरेको थियो । २ वर्षअघि समायोजन गरेको भाडादर अनुसार १५ किमीको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) ८० रुपैयाँ र त्यसपछि प्रतिदुई सय मिटरको १० रुपैयाँ भाडा तोकिएको छ । १५ किमीभन्दा टाढाको दूरीमा प्रतिकिमी ३७ रूपैयाँ ५० पैसा भाडा कायम गरिएको छ ।

Advertisement


कास्कीमा पछिल्लो तीन महिनामा १७ दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । सो अवधिमा २१ हजार एक सय ९२ वटा ट्राफिक कारवाहीबाट एक करोड ७७ लाख ९२ हजार राजस्व संकलन गरेको छ ।


कास्की प्रहरील्े स्वरुप परिवर्तन गरिएका मोटरसाइकलमाथि पनि कारवाही अभियान चलाएको छ । पछिल्लो ३ महिनामा १ हजार १ सय ५८ त्यस्ता मोटरसाइकललाई कारवाही गरी प्रहरीले १६ लाख ७७ हजार ३ सय राजस्व संकलन गरेको छ ।

मोटरसाइकल मोडिफाइड गर्ने क्रम नघटेपछि प्रहरीले त्यसमा संलग्न वर्कसपका सञ्चालकलाई समेत पक्राउ गरी कारवाही गर्न थालेको छ । प्रहरीले पार्किङमा राखिएका स्वरुप परिवर्तन गरेका मोटरसाइकललाई समेत नियन्त्रण लिई कारवाही गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया