७२ हजार पशुलाई खोप लगाइँदै

सुन्दरकुमार थकाली २०८१ वैशाख ११ गते ११:०१

जोमसोम ।
हिमाली जिल्ला मुस्ताङका ५ वटै स्थानीय तहलाई लक्षित गरी पशुमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जिल्लाका ७२ हजार ७० पशुचौपायालाई पूर्ण खोप सुनिश्चितता गर्न अभियान चलाएको हो ।


पशुपालन व्यवसायको मुस्ताङ सम्भावना छ । यहाँ मुख्य गरी भेडा, च्यांग्रा र याकचौरी व्यावसायिक रुपमा पालन गरिएको छ । पछिल्लो समय मुस्ताङमा व्यावसायिक रुपमा उन्नत गाईपालनसमेत निकै फस्टाउँदै गएको छ । पशुपालन व्यवसायको चुनौतीको रुपमा रहेका प्रमुख रोग नियन्त्रण गर्दै पशु स्वास्थ्यको ग्यारेन्टी गर्न पूर्ण खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका पशु चिकित्सक डा. लालमणि अर्यालले बताए ।


पशुमा लाग्ने जुनेटिक रोगहरुको निदान गर्न अभियानले महत्वपूर्ण योगदान गर्ने पशु चिकित्सक डा. अर्यालले बताए । ‘पशुमा नियमित खोप लगाऔं, रोगको रोगथामसँगै उत्पादन बढाऔं’ भन्ने नारासहित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले मुस्ताङमा पशुमा पूर्ण खोप अभियान सञ्चालन गरेको हो ।

Advertisement


पशुमा पूर्ण खोप अभियान अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिकामा ६ हजार १ सय २६, घरपझोङ गाउँपालिकामा ५ हजार ६ सय ४५, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा २० हजार २ सय ९३, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १६ हजार ९ सय ४९ र लोमान्थाङ गाउँपालिकमा १३ हजार ५७ पशुचौपायामा पूर्ण खोप लगाउने गरी तथ्यांक संकलन गरिएको छ ।

मुस्ताङका ५ वटै पालिकाका चौपायालाई पूर्ण खोप लगाएपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी

Advertisement


पशुमा पूर्ण खोप अभियान कार्यक्रममा गाई ५ हजार ७७, भैसी १ सय ८८, बाख्रा १ हजार ९०, बंगुर १ सय ९०, कुकुर ५ सय १०, याकचौरी ४ हजार १ सय ५७ , भेडा ४ हजार ७ सय ९९ र च्यांग्रा ४५ हजार २ सय ९२ वटामा खोप लगाईने पशु चिकित्सक अर्यालले उल्लेख गरे । पशु तथ्यांकमा सबैभन्दा बेसी उपल्लो मुस्ताङको छ ।


उपल्लो मुस्ताङका २ पालिकामा झन्डै ४० हजार पशुलाई पूर्ण खोप सुनिश्चितता गर्न लागिएको हो । पालिका स्तरीय संख्यामा वारागुङ मुक्तिक्षेत्रमा सबैभन्दा धेरै पशुचौपाया रहेको तथ्यांक छ । सबै भन्दा कम संख्यामा घरपझोङमा पशुचौपाया रहेको पाइएको छ ।


दसैं, तिहार जस्ता महत्वपूर्ण चाडपर्वमा जिल्ला बाहिरका व्यापारी मुस्ताङ आएर भेडाच्यांग्रा खरिद गर्ने भएकाले पशु रोग रोकथाम गर्न पूर्ण खोप अभियान प्रभावकारी हुने विश्वास गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले पशुमा पूर्ण खोप लगाउन गाईभैसी तथा बंगुरका लागि सम्बन्धित पशुपालक फार्ममा खोप स्थान तोकिएको छ । भेडाबाख्रा तथा कुकुरको कुनै स्थान तोकी खोप कार्यक्रम सञ्चालन गर्ने कार्यालयले बताएको छ ।


मुस्ताङमा पशुमा पूर्ण खोप अभियान सञ्चालन गर्न स्थानीय तह छनौट, पशु तथ्यांक संकलन र अभिमुखीकरण लगायतका कार्यक्रम भइसकेका छन् । यसका साथसाथै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जिल्लाका ५ वटै स्थानीय तहका पशु शाखा कार्यालयसँग समन्वय र सहकार्य गरी पशुमा पूर्ण खोप लगाउने कार्यसमेत सञ्चालन गरिरहेको छ ।


अभियान अन्तर्गत वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पशुमा पूर्ण खोप लगाउने कार्यक्रम भइरहेको पशुचिकित्सक अर्यालले जानकारी दिए । कार्यालयको मापदण्ड अनुसार जिल्लाका ७२ हजार पशु चौपायामध्ये ८० प्रतिशतभन्दा बढी पशुलाई पूर्ण खोप लगाइसकेपछि मुस्ताङलाई पशुमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सकिनेछ ।


मुस्ताङमा पशुमा पूर्ण खोप अभियान सुरु भइसकेको र यसका लागि बजेट तर्जुमा भई खोपका पर्याप्त मौज्दात रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । मुस्ताङमा विभिन्न प्रजातिका पशुचौपायालाई ५ प्रकारका खोप लगाइँदै छ । पशु खोप अभियानका लागि कार्यालयले भोलियन्टरका रुपमा सम्बन्धित पशु प्राविधिकलाई स्थानीय स्तरमा परिचालन गरिएको छ ।


खटाइएका प्राविधिकहरु पशुधनीका गोठ, फार्म, तोकिएको स्थान र उच्च लेकका गोठमा पुगेर पशुपालकलाई सेवा दिन थालिएको छ । पशुमा पूर्ण खोप लगायतका पशुधनीलाई पशु निरोगिताका साथै पूर्ण खोप प्रमाणपत्र वितरण गरिनेछ । पशु चिकित्सक अर्यालले पूर्ण खोप लगाएका पशुपालकलाई सरकारी अनुदान सहुलियत दिने मापदण्ड तोकिएमा खोप कार्यक्रम फलदायी हुने बताए ।


उनले मुस्ताङका कतिपय पशुधनीले खोप लगाउदा साइड ईफेक्ट पर्ने भन्दै ईन्कार गरेकाले उनीहरुमा सचेतना अभिवृद्धि गर्ने खोपका माध्यमबाट अनुदानमा जाडिनुपर्ने स्थानीय तहलाई सुझाएका छन् । उनले उत्तरी कोरला नाकाबाट मुस्ताङ भित्रिन सक्ने भेडा/च्यांग्रालाई पनि खोपको वैकल्पिक व्यवस्था गरिएको उनले बताए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया