खेलकुद महोत्सव २२ गतेबाट

समाधान संवाददाता २०८१ वैशाख ११ गते ११:३२

पोखरा ।
पोखरा महानगर खेलकुद विकास समितिले विविध खेलकुद सहितको मार्सल आर्ट महोत्सव २०८१ गर्न लागेको छ । आर्थिक वर्ष २०८०/०८१का बाँकी कार्यक्रम अन्तर्गत वैशाख २२ गतेदेखि महोत्सव गर्न लागेको खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदारले जानकारी दिए ।


‘स्वास्थ्यक लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, समुन्नत पर्यटकीय पोखराको लागि खेलकुद’ भन्ने नाराका साथ महोत्सव गर्न लागेको हो । महोत्सवमा मार्सल आर्ट विभिन्न ८ खेल समावेश गरिएको छ । महोत्सवमा कराँते, तेक्वान्दो, उसु, फुल कन्ट्याक्ट कराँते, आइटिएफ तेक्वान्दो, जुडो, हाप्किडो फेन्सिङ लगायतका खेलमा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।


महोत्सवमा हरेक खेलका २ इभेन्ट र ४ वटा तौल समूहमा प्रतिस्पर्धा गराउन लागिएको छ । फेन्सिङ राष्ट्रिय स्तरको हुनेछ । अरु सबै महानगर स्तरको गरिने अध्यक्ष गोदारले बताए । फेल कराँते भण्डारीढिक खेल मैदानमा सञ्चालन गर्ने तयारी गरिएको छ । अरु सबै खेल पोखरा रंगशालामा हुने छन् ।

Advertisement


खेलकुद विकास समितिले कास्की जिल्ला बक्सिङ संघको समन्वयमा राष्ट्रिय बक्सिङ प्रतियोगिता गर्न लागेको छ । समितिले तेस्रो मेयर कप राष्ट्रिय साइक्लिङ प्रतियोगिता, राष्ट्रिय मुआथाई प्रतियोगिता, पोखरा राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता, पोखरा महानगर विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता, १० किमी पुरुष तथा महिला सडक दौड प्रतियोगिता र विद्यालयस्तरीय हक्की प्रतियोगिता गर्न लागेको छ । समितिले जेठ महिनामा विद्यालय खेलकुद शिक्षक तालिम सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।


कार्यक्रम अन्तर्गत १० किमी पुरुष तथा महिला सडक दौड प्रतियोगिता वैशाख १९ गते सञ्चालन गर्ने तय गरिएको छ । महोत्सवका कार्यक्रम वैशाख देखि जेठको दोस्रो सातासम्म सम्पन्न गर्ने योजना समितिले बनाएको छ ।

Advertisement


खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जेठ महिनामा महोत्सवको समीक्षा र खेलकुद दर्पण प्रकाशन गर्ने योजना सुनाए । पोखरा महानगरका मेयर घनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेको परिप्रेक्ष्यमा खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताए । उनले ३९ वर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता भएको उल्लेख गरे ।


‘गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै विजेता पोखरा महानगरका २ सय ६३ जना खेलाडी तथा प्रशिक्षकलाई महानगरले नगदसहित सम्मान गरिसकेको छ,’ उनले भने, ‘अब दशौं राष्ट्रिय प्रतियोगिताका खेललाई लक्षित गरी विद्यालय स्तरीय खेलकुदका गतिविधि गर्नुपर्छ ।’

उनले विद्यालय र वडा स्तरीय टिमलाई सहभागी गराएर महोत्सवलाई व्यवस्थित गर्ने जानकारी दिए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको गौरव बढाउने खेलकुद प्रतियोगितालाई निरन्तर सहयोग गर्ने बताए । उनले खेलकुद क्षेत्रमा करिब ३ करोड बजेट विनियोजन गरेको छ ।


चालु आर्थिक वर्षमा खेलकुद विकास समितिले लेखनाथ हाफ म्याराथनसहित ८ विभिन्न प्रतियोगिता गरिसकेको छ ।

तपाईको प्रतिक्रिया