सम्पादकीयः हिमचितुवा बढ्दा हर्ष

समाधान संवाददाता २०८१ वैशाख ११ गते ११:५५

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को ‘रातो सूची’मा रहेको हिमचितुवा अचेल मुस्ताङमा सजिलै देखिन थालेको छ । हिमाली जिल्ला डोल्पामा मात्र यसको संख्या १ सय २० पुगेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र र डिभिजन वन कार्यालयको क्षेत्रमा हिमचितुवाको संख्या उल्लेख्य बढेको पाइएको हो । निकुञ्जको संरक्षण क्षेत्रबाहिर वन क्षेत्रमा पहिलोपटक अत्याधुनिक प्रविधि क्यामेरा ‘ट्याप’ विधिबाट हिउँ चितुवाको गणना गरिएको थियो ।

उच्च हिमाली भेगमा पाइने हिमचितुवाको अवस्था हिमाली क्षेत्रको जनजीवनकै सूचक हो । वन्यजन्तु चोरी, शिकारी, बासस्थानको अभाव तथा जलवायु परिवर्तनका कारण हिमचितुवाको संख्या घट्दै गएको थियो । नेपालमा हिमचितुवाको संख्या ३ सयदेखि ५ सय हाराहारी भएको अनुमान छ । यो संख्या भारत, चीन तथा मंगोलिया पछिको चौथो ठूलो हो । हिमचितुवाको संख्या बढ्नु सन्तोषको विषय हो । तर डोल्पामा हिमचितुवाको संख्या बढ्नु र मुस्ताङका सडकतिर पनि देखिनुलाई मात्र उपलब्धि मानिहाल्ने अवस्था छैन ।


बढ्दो मानव बस्तीका कारण प्राकृतिक स्रोतसाधनमाथिको दोहनले हिमचितुवाको बासस्थान जोखिममा पर्न थालेको छ । चोरी–शिकारी र जलवायु परिवर्तनले पनि हिमचितुवालाई चुनौती दिइरहेका छन् । हिमचितुवाको आहार कम हुँदा पनि समस्या सिर्जना हुने गरेको छ । चितुवाले खर्कमा लगेका याक, चौरी, भेडा, च्यांग्रा खाइदिने गरेको छ भने कतै कतै त खोरसम्मै आइपुग्ने गरेको छ । यसले हिमचितुवा पाइने क्षेत्रमा पशुपालन गर्न चुनौती थपेको छ ।

Advertisement

विश्वमा वर्षेनि साढे ४ भन्दा बढी हिमचितुवाको चोरी, शिकारी हुने गरेको बताइन्छ । पछिल्लो समय दुर्लभ हिमचितुवा मुस्ताङका सडकमा पनि देखिन थालेका छन् । हिमाली क्षेत्रको उच्च लेकमा बस्ने हिमचितुवाको मुख्य आहार नाउर हो । नाउर पानी खान तल झर्ने र चरन क्षेत्रको खोजी गर्दै बस्ती नजिक झर्ने भएकाले हिमचितुवा नाउरलाई पछ्याउँदै सडक र बस्ती नजिक आउन थालेको अनुमान गरिन्छ । हिमचितुवाले वन्यजन्तु आहार नपाउँदा कृषकले पालेका पशुमाथि आक्रमण गर्ने गरेको छ ।


पछिल्लो समय अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत जोमसोमदेखि माथिल्लो क्षेत्रमा हिमचितुवा र मानवबीच द्वन्द्व बढेको छ । बर्सेनि हिमचितुवाको आक्रमणले उपल्लो भेगमा स्थानीयका सयौं भेडाच्यांग्रा, घोडा खच्चड, याकचौरी मर्ने गरेका छन् । समुद्री सतहको ३ हजार ५ सय मिटरदेखि ५ हजार ५ सय मिटरसम्म हिमचितुवाको बासस्थान हुन्छ । विश्वमै दुर्लभ वन्यजन्तु हिमचितुवा एसियाका १२ वटा राष्ट्रमा मात्र पाइने बताइन्छ ।

Advertisement

त्यसमा पनि नेपालमै सबैभन्दा धेरै डोल्पामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पाइने संरक्षणकर्मी बताउँछन् । पर्यपर्यटन र हिमाली क्षेत्रको पर्यटनमार्फत् समृद्धि खोजिरहेको नेपालका लागि हिमचितुवाको संरक्षण निकै महत्वपूर्ण काम हो । हिमाली क्षेत्रको जलवायुको अवस्था, हिमचितुवा लगायतको अवस्था र चाल्नुपर्ने कदमबारे वैज्ञानिक अध्ययन गरी थप कदम चाल्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया