हनुमान जयन्ती

हनुमानलाई होच्याउने किन ?

रवीन्द्र माकाजु २०८१ वैशाख ११ गते १२:०३

आज हनुमान जयन्ती । हिन्दू समाजले हनुमान जयन्तीलाई पनि भव्यतापूर्वक मनाउन थालेको छ । पवनपुत्र हनुमान यस धर्तीमा जन्मेको या अवतरण भएको चैत्रशुक्ल पूर्णिमाको पावन दिनलाई हनुमान जयन्ती भन्ने गरिन्छ । वास्तवमा महावली हनुमानको जन्म भगवान श्रीरामको सेवा हेतुले त्रेतायुगमा भएको हो भन्ने मान्यता भएता पनि अष्टचिरञ्जिवी भएको नाताले उनी हर युग र समयमा विद्यमान छन् भनेर मान्यता राख्नेहरू बाक्लै छन् । जे होस् पवनपुत्र हनुमानको महिमा युगयुग रहिरहनेमा कसैको पनि दुई मत हुन सक्दैन । शास्त्रीय मान्यता अनुसार हनुमानका पिता सुमेरु राज्यका राजा केशरी थिए भने माता अन्जनी । हनुमानलाई भगवान शिवको अंश अथवा एघारौं रुद्रावतार पनि भन्ने गरिन्छ ।


महावली हनुमानको जीवन कहानी या चरित्र सधैँ मानव समाजका लागि उपयोगी र सहयोगी, पे्ररणादायी छ । हुन त अहिले हनुमानलाई हेला गर्ने उपेक्षा गर्ने पनि गरिन्छ । असली स्वामीभक्तलाई हनुमान भनेर हेप्ने गरिन्छ । मालिकको पूजा गर्ने ईश्वरको बन्दना गर्ने हुँदा असली सेवक र भक्तका रूपमा परिचित हनुमानको पूजा, अर्चना गर्दा खिल्ली उडाउनेहरू छन् समाजमा । वस्तुत हनुमान एक निष्ठा हो, समर्पण हो । आज हनुमानहरुको उचित मूल्यांकन र कदर नभएकै कारण समाज दिनानुदिन कमजोर बन्दै गएको हो । हनुमान भनेर होच्याउने हुँदा समाजमा हनुमानहरु दिनहुँ घट्दै गइरहेका छन् । वास्तवमा यो अत्यन्तै चिन्ताको विषय हो ।


महावली हनुमानले भगवान रामलाई जुन गुन लगाए के त्यसको बदलामा हनुमानले केही लिए ? उनको निस्वार्थ सेवा के आजको समाजका लागि गहकिलो शिक्षा होइन र ?

Advertisement

महावली हनुमानले भगवान रामलाई जुन गुन लगाए के त्यसको बदलामा हनुमानले केही लिए ? उनको निस्वार्थ सेवा के आजको समाजका लागि गहकिलो शिक्षा होइन र ?


हनुमानको जन्म कथा र बाल्यकाल

Advertisement


महावली हनुमानले बाल्यकालमा भर्खरै उदाइरहेका सूर्यलाई खाने रोटी भन्ठानेर आकाशमा गई निलिदिए । यो घटना चानचुने थिएन । प्रकृतिको नियमविरुद्ध थियो । यो खबर थाहा पाउनासाथ ईन्द्रदेव रिसाएर हनुमानलाई बज्र प्रहार गरी मूच्र्छित पार्दै धर्तीमा पछारिदिए । यो खबर तत्कालै वायुदेवले थाहा पाएर समस्त प्राणी जगतलाई वायु दिन छाडेर त्राहीमाम, त्राहीमाम पारे ।

यो घटनाले देवताहरु चिन्तित देवताहरू तत्कालै वायुदेवकहाँ आई बिन्ती गरे । देवताहरुले भने– ईन्द्रले यो कार्य अन्जानमा गरेका हुन् उनलाई माफी दिनुस् । हामी जसरी भएपनि हनुमानलाई नवजीवन दिन्छौं, यत्तिमात्र होइन हामी आआफ्नो तर्फबाट हनुमानलाई शक्ति र वरदान पनि दिन्छौं । तपाईंले अविलम्ब प्राणशक्ति रोक्ने कार्य नगरिदिनुस् ।


देवताहरुको यो प्रार्थना सुनेर वायुदेव खुसी भई तत्कालै आफ्नो कार्य आरम्भ गरे । अनि देवताहरुले पालैपालो हनुमानलाई वरदान दिए । भगवान शिवले हनुमानको शरीरलाई कुनै शस्त्रअस्त्रले नछुने वरदान दिए भने धर्मराजले हनुमान मृत्युको शिकार हुन नपर्ने वरदान । ब्रह्माजीले आफ्नो ईच्छा अनुरूप जस्तो सुकै रूप धारणा गर्न सक्ने शक्ति हनुमानलाई दिए भने भगवान सूर्यले आफू समानको तेजशक्ति प्रदान गरे । महावली हनुमान अदम्य साहस, बल, पराक्रम, ज्ञान, सेवा, श्रद्धाका प्रतीक हुन् ।

उनको असली पूजा भनेको उनले धारणा गरेको गुणको अनुशरण हो । मान्छेले यस तर्फ ध्यान दिन्नन् । वस्तुत अर्काे महत्वपूर्ण पक्ष के हो भने उनी “वायुतत्व” थिए । वायुशक्तिका कारण उनले अरू कसैले गर्न नसकेका महान कार्य गरे । हरेक मानवका जीवनमा वायुतत्व विद्यमान हुन्छ । वायुबिना मान्छे केही क्षण पनि बाँच्न सक्दैन । यो प्राणतत्वलाई वायुतत्वलाई मान्छेले कहिले पनि अवमूल्यन गर्ने कार्य गर्नु हुँदैन ।

तसर्थ वातावरण अशुद्ध बनाउने कार्य कसैले गर्नुहुँदैन । वातावरण सधैं हरियाली र शान्त हुनुपर्छ । भगवान रामलाई संकट पर्दा उनले सात समुन्द्र सहजै नाघे । रावणले रामलक्ष्मणलाई नागपासमा बाँधेर राख्दा बैकुण्ठलोकबाट गरुडलाई ल्याएर नागपासबाट रामलक्ष्मणलाई मुक्त पार्न सहयोग गरे । सञ्जिवनी बुटीको खोजीमा पहाडै बोकेर ल्याए । यसरी भगवान श्रीरामलाई गुण लगाए । वास्तवमा उनले आफू बाँदर भैकन पनि समस्त मानव जातिलाई कहिल्यै बिर्सन नमिल्ने गुण लगाए । ऋणी तुल्याए ।


आज मान्छेले मान्छेलाई गुण लगाउन बिर्सेको छ । मान्छेले आफूलाई शक्तिशाली, उपयोगी बनाउनु भन्दा पनि निजी स्वार्थमा रमाइरहेको बेला महावली हनुमानको गुणलाई, निस्वार्थ सेवाभावलाई समाजमा पस्कन सक्यौं भने अरू हनुमानहरु समाजमा जन्मने थिए होला जस्तो मलाई लाग्छ । किनकी अहिले समाजलाई हनुमानहरुको झनै खाँचो छ ।

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया