पाेखरामा फुटबल रेफ्रीलाई तालिम

राष्ट्रिय समाचार समिति (रासस) २०८१ वैशाख ११ गते १२:३५

कास्की ।
राष्ट्रिय स्तरका दक्ष फुटबल रेफ्री उत्पादनको लक्ष्यसहित पोखरामा आइतबारदेखि ‘फुटबल रेफ्री प्रशिक्षण’ सुरु भएको छ । गण्डकी प्रदेश फुटबल संघले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सँगको सहकार्यमा सो प्रशिक्षण आयोजना गरेको हो ।


‘क्याटोगरी–४’ अन्तर्गतको फुटबल रेफ्री प्रशिक्षण हो । प्रशिक्षण यही वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ । सो तहको प्रशिक्षणमा आधारभूत तहको फुटबल रेफ्री प्रशिक्षण दिइनेछ । प्रशिक्षणमा २ महिला र ३४ पुरुष गरी ३६ जनाको सहभागिता छ । सहभागीलाई सिनियर फुटबल रेफ्री श्रीराम राजशिखाकर, शैलेस जोशी, सचिन अमात्य लगायतले प्रशिक्षण दिने गण्डकी प्रदेश फुटबल सङ्घका महासचिव विनोद गुरुङले जानकारी दिए ।


फुटबलसम्बन्धी आधारभूत सीप र प्रविधिको विकास तथा रेफ्रीहरूलाई व्यावहारिक र सैद्धान्तिक ज्ञानका साथै खेल मैदानभित्र र बाहिर कसरी प्रस्तुत हुने भन्ने बारेमा तालिम प्रदान गरिने आयोजकले जनाएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आफ्नो क्षमतालाई खेल मैदानमा प्रस्तुत गरी फुटबल खेल विकासमा लागि अघि बढ्न सहभागीलाई गरे ।

Advertisement


उनले भने, ‘रेफ्री हुन सजिलो विषय होइन । रेफ्रीमा फिजिकल्ली फिट, निर्णय क्षमतामा उत्कृष्टता र अध्ययन आवश्यक छ । राज्यले समय समयमा लिने नीति र निर्देशनको पालना गर्दै खेलकुद क्षेत्रलाई अझै विशिष्टकरण गर्ने जिम्मेवारी बहन गर्न सक्नुपर्छ ।’


एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले फुटबल विकासका लागि रेफ्रीहरूको उत्पादन आवश्यक रहेको बताए । सोही अनुरुप देशका सातवटै प्रदेशमा यस प्रकारको ‘फुटबल रेफ्री कोर्स’ कार्यक्रमअघि सारिएको उनले बताए । गण्डकी प्रदेश फुटबल सङ्घका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङले रेफ्री प्रशिक्षणले प्रदेशका ११ वटै जिल्लामा फुटबल खेल विकासमा सहयोग पुग्ने जनाए ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया