१० दिने महायज्ञ सकियो

समाधान संवाददाता २०८१ वैशाख ११ गते १३:२९

पोखरा ।
नयाँ वर्षको अवसरमा पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार सकिएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म चलेको महायज्ञ सोचेअनुरुप सफल भएको छ ।


लोकको कल्याणका लागि आयोजित महायज्ञ सफल भएको महायज्ञ मूल आयोजक समिति अध्यक्ष एवं महायज्ञ संयोजक लक्ष्मण पौडेलले बताए । महायज्ञमा हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज कथावाचन गरेका हुन् । उनको मुखारबिन्दबाट कथा सुन्न भक्तजनको दैनिकरुपमा उल्लेख्य भए । महायज्ञमा करिब १ हजार २ सय जना कर्ता बसेको महायज्ञ मूल आयोजक समिति कोषाध्यक्ष मोहनप्रसाद अधिकारीले बताए ।


कथावाचन आइतबारसम्म भएकोमा सोमबार समापनमा पूर्णाहुति एवंं अभिषेकसहित प्रसाद वितरण गरिएको हो । त्यसअघि, सप्ताहव्यापी पाठपरायण, प्रवचन तथा अनुष्ठान भएको महायज्ञका कार्यालय सचिव नरेन्द्र रानाभाटले बताए ।

Advertisement

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा नारायणप्रसाद अर्यालको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा गण्डकी प्रदेशसभाका सदस्य एवं पूर्व मन्त्री पञ्चराम गुरुङ, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत उपस्थित थिए ।
व्यवस्थितरुपमा महायज्ञ आयोजना गरिएको भए पनि अर्थ संकलनको कुनै उद्देश्य थिएन । कतिपयले स्वेच्छिक सहयोग गरेको महायज्ञका महासचिव सूर्यभक्त सिग्देलले बताए ।


महायज्ञमा कथावाचनसहित बिहान साढे ४ देखि राति ९ बजेसम्म विभिन्न कार्यक्रमले प्रदर्शनी केन्द्र महायज्ञमय बनेको मूल आयोजक समितिका सूर्यप्रसाद भण्डारीको भनाइ छ ।

Advertisement


महायज्ञका सल्लाहकार एवं विश्व हिन्दू महासंघ नेपालका केन्द्रीय सहअध्यक्ष शंकर खरालले अर्थ संकलन उद्देश्य नराखी सामाजिक, धार्मिक सद्भाव र सहिष्णुता वृद्धि गर्ने उद्देश्यले पोखरामा फरकखालको महायज्ञ भएको बताए ।


घरमा सप्ताह यज्ञ अनुष्ठान गर्न असहज परिस्थिति भएकाहरुको सुविधाका लागि महायज्ञमा त्यस्तो सुविधा दिइएको महायज्ञका सहअध्यक्ष महेश पराजुलीले बताए । योग, ध्यान, पूजाअर्चना, भक्ति, ज्ञानका साधना निरन्तर भए ।

तपाईको प्रतिक्रिया