माछापुच्छ्रे माविलाई भारतीय दूतावासको बस

समाधान संवाददाता २०८१ वैशाख ११ गते १६:४६

पोखरा ।
भारतीय दूतावासले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित एक सामुदायिक विद्यालयलाई सोमबार स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे २ भुर्जुङखोलामा अवस्थित माछापुच्छ«े माध्यमिक विद्यालयलाइ बस उपहारस्वरुप प्रदान गरेको हो ।


नेपालका लागि भारतीय रक्षा सहचारी कर्णेल अमित शर्माले विद्यालयमा आयोजित एक समारोहका बीच बसको सेवा सुरुआत गरे । विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले ७ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्ने विद्यालयमा सार्वजनिक यातायात नियमित नहुँदा विद्यालय आउजाउ गर्न विद्यार्थीले भोग्नु परेको कठिनाइ अब समाधान भएको जनाए ।


विद्यालयको आवश्यकता बुझेर बस सहयोग गरेकामा उनले दुतावासप्रति आभार व्यक्त गरे । प्रधानाध्यापक आचार्यले भराभरी, करुवा, मिर्सा, धिप्राङ लगायतका टाढाका गाउँबाट पैदल विद्यालय आउन २ घण्टा बढी समय लाग्ने गरेकाले ती ठाउँमा बस सेवा सञ्चालन गरिने जानकारी दिए ।

Advertisement


उनी भन्छन्, ‘यहाँ चल्ने बस नियमित नहुँदा विद्यार्थीको कक्षा छुट्ने गरेको थियो । २ घण्टा हिँडेर स्कुल आउनुपर्ने बाध्यता अब हट्नेछ । हामीलाई आफ्नै बस भएपछि विभिन्न कार्यक्रममा विद्यार्थी लैजानसमेत सहज हुनेछ ।’ भारतीय रक्षा सहचारी शर्माले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताउँदै आगामी दिनमा समेत सहयोगको प्रतिवद्धता गरे ।


स्कुल बस सहयोगले दुई देशबीचको सम्वन्ध थप बलियो बनाउन मद्धत पुग्ने उनको भनाइ छ । आफ्ना लागि अर्को मातृभूमि र पावन भूमि नेपाल रहेको बताउँदै नेपालमा सहयोग गर्न पाउँदा खुसी लागेको शर्माले उल्लेख गरे ।

Advertisement


गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले भारतीय सहयोगप्रति आभार व्यक्त गरे । उनले माछापुच्छ्रे गाउँपालिकाका अन्य विद्यालयमा समेत सहयोगका लागि आग्रह गरे । वडाध्यक्ष गणेश आचार्यले स्कुल बस सुविधाबाट सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन र शैक्षिक गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने जनाए ।


विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बमबहादुर गुरुङले दूतावासबाट बस प्राप्त गर्नका लागि लामो समयदेखि गरेको प्रयास अहिले सफल भएको सुनाए । ‘स्कुल बसका लागि हामीले ४ वर्षदेखि पहल गरेका थियौँ ।

यहाँका भूपू भारतीय सेनाबाट समेत थप पहल भयो र अहिले ल्याउन सफल भएका छौँ । यसले विद्यालयको शैक्षिक विकासमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ,’ उनी भन्छन् ।

तपाईको प्रतिक्रिया