जग्गा १, लालपुर्जा २

भीमपाणि बराल २०८१ वैशाख १३ गते १०:०६

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ को कित्ता नम्बर ७२५ को ३ रोपनी ३ आना जग्गाको लालपुर्जा भीमबहादुर विकका नाममा छ । अमरज्योति प्रावि पनि सोही कित्ता नम्बरको त्यही जग्गाको धनी हो । ऊसँग पनि लालपुर्जा छ ।


विक र विद्यालयले पाएको लालपुर्जा दिने सरकारी निकाय खास फरक छैन । सुकुम्बासी अर्थात भूमिहीनलाई जमिन उपलब्ध गराउन सरकारले गठन गरेका आयोग र समितिबाट दुवैले लालपुर्जा पाएका हुन् । सरकार फेरिएपिच्छे आयोगका नाम पनि बदलिए तर आयोग वा समितिका उद्देश्य, क्षेत्राधिकार उही हुन् ।


राष्ट्रिय भूमि आयोगको कास्की समितिको २०८० चैत १ गतेको निर्णय अनुसार चैत ५ गते विकको नाममा जग्गाधनी कायम भएको छ । तर सोही जमिन तत्कालीन सुकुम्बासी समस्या समाधान समितिले २०६९ साल चैत ४ गते अमरज्योति प्राविका नाममा निस्सा अर्थात पुर्जा जारी गरेको थियो ।

Advertisement


सार्वजानिक जग्गा संरक्षण गर्ने उद्देश्यले सरकारी तहबाट जग्गाको भोगाधिकार विद्यालयलाई दिइएको थियो । सुरुमा भट्टराई परिवार र स्थानीय सुकम्बासीका बिचमा उक्त जग्गाबारे विवाद थियो । उक्त जग्गा २०५२ सालको सुकुम्वासी समस्या समाधान जिल्ला समिति कास्कीले भोगचलनका आधारमा नियमानुसार जग्गा वितरण गरेपछि पनि कित्ता नम्बर ७२५ त्यत्तिकै थियो । उक्त जमिन संरक्षणकै हेतु २०६९ सालमा आएर विद्यालयका नाममा निस्सा दिइएको थियो ।


२०३२ सालदेखि नै स्वर्गीय रत्नमोहन भट्टराई छोरा राजेन्द्रमोहन भट्टराई हुँदै नाति नवीन भट्टराईसम्म आइपुग्दा पनि उक्त जग्गाको स्वामित्व विवादमै थियो । उक्त जग्गामा आफ्ना बुबा कृष्णबहादुर सुनारले सुकुम्बासीको रुपमा करिब १५÷१६ रोपनी भोग चलन गर्दै आएको भीमबहादुर सुनाउँछन् । पछिल्लो समयमा आयोगले वितरण गरेर बाँकी रहेको करिब ५ रोपनी जग्गामा आफनो अधिकार रहेकाले दर्ता प्रक्रियालाई अगाडि बढाएको उनले बताए ।

Advertisement

पोखरा २६ को कित्ता नम्बर ७२५ को एउटै जग्गाको पुर्जा अमरज्योति प्रावि र भीमबहादुर विकका नाममा छ


उनका अनुसार वर्षौंदेखि मेरा बुबाले भोग चलन गर्दै आएको कित्ता नम्बर ७२५ र ७५९ को जग्गामध्ये अब बाँकी रहेको ३ रोपनी ३ आना आफ्नो हुनुपर्छ भन्ने दावाका साथ दर्ता प्रक्रियालाई वर्षाैंदेखि अगाडि बढाउँदै आएको र आफ्ना दुई भाइले आयोगबाट आमा हरकली विकलाई प्राप्त भएको जग्गा नियम अनुसार लिइसकेकाले बाँकी जग्गामा आफ्नो एकल दाबी रहेको उनको भनाइ छ ।


यता जग्गा दर्ता प्रक्रियमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष गंगाप्रसाद पोखरेलले २०८०असोज २२ गते पत्र लेखी पोखरा महानगरपालिका वडा नम्बर २६ लाई सिफारिस दिन अनुरोध गरेका थिए । सोही पत्रका आधारमा वडा नम्बर २६ का कार्यवाहक वडाअध्यक्ष तीर्थबहादुर राजभाटले २०८० पुस ३ गते भूमि आयोगलाई भोग चलनको सिफारिस गरी पठाएका थिए ।


जग्गा दर्ता प्रक्रिया अगाडि बढाउन भूमि आयोगले नै जनसवाल राष्ट्रिय दैनिकमा २०८० माघ २४ र २५ सूचना निकालिएको थियो । जनसवाल दैनिक पोखरामा कतै सुनिएको वा देखिएको पत्रिका होइन ।


पोखरा महानगरपालिका वडा नम्बर २६ का कार्यवहाक वडाअध्यक्ष तीर्थबहादुर राजभाटले राष्ट्रिय भूमि आयोगको पत्रका आधारमा जग्गाको वस्तुस्थितिबारे मुचुल्का गरी पठाएको बताएका छन् । यसका सम्बन्धमा अख्तियारमा मुद्दा परेकाले आफूहरुको कुनै कमजोरी नभएको र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको उनको भनाइ छ ।


सार्वजानिक जग्गा व्यक्तिका नामा दार्ता भएपछि नेकपा एमाले वडा नम्बर २६, राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा २६ जागरुक नागरिक समाज कास्की र चेतनशील नागरिक समाज कास्की लगायतले जग्गा दर्ता प्रक्रियाको सत्यतथ्यलाई बाहिर ल्याउन माग गरेका छन् ।

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया