सांसद गुरुङको निलम्बन फुकुवा

समाधान संवाददाता २०८१ वैशाख १३ गते १०:५५

पोखरा ।
संघीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा गरेको छ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतको आदेशअनुसार सांसद गुरुङको निलम्बन फुकुवा भएको हो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा गुरुङ दोषी ठहर भएका थिए । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ २०७९ पुस १२ गतेदेखि निलम्बनमा थिए ।


अख्तियारले भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा भ्रष्टाचार गरेको अभियोगमा २०७५ माघ २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । कुनै पनि सार्वजनिक पदाधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएमा स्वतः निलम्बन हुने भ्रष्टाचार निवारण ऐनको व्यवस्था छ ।

Advertisement

विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई २०७९ फागुन १६ गते भ्रष्टाचारी ठहर गरेको थियो ।


बद्रीप्रसाद न्यौपाने महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार रूपैयाँ भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो । गुरुङ भृकुटीमण्डप फनपार्कको मेला सञ्चालक थिए ।

Advertisement

तपाईको प्रतिक्रिया