अस्पतालमा बिहानैदेखि ओपिडी सेवाले बिरामीलाई सजिलो

समाधान संवाददाता २०८१ वैशाख १३ गते ११:०३

पोखरा ।
मुख्यमन्त्री नियुक्ति भएपछि खगराज अधिकारीले निर्णय गरे—प्रदेश अन्तर्गतका अस्पतालको सेवा विस्तार गर्ने । चैत २५ गते अधिकारीले गरेको निर्णयअनुसार अस्पतालको सेवा विस्तार गर्ने भनेको बिहान ७ बजेदेखि नै बहिरंग (ओपिडी) सेवा दिने भन्ने थियो ।


बिहान १० बजे खुलेर ५ बजे बन्द हुने अस्पतालको ओपिडी सेवा विस्तार गरेर ७ बजेदेखि ७ बजेसम्म बनाउने उनको निर्णय हो । यो निर्णय गण्डकी प्रदेश सरकार मातहतका केही अस्पतालमा कार्यान्वयनमा आइसकेको छ ।


गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माका अनुसार प्रदेश मातहतका १२ मध्ये आधा अस्पतालमा ओपिडी सेवा बिहान ७ देखि साँझ ७ सम्म भइसकेको छ । मन्त्रालयमा मुख्यमन्त्री खगराज अधिकारीलाई बुधबार स्वागत गर्दै मन्त्रालयका सचिव शर्माले अस्पतालमा बिहान बेलुका सेवा लिनेको संख्या ह्वातै बढेको बिफ्रिङ दिए ।

Advertisement


उनले दिएको तथ्यांक अनुसार दिनभरिमा आउने संख्या र थप गरिएको समयमा अस्पतालमा ओपिडी सेवा लिन आउनेको संख्या उस्तैउस्तै छ । अर्थात् बिहान बेलुका थपिएको समयमा ओपिडी सेवा लिन आउने र दिउँसो लिने संख्या बराबर जस्तै भएको उनले सुनाए ।


‘यो निर्णयले धेरै ठूलो सेवा दिँदो रैछ । जनताले अनुभूति गर्न सक्ने र साँच्चीकै सेवा के हो देखाउन सक्ने । थपिएको समयमा धेरै जना लाभान्वित हुनुभएको छ,’ उनले भने, ‘प्रदेश सरकारको थप लागत त बढ्ने नै भयो । तर, यत्रो ठूलो संरचना खडा गरेर यत्रो ठूलो रकम खर्च हुने गरेकोमा ४२ लाख जति खर्च बढाउन सके ठूलो सेवा दिन सकिँदो रैछ ।’

Advertisement

मुख्यमन्त्री अधिकारीले ओपिडी सेवा बिहान ७ देखि बेलुका ७ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेका थिए


मन्त्रालयका सचिव शर्माले प्रदेशमा रहेका १२ वटा अस्पतालमध्ये ७ वटाबाट मात्र मुख्यमन्त्रीको निर्देशन अनुरुप सेवा विस्तार भएको बताए । सेवा विस्तार हुन नसकेका ५ वटा अस्पतालमा विस्तार गर्ने प्रक्रियामै रहेको सुनाए । ‘अन्य अस्पतालमा पनि सेवा सुचारु हुने प्रक्रियामा अघि बढेको छ । केही समयपछि सुरु गर्छैं,’ उनले भने ।


प्रदेश अस्पताल अन्तर्गतको म्याग्दीको बेनी अस्पताल, लमजुङको लमजुङ अस्पताल, पर्वतको पर्वत अस्पताल, नवलपुरका मध्यविन्दु अस्पताल, तनहुँको दमौली अस्पताल, स्याङ्जाको स्याङ्जा अस्पताल, गोरखाको गोरखा अस्पतालमा मुख्यमन्त्रीको निर्देशन अनुरुप सेवा विस्तार भएको छ । तर, बागलुङको धौलागिरी अस्पताल, कास्कीको संक्रामक तथा सरुवा रोग अस्पताल, कास्कीकै मातृशिशु मितेरी अस्पताल मुस्ताङको मुस्ताङ अस्पताल र मनाङको मनाङ अस्पतालमा अझै सेवा विस्तार गर्न नसकिएको हो ।


सचिव शर्माले गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको दाबी गरे । ‘गण्डकी प्रदेशमा सेवा नपाएर प्रतिक्षारत अवस्थामा कोही पनि हुनुहुन्न, डायलाइसिस गर्ने बिरामी जानुभयो भने सेवा पाइन्छ,’ उनको दाबी थियो ।


२०७९ साल माघको अध्ययन प्रतिवेदन अनुसार सरकारी १० र निजी ६ वटा गरी जम्मा १६ वटा संस्थाबाट डायलाइसिस सेवा दिने गरिएको थियो । त्यतिबेला ५ सय ७६ जना बिरामीहरुले डायलाइसिस सेवा लिइरहँदा ३ सय ३ जना डायलाइसिस सेवाको पर्खाइमा थिए ।


अधिकारी पहिलोपटक मुख्यमन्त्री हुँदा भएको मन्त्रिपरिषदको निर्णय अनुसार डायलाइसिस सेवा विस्तार गरेर, २५ शड्ढया क्षमताको डायलाइसिस केन्द्र स्थापना, अन्य अस्पतालको क्षमता विस्तार गरेको कारण सेवाका लागि पर्खाइमा रहनेको संख्या शून्यमा झार्न सफल भएको सचिव डा.शर्माले सुनाए ।


मुख्यमन्त्री अधिकारीले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे । स्वास्थ्य क्षेत्रमा काम गर्नेले गर्व गर्नुपर्ने उनको भनाइ थियो । ‘प्राविधिक रुपमा तपाईंहरु मुख्य भएकाले उच्च मनोबलका साथ आफ्ना समस्या सेकेन्ड भरमा समाधान गर्ने गरी मन्त्रालयको स्रोत साधनलाई ध्यान दिँदै काम गर्नुहोस्,’ मुख्यमन्त्री अधिकारीले भने ।

मुख्यमन्त्री अधिकारीले आफू संघीय सरकारको स्वास्थ्यमन्त्री हुँदा तथा यस अगाडि मुख्यमन्त्री हुँदा सुरु गरेका महत्वपूर्ण कार्यक्रमको बारेमा समेत अवगत गराए ।

तपाईको प्रतिक्रिया