सम्पादकीयः बाटो बिर्सिएको कम्युनिस्ट आन्दोलन

समाधान संवाददाता २०८१ वैशाख १३ गते ११:५८

नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको ७६ वर्ष पुगिसकेको छ । लेनिन जयन्तीको अवसरमा नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएकाले अप्रिल २२ लाई स्थापना दिवसको रुपमा नेपालमा मनाइँदै आएको छ । २००६ वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । देशमा कम्युनिस्ट आन्दोलनको साढे सात दशकको लामो कालखण्डको राम्रो ढंगले समीक्षा नगरी यो आन्दोलनअघि बढ्न सक्ने अवस्था छैन ।

कम्युनिस्ट पार्टीहरुको अवस्था, आन्दोलनको दिशा, आगामी एजेन्डा र आन्दोलनका उपलब्धिबारे समीक्षा गनरे नेपाली कम्युनिस्ट आन्दोलनले धक्का खाने निश्चित छ । २००६ वैशाख १० गते भारतको कलकत्तामा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायणविलाश जोशी र नरबहादुर कर्माचार्यले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । १३ वर्षसम्म एकताबद्ध रहेको कम्युनिस्ट पार्टी अहिले दर्जनभन्दा बढी चिरामा विभक्त छ । २०१९ मा पहिलो विभाजनको धक्का व्यहोरेको कम्युनिस्ट पार्टीमा केही पटक एकीकरणका प्रयास पनि भएका छन् । तर समग्रमा नेपाली कम्युनिस्टहरुको बिशेषता विभाजन नै बनेको छ ।

पार्टीमा विभाजन भए पनि २०५१ मा मनमोहन अधिकारीको नेतृत्वमा पहिलोपल्ट नेकपा एमालेको अल्पमतको सरकार बनेको थियो । त्यसले गरेका केही सुधारका कामको अझै चर्चा हुने गरेको छ । २०६२/०६३ को दोस्रो जनआन्दोलनपछि माओवादी केन्द्र मुख्य शक्तिको रुपमा उदायो । दोस्रो संविधानसभामा निकै कमजोर बनेको माओवादी र अर्काे कम्युनिस्ट पार्टी एमालेबिच एकीकरणसहित बनेको नेकपाले पाएको सफलता र अनुमोदनलाई दलका नेताहरुको जोगाउन सकेनन् ।

Advertisement

पार्टी तीन चिरा भयो । अहिले पनि देशमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसमेत रहेको सरकार छ । सत्ताको नेतृत्वमा कम्युनिस्टहरु नै छन् तर समाज रुपान्तरणको सपना अलपत्र छ । राष्ट्रिय पुँजी निर्माण, आधारभूत आवश्यकताको परिपूर्तिको कुरै छाडौं, विदेश उड्नेको लस्कर लामो हुँदै छ । गाउँहरु रिक्ता हुँदै गएका छन् । ठूला ठूला अनियमितताका काण्डमा कम्युनिस्ट पार्टीकै नेता, कार्यकर्ता संलग्न भएको खुलासा भइरहेको छ ।


साढे सात दशकको यात्रा तय गरेको कम्युनिस्ट आन्दोलनलाई एक वर्ष पनि राजनीतिक यात्रा नगरेका नयाँ दलहरुले तर्साइरहेका छन् । राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, संघीयता जस्ता उपलब्धिले मात्र जनजीवनमा परिवर्तन आउने होइन । गणतन्त्रलाई संस्थागत गर्ने जनअपेक्षा अनुरुपका काम हुन सकेका छैनन् । अब कारण र परिणाम केलाएर अगाडि बढ्न नसके देशका पुराना राजनीतिक शक्तिहरुले ठूला ठूला धक्का खानुपर्ने अवस्था आएको छ ।

Advertisement

अब देश, विदेशका गौरवपूर्ण इतिहास र दर्शन देखाएर जनतालाई उत्प्रेरित गर्न सक्ने अवस्था छैन । जनताले व्यवहारमै परिवर्तन खोजेका छन् । दशकौं सत्ताको बागडोर संहालेर पनि अब अरुलाई दोष दिने छुट नेपाली कम्युनिस्टहरुमा छैन । भूमिगत, सत्तादेखि सडकसम्म रहेका देशका थरिथरि कम्युनिस्ट शक्तिहरु प्रश्नको कठघरामा छन् । चित्तबुझ्दो उत्तर भने कुनैले दिन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया