निर्माण क्षेत्रमा संकुचन

समाधान संवाददाता २०८१ वैशाख १३ गते १२:४५

पोखरा ।
नेपाल विजुली, पेन्टर प्लम्बर तथा निर्माण मजदूर (क्युपेक नेपाल) जिल्ला युवा कमिटी कास्कीको पाँचौ अधिवेशन भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष नेत्र मगरको नेतृत्वमा ९ सदस्यीय युवा कमिटी चयन गरेको छ ।


नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले अधिवेशनको उद्घाटन गर्दै विश्वव्यापी मन्दीका कारण निर्माण क्षेत्रको काम संकुचन भएको बताए । ‘निर्माण क्षेत्रमा धेरै समस्या छन्,’ उनले भने, ‘विश्वव्यापी रुपमा आएको मन्दीको कारण निर्माण क्षेत्रको काम ५० प्रतिशतले घटेको छ ।’

उनले श्रमिकले श्रम ऐनले तोके अनुसारको सेवा सुविधा नपाएको उल्लेख गरे । उनले अनौपचारिक क्षेत्रका योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुन नसकेको जानकारी दिए । उनले श्रमिकले नेपालमा काम नगरेर यहाँको बराबरको तलबमा विदेशमा गएर काम गर्ने परिपाटीको विकास भएको दाबी गरे ।

Advertisement


क्युपेक नेपालका केन्द्रीय उपमहासचिव सोमबहादुर आलेले निर्माण क्षेत्रका श्रमिक राजनीतिक गतिविधिमा समावेश भएर शासन सत्ताको बागडोर सम्हाल्नुपर्ने सुझाव दिए । क्युपेक नेपाल युवा कमिटीका केन्द्रीय उपाध्यक्ष पूजा छन्त्यालले राज्यका सबै निकायमा युवाको प्रतिनिधित्व बढाउन युनियनले योजनाबद्ध ढंगले काम गरेको जानकारी दिइन् ।


क्युपेक नेपाल कास्की अध्यक्ष तीर्थराज मगरले युवालाई युनियनमा संगठित गर्न र टिकाउन कठिनाइ भएकाले ठोस योजना ल्याउने बताए । कार्यक्रममा जिफन्ट युवा कमिटी कास्कीका अध्यक्ष अनिस सिंह, क्युपेक नेपाल कास्कीका उपाध्यक्ष सूर्यप्रसाद उपाध्याय, सचिव जीवन लामा, क्युपेक युवा कमिटीका अध्यक्ष नेत्र मगर, सहसचिव सुन्दरलाल तामाङ, गोपाल मगर लगायतले निर्माण क्षेत्रका मजदुरका समस्या बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया