भानु नगरपालिकामा औद्योगिक ग्राम बनाइँदै

राष्ट्रिय समाचार समिति (रासस) २०८१ वैशाख १३ गते १३:००

दमौली ।
तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको छ । भानु नगरपालिका ३ खहरेमा औद्योगिक ग्राम निर्माणका लागि १ करोड बजेट प्राप्त भएसँगै प्रक्रिया प्रारम्भ भएको हो ।


खहरे बजार नजिकको करिब ५८ रोपनीमा औद्योगिक ग्राम निर्माणका लागि चालु आर्थिक वर्षमा उक्त बजेट प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त स्थानमा औद्योगिक ग्राम निर्माणका लागि १ करोड रकम विनियोजन गरेको र असार मसान्तसम्म काम सक्न बोलपत्र आह्वान गरिने उनले सुनाए ।


नगरपालिकाले सो स्थानमा औद्योगिक ग्राम निर्माणका लागि २४ करोड २८ लाख ८५ हजारको विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो । औद्योगिक ग्रामका लागि पहुँचमार्ग स्तरोन्नति गर्ने, ग्रामभित्र सडकको ट्रयाक खोल्ने, जग्गा सम्म्याउने र पर्खाल चालु आर्थिक वर्षभित्र निर्माण गरिने नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी बताउँछन् ।

Advertisement

औद्योगिक ग्राममा विशेषगरी स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थ, अर्धप्रशोधित कच्चा पदार्थ वा खेर गएको वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादन गर्ने उत्पादनमूलक उद्योग सञ्चालन हुनेछ । स्थानीय स्तरमा प्राप्त हुने कोदो, मकै, धान, गहुँ, फापर, दूध, मह, चिया कफी, फलफूल, जडीबुटीलगायत वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादनमूलक उद्योग स्थापना गर्ने लक्ष्य छ ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया