गाउँका बाटामा गुड्दैन मोटर

राष्ट्रिय समाचार समिति (रासस) २०८१ वैशाख १३ गते १५:२४

ढोरपाटन ।
दिन प्रतिदिन गाउँबाट सहर झर्नेको संख्या बढ्दो छ । घरको आँगनमै विकास पुगे पनि बसाइँसराइ रोकिएको छैन । स्थानीय तह स्थापना हुनुपूर्व बागलुङबाट अधिकांश गाउँमा मोटरबाटो पुगेको थिएन । अहिले मोटरबाटो नपुगेको गाउँ छैन ।


गाउँमा एउटामात्रै होइन, धेरै शाखा सडक खुलेका छन् । तर ती सडकमा गाडी भने चल्दैनन् । धेरैको रोजाइ सहर बजार बनेपछि गाउँमा बस्नेको कम हुँदै गएका छन् । स्थानीय तहले हरेक बस्तीमा मोटर गाडी गुडाउने उद्देश्यले सडक निर्माण गरे पनि पछिल्लो समय धेरै सडक प्रयोगविहीन बन्दै गएका छन् ।


बागलुङमा सबैभन्दा धेरै बसाइँसराइ गर्ने पालिकामध्ये गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका पर्छन् । यी पालिकाका दूर दराजसम्मै सडक पुगेका छन् ।

Advertisement

पालिकाले जथाभावीरुपमा सडक खन्दा राज्यको करोडौँ खर्च भएको छ तर सडकमा गाडी नगुड्दा बालुवामा पानी जस्तै बनेको छ । स्थानीय तहले पहिलो वर्ष अत्यधिक बजेट सडक निर्माणमै लगाएका थिए । अहिले बल्ल अन्य क्षेत्रलाई समेटेर विकास गर्न थालेका छन् । अव्यवस्थित र विना इन्जिनियरिङ खनिएका सडकले समय समयमा समस्यासमेत निम्त्याइरहेका छन् ।


निसीखोला गाउँपालिका १ का विरु सुनारले नापचाँज नगरी खनिएका सडकले सिंगो गाउँनै पहिरोको जोखिममा परेको बताए । गाउँमा सडकको आवश्यकता भए पनि अव्यवस्थित ढंगले निर्माण गर्दा यहाँका झण्डै सय घर पहिरोको जोखिममा रहेको उनी बताउँछन् । एउटै गाउँमा ४ वटाभन्दा बढी सकड निर्माण भए पनि अहिले एउटा मात्रै सञ्चालनमा रहेको सुनारको भनाइ छ । उक्त सडक पनि वर्षात्को चार महिना पूरै बन्द हुने उनी बताउँछन् ।

Advertisement


सुनार भन्छन्, ‘सुरुमा गाउँमा सडक आउँदा निकै खुसी लागेको थियो, जब गाउँमा सडक आयो त्यसपछि गाउँलेको उठिबास लाग्न थाल्यो, कच्ची जग्गा, वर्षात्को समय ठाउँठाउँमा ठूलो पहिरो गाउँ दर्जनौँ घर जोखिममा परेका छन्, कतिपय त पहिरोले बगायो पनि, एउटा गाउँमा एउटा सडक भए हुन्थ्यो, तर धेरै सडक खनिएका छन्, हिउँदको समयमा एउटा सडक त जसोतसो चल्छ तर वर्षात्को समयमा कुनै पनि सडक चल्दैनन् ।’


निसीखोलामा मात्रै होइन जिल्लाका १० वटै पालिकाका एउटा गाउँमा धेरै सडक खनिएका छन् । गाउँभरि खनिएका सडकले नागरिकलाई सुविधाको सट्टा समस्या पारिरहेको स्थानीय बलबहादुर पुनले बताए ।गाउँमा सडक आएपछि बजारबाट दैनिक उपभोग्य सामान ओसारपसार गर्न र टाढा यात्रा गर्न सहज भए पनि वर्षात्को समय ज्यान जोगाउनै मुस्किल हुने उनको भनाइ छ ।


गाउँको मुख्य भागमा ६ सडकको नाका रहेको भन्दै उक्त सडकबाट बगेको भलले खेतीयोग्य जमिन र घर नै बगाइदिने जोखिम बढेको पुनले सुनाए । अहिले कुनै पनि सडक सञ्चालनमा नरहेको उनको भनाइ छ ।


जिल्लाको मध्यभागमा पर्ने गलकोट नगरपालिकामा पनि अहिले धेरै सडक प्रयोगविहीन बन्दै गएका छन् । मध्य पहाडी लोकमार्गबाहेक यस पालिकामा ४ सय ६० किलोमिटर कच्ची सडक रहेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।


नगरपालिकाको माथिल्लो भेगबाट मान्छे धेरै बसाइँसराइ गरेर बजार झरेपछि सडक सञ्चालन नभएको उनको भनाइ छ । नगरपालिकाले गाउँमै सबै प्रकारका सेवा सुविधा दिनेगरी काम गरिरहेको भन्दै उक्त सडकलाई कृषि सडकका रुपमा विकास गरिने उनी सुनाउँछन् ।


‘पहिले गाउँमा मान्छे थिए, उनीहरुको आवश्यकतालाई मध्यनजर गरी सडक निर्माण गरियो तर अहिले गाउँबाट धमाधम मान्छेहरु बजार झरिरहेका छन्, गाउँमै रोक्न प्रयास गरिरहेका छौं’, प्रवक्ता भण्डारीले भने ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया