पोखरा स्पोर्टस अवार्डलाई सहारा क्लबको साथ

क्लबद्वारा ५० हजार सहयोग

समाधान संवाददाता २०८१ वैशाख १३ गते १५:५९

वैशाख ।
पोखराको प्रतिष्ठित सहारा क्लबले आठौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८०’ लाई यस वर्ष पनि सफल पार्न सहयोग गर्ने भएको छ । सहारा क्लबबाट उदीयमान खेलाडीको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी बुधवार सम्झौता भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।


पोखरा १७ दोबिल्लामा रहेको सहारा एकेडेमीमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष केशवराज बराल र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।


क्लबले सुरूवातदेखि उक्त विधामा पुरस्कार प्रायोजन गर्दै आएको मञ्चका अध्यक्ष बरालले बताउँदै सहयोगप्रति धन्यवाद दिए । । क्लबका अध्यक्ष बरालले खेलकुद क्षेत्रको लागि ठुलो इभेन्ट भएकोले आफूहरूले विगतका वर्षदेखि सहयोग गर्दै आएको जनाए ।

Advertisement


पोखरा महानगरपालिका वडा नम्बर १५ बाट उक्त पोखरा स्पोर्टस् अवार्डका लागि २५ हजार सहयोग उपलब्ध गराउने भएको अध्यक्ष तोरणबहादुर बानियाँले बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका बानियाँले उक्त अवार्ड खेलाडीलाई प्रोत्साहन गर्ने भएकोले यसलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।


आठौँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताए ।

Advertisement


अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग तथा पोखरा महानगरपालिकासँगको सहकार्यमा हुन लागेको कार्यक्रमको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय छ ।


अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा छ । यसका अलावा राष्ट्रिय खेलकुद परिषद्, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, मादी गाउँपालिका, रुपा गाउँपालिका, मुस्ताङ गल्फ कोर्स, गुरुङ हर्बल ब्युटी पार्लर लगायतले सघाउने भएका छन् । टेल्जी ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमा मा ईमोर्टस् प्रालिले उक्त अवार्डलाई सहयोग गर्ने भएको छ ।


कार्यक्रममा सहारा क्लबका पूर्व अध्यक्ष वीरभद्र आचार्य, मञ्चका पूर्वअध्यक्ष केशव पाठक, पूर्वसल्लाहकार सुदर्शन रञ्जित, सदस्य रोहितराज पराजुली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, क्लबका मानार्थ सदस्य एवं समाजसेवी महेश गुरुङ, लोक गुरुङ, मुछेत्र गुरुङ लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया