सम्पादकीय—विषाक्त हावाले उकुसमुकुस पोखरा

समाधान संवाददाता २०८१ वैशाख १७ गते ११:५५

केही दिनयता पोखरा धुम्म छ । आकाश देखिएको छैन । वरपरका डाँडाकाँडा त के नजिककै घर, भवन र ठाउँ देख्न मुस्किल छ । पानी नपरेको लामो समय भयो । सामान्य अवस्थामा हावाको गति सर्वसाधारणलाई थाहा हुँदैन, अवस्था त्यस्तै छ । केही साताअघिमात्रै बेतोडले हुरी वतास आएको थियो । तुँवालोले धुम्मिएको आकाश सफा गर्नुपर्ने बेलाचाहिँ हावाको गति मन्द छ ।

वायु प्रदूषण यति धेरै देखिन्छ कि यस्तो त कहिल्यै भएको थिएन भन्छन् बुढापाका । वायु गुणस्तर सूचकांक (एक्युआई) मा पोखराको हावा २०८ पुग्यो । जब कि मानव स्वास्थ्यका लागि ५० एक्युआई मात्रै ठिक हो । सयसम्मको चाहिँलाई पनि सामान्य मान्ने चलन छ । तर त्यसको पनि दोब्बरभन्दा बढी देखिन्छ । हावामा दूषितमात्रै नभई विषाक्त कणहरु भएको हुँदा मानव स्वास्थ्यमा निकै नकारात्मक असर पर्ने निश्चित छ ।


पोखराको वायु प्रदूषणले गर्दा हवाई उडान हुन सकेको छैन । शनिबार पोखरा विमानस्थलबाट जहाड उडेनन् । सर्वसाधारणहरु आँखा पोल्ने समस्या भोगिरहेका छन् । हिमालय आँखा अस्पतालमा त्यस्ता बिरामी दिनमा सयका दरले पुगिरहेका छन् । पोखरामा देखिएको विषाक्त हावाले धेरैलाई उकुसमुकुस पारेको छ ।

Advertisement

निस्सासिएको जस्तो आभास धेरैले गरेका छन् । यो प्रदूषणको कारण पोखरा आफै भने होइन । देशका चौतर्फी भागमा अहिले डढेलोको प्रकोप फैलिएको छ । त्यसमाथि नेपालमा प्रदूषित हावा अहिले पश्चिमी दिशाबाट भित्रिरहेको छ । भारत, पाकिस्तान, अफगानिस्तानमात्रै होइन, इरानसम्मबाट पनि नेपालमा पश्चिमी वायु आइपुग्छ ।


प्रदूषणको कारण अन्तरदेशीय हावासँगै स्थानीय पनि छ । त्यो भनेको डढेलो त हुँदै हो, अर्काेतिर निरन्तर हावा प्रदूषण बनाउन उद्योगधन्दा र सवारी साधनले योगदान गरिरहेका छन् । पोखरामा कालो धुवाँ पुत्ताउँदै गाडी गुड्छन् । तर तिनलाई नियन्त्रण कसैले गर्दैन । राज्यका निकाय बेमतलवी तालका छन् । वायु प्रदूषणको स्थानीय कारण निराकरणका लागि हाम्रा पालिका र प्रदेश सरकारसँग कुनै नीति र योजना छैन ।

Advertisement


सरकारले कुनै नीति र योजना नबनाए पनि र वायु प्रदूषण रोक्न कुनै काम नगरे पनि सर्वसाधारणले केही न केही सचेतना अपनाउँदा स्वास्थ्यका धेरै समस्याबाट बँच्नचाहिँ सक्छन् । त्यसका लागि मास्क प्रयोग गर्न सक्छन् । र, आफ्नो घर, पसल वरपर फोहोर जलाउने काम नगर्नु सर्वसाधारणको कर्तव्य पनि हो । त्यसरी पनि सर्वसाधारणले प्रदूषण कम गर्न योगदान दिन सक्छन् ।

अर्काेतिर राज्यले नियन्त्रण नगरे पनि निजी क्षेत्रले कलकारखानाको प्रदूषण कम गर्न आफ्नै तरिकाले काम गर्नु उत्तम हो । यातायात व्यवसायीले पत्रु गाडी विस्थापन गर्नुपर्छ । सबैभन्दा त हरियाली जोगाउने र थप बढाउने काममा पनि सर्वसाधारण सबैको योगदान हुन जरुरी छ । नागरिक र राज्यको संयुक्त पहलबाटै प्रदूषण नियन्त्रण गर्न सम्भव हुनसक्छ ।

तपाईको प्रतिक्रिया