प्रकटको सम्झना

समाधान संवाददाता २०८१ वैशाख १७ गते १२:३३

पोखरा ।
एडस रोग नियन्त्रण संघ कास्कीमा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । संघले साहित्यकार प्रकट पगेनी ‘शिव’को निधनप्रति श्रद्धाञ्जली सभासहित विविध कार्यक्रम आयोजना गरेको हो ।


संघले संघद्वारा जनचेतना अभिवृद्धिका लागि निर्माण गरिएको प्रतिबद्धता फिल्मका नायक प्रकट पगेनी शिवको स्मरण गर्दै श्रद्धाञ्जली सभा गरेको हो । संघले कास्कीको माछापुच्छ्रे २ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माविमा पगेनी अभिनित चलचित्र प्रतिबद्धतासमेत प्रदर्शन गरेको छ ।


समारोहमा माछापुच्छ्रे मावि विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गमबहादुर गुरुङ र प्रधानाध्यापक सन्तोष आचार्यले समुदायमा जनचेतना जगाउन र सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए । माछापुच्छ्रे २ का वडाध्यक्ष गणेश आचार्य लगायतले चलचित्र अवलोकन गर्नुका साथै समाजमा विद्यमान कुसंस्कार अझै राम्ररी निराकरण हुन नसकेको बताए ।

Advertisement


संघका अध्यक्ष विश्वमोहन गौचनले संघका गतिविधिलाई प्रभावकारी बनाउन साहित्यकार तथा कलाकार प्रकट पगेनी शिवको निधनले संघलाई अतुलनीय क्षति पुगेको जनाए । सोही समारोहबीच संघले विद्यालयलाई दुई कार्टुन सेनेटरी प्याडसमेत वितरण गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया