घाँसामा अवैध घरेलु मदिरा नष्ट

समाधान संवाददाता २०८१ वैशाख १८ गते १६:४९

जोमसोम ।
मुस्ताङमा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । म्याग्दी हुँदै अवैध रुपमा मुस्ताङतर्फ ल्याउँदै गरिएको घरेलु मदिरा म्याग्दी र मुस्ताङको सीमानाका घाँसामा प्रहरीले नष्ट गरेको हो ।


चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि वैशाख १६ गतेसम्म ७ पटक गरी म्याग्दी हुँदै मुस्ताङतर्फ ल्याउँदै गरिएको ३ सय ५० लिटर अवैध घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।


म्याग्दी र मुस्ताङको सीमाक्षेत्र घाँसामा म्याग्दी हुँदै विभिन्न सवारी साधनमा लुकाईछिपाई अवैध घरेलु मदिरा ल्याउने गरिएको छ । अवैध घरेलु मदिरा र मासुजन्य पदार्थको निगरानी गरी आवश्यक प्रक्रिया पुगे नपुगेको प्रमाणित भएपछि मात्र यस प्रकारका सामग्री ल्याउन अनुमति दिने गरिएको छ ।

Advertisement


कोरला नाकाबाट ल्याइएको ३२ कार्टुन मदिरा सीमा क्षेत्रमा खटिएका संयुक्त सरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनराज पन्तले सीमा नाकाबाट व्यापारिक प्रयोजनका लागि लटका लट अवैध मदिरा ल्याउने गरेको सूचना पाएपछि चीनबाट ल्याइएका मदिरा त्यहाँ खटिएका सुरक्षाकर्मीले बरामद गरेको बताए ।

‘सीमा नाकामा क्वारेन्टाइन छैन, प्रयोगशाला छैन,’ प्रजिअ पन्तले भने, ‘अन्तशुल्क स्टीकरको लेभल हुनुपर्छ, अन्तशुल्कबाट मदिरा अनुमति लिनुपर्ने हुन्छ ।’ चीनबाट कोरला नाका हुँदै ल्याइएको मदिरा गुणस्तर मापन गर्न प्रयोगशालामा पठाइएको र खान योग्य भएमा अन्तशुल्क अनुमतिसहित अन्तशुल्क स्टीकरण लगाएर बेच्न पाइने प्रजिअ पन्तले जानकारी दिए । ल्याब परीक्षण ठीक भएमा लिलाम गरी अन्तशुल्क लिएर सम्बन्धित व्यत्तिलाई बेच्न दिइने र ल्याब फेल भएमा नष्ट गरिनेछ ।

Advertisement


डिस्टिलरी उद्योगसँग अन्तरक्रिया

मुस्ताङमा सञ्चालित डिस्टिलरी उद्योगहरुसँग कोष तथा लेखा नियन्त्रणक कार्यालय मुस्ताङले सोमबार छलफल तथा अन्तरक्रिया गरेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको उपस्थितिमा उद्योगहरुसँग अवैध मदिरा नियन्त्रण, अन्त शुल्क स्टिकर व्यवस्थापन र अनुगमन तथा निरीक्षण गर्ने बिषयमा छलफल भएको छ ।


कोष तथा लेखा नियन्त्रणक कार्यालय मुस्ताङको कार्यालयमा भएको छलफल तथा अन्तरक्रियात्मक बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको छ । बैठकले बजारमा देखिएका अवैध मदिरालाई नियन्त्रणका लागि सबै सरोकारवाला निकायले आफ्नो ठाउँमा कार्य गर्ने र अवैध मदिरा बिक्री वितरण गर्ने गराउनेलाई कारवाहीको दायरामा ल्याउने निर्णय गरेको हो ।


कोष नियन्त्रक जब्बरबहादुर भण्डारीका अनुसार मार्फा शितोष्ण वागवानी विकास केन्द्रले उत्पादन गर्दै आएको मदिरालाई बजारमा अवैध भन्न नसकिने अवस्था आएकाले त्यहाँ कार्यालयमा उत्पादन हुने मदिरालाई अन्त शुल्कमा ल्याउन आन्तरिक राजस्व कार्यालयसँग परामर्श गर्ने निर्णय गरिएको हो ।


जिल्ला र मित्र राष्ष्ट्र चीनको व्यापारिक नाकाबाट पैठारी भएका मदिराको हकमा अवैध मदिरा भएकोमा नियन्त्रणका लागि सबै निकायले कार्य गर्ने कोष नियन्त्रक भण्डारीले बताए । जिल्लामा सञ्चालित मदिरा डिस्टिलरी उद्योगले अन्त शुल्क स्टिकर र निकासीको बिषयमा सञ्चालित उद्योगको स्थलगत निरीक्षण गर्ने र लागत हिसाब पेश गर्न पत्राचार गर्ने निर्णय भएको हो ।


अन्त शुल्क इजाजत पत्र नलिएको तथा नवीकरण नगरेका प्रतिष्ठानलाई अन्त शुल्कमा ल्याउन पहल गर्ने, स्थानीय तहमा सञ्चालनमा आएका व्यापारिक प्रतिष्ठानलाई दर्ता गर्न, स्थायी लेखा नब्बर लिन, अन्त शुल्कको दायरामा ल्याउन स्थानीय तहहरुलाई पत्राचार गर्ने निर्णय भएको कोष नियन्त्रक भण्डारीको भनाइ छ । अवैध मदिरा नियन्त्रण तथा अन्तःशुल्क व्यवस्थापनका लागि सबै निकायले साझेदारी गर्दै अनुगमन तथा निरीक्षणलाई नियमित र चुस्त बनाउने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया