समाजवादी निकट एकीकृत ट्रेड युनियनले मनायो मजदुर दिवस

समाधान संवाददाता २०८१ वैशाख २० गते ११:२३

पोखरा ।
एकीकृत ट्रेड युनियन महासंघ गण्डकी प्रदेश कमिटीले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा र्‍यालीसहितको कार्यक्रम गरेको छ । मजदुरहरूका हकहित र नारा अंकित प्ले कार्ड र ब्यानरसहितको र्‍याली सिर्जनाचोकबाट सुरु भई पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो ।


कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज तुलबहादुर गुरुङले व्यवस्था परिवर्तन भए पनि गरिब मजदुर तथा शोषित पीडित जनताको अवस्थामा उल्लेख्य परिवर्तन हुन नसक्नु चिन्ताको विषय भएको बताए । अब पनि राजनीतिक दलहरू र तिनका नेताहरूले दलाल नोकर शाही प्रवृत्तिको पक्षपोषण गरेर आधारभूत जनताको हितमा काम नगरे निर्णायक संघर्ष गर्ने अवस्था आउन सक्न सक्ने गुरुङले बताए ।


एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ बरालले श्रमलाई सम्मान गर्दै हरेकलाई रोजगारी र उचित सेवा सुविधाको प्रबन्ध गर्नुपर्ने बताए । पोखरा महानगरपालिकाका प्रमुख तथा पार्टीका केन्द्रीय सदस्य धनराज आचार्यले मजदुरमैत्री कानुनको निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै पोखरा महानगरभित्र छिट्टै योगदानमा आधारित सामाजिक सुरक्षा नीति लागु गरिने बताए ।

Advertisement


कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रेम नारायण पौडेल, जिल्ला अध्यक्ष खड्ग हमाल, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी, पेसागत महासंघ गण्डकीका अध्यक्ष गुमानबहादुर थापा, मजदुर नेता मुक्ति गुरुङ लगायतले मजदुरहरूको हकहितका सम्बन्धमा धारणा राखेका थिए ।


एकीकृत ट्रेड युनियन महासंघ गण्डकी प्रदेशका अध्यक्ष तिलबहादुर विश्वकर्मा ‘तिलक’ को अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन महासंघ नेता हरिराम धितालले गरेका थिए । कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया