सम्पादकीय—काकाकुल तालनगरी

समाधान संवाददाता २०८१ वैशाख २० गते ११:५६

तालैतालको सहर केही पोखरामा समययता खानेपानीको अभाव देखिएको छ । तालनगरीलाई ‘काकाकुल’ को आभास भएको छ । सहरी क्षेत्र न्यूरोड, पृथ्वीचोक, महेन्द्रपुल नयाँबजार विन्ध्यवासिनी, पस्र्याङका घरघरमा अचेल धारामा पानी आउँदैन । खानेपानी संस्थानको कार्यालय त अहिले निरीह बनेको छ । संस्थानले त आकाशबाट पानी नपरेसम्म समस्या समाधान गर्न नसक्ने ठोकुवा नै गरेको छ ।

उसले आकाशको पानी कुरिरहेको छ । दैनिक ७ करोड लिटर खानेपानीको माग भएपनि साढे ४ करोड लिटरमात्र उपलब्ध गराउन सकेको भनेर संस्थानले निरीहता प्रकट गरेको छ । पोखरा जस्तो बजारमै पानीको हाहाकार हुँदा सरकारवाला निकायले कुनै योजना बनाएका छैनन् । न त अहिले उपलब्ध हुँदै आएका पानीका मुहानबाट किन पानी घट्यो खोजी गरेका छन् न त वैकल्पिक व्यवस्था ।


मर्दी खोला मुहान, भोटी खोला मुहान, कालीमुढा मुहान र बालधारा मुहानबाट ल्याइएको पानी उपत्यकामा वितरण हुँदै आएकोमा पानी किन घट्यो खोजी गरिएको छैन । हुँदाहुँदै संस्थानले नै सञ्चालन गर्दै आएको १५ वटा बोरिङबाट मोटरले पानी तान्दा पनि पानी चाहिएजस्तो उपलब्ध हुन सकेका छैन । खानेपानी समस्याको दीर्घकालीन समस्याको समाधान खोज्न मर्दी खोला खानेपानी सम्बन्धी बृहत् आयोजना सुरु भएको आधा दशक हुन आँट्यो । सडक खनेर पाइप बिच्छ्याइएको छ । तर पानी वितरण हुन सकेको छैन ।

Advertisement


खासगरी अहिलेचाहिँ पोखरा महानगरको १ देखि १९ नम्बर वडासम्म ५१ हजार घरधुरीमध्ये १५ हजार घरधुरीमा पानीको समस्या छ । संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत खानेपानी प्राप्त गर्ने हक प्रदान गरेको छ । कसैलाई पनि वञ्चित गरिने छैन र समान पहुँचको हक हुनेछ भनेको छ । तर, संविधानप्रदत्त यस हकको प्रत्याभूत गराउन पोखरा महानगरले कुनै पहल कदमी नलिनु आफैंमा गैरजिम्मेवारपूर्ण छ । यसलाई तत्काल सच्चाएर पोखराको खानेपानी समस्या समाधान गर्न दीर्घकालीन समस्या समाधानको बाटो खोज्नुपर्छ ।


जुनजुन घरका धारामा पानी पुगेको छैन । त्यहाँ जतिसक्दो छिटो पानी पुर्‍याउनुपर्छ । बढ्दो खानेपानीको जनआक्रोशबाटे सिर्जित विवाद सुल्झाउँदै, पानीको स्रोत व्यवस्थापन गर्दै मुहानबाट पानी आउने स्रोत खोज्नुपर्छ । यसका लागि खानेपानी संस्थानले मात्र गर्न नसक्ने भएकाले पोखरा महानगरपालिका र प्रदेश सरकारले पनि समाधानको उपाय गर्नुपर्छ । मर्दीखोला खानेपानी आयोजनालाई छिटो पूर्णता दिन सके धेरै हदसम्म समस्या सुल्झन्छ । किन त्यसमा ढिलाइ भएको छ, महानगरपालिकाले पनि खोजी गर्नुपर्छ र पानी आपूर्तिको व्यवस्था मिलाउन पहल गर्नुपर्छ । तालनगरलाई काकाकुल बन्न दिनु हुँदैन ।

Advertisement

तपाईको प्रतिक्रिया