विद्यार्थीलाई समुदायिक छात्रवृत्ति

समाधान संवाददाता २०८१ वैशाख २० गते १२:२९

पोखरा ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । सेवा केन्द्रले आफ्नो कार्य क्षेत्रमा पर्ने सामुदायिक विद्यालयका १० विद्यार्थीलाई सामुदायिक छात्रवृत्ति प्रदान गरेको अध्यक्ष कमलबहादुर श्रेष्ठले जानकारी दिए ।


सेवा केन्द्रले छात्रवृत्तिको लागि ८ लाख ५० हजारको अक्षयकोष खडा गरेको छ । अध्यक्ष श्रेष्ठले कालिका मावि रामबजार, नवप्रभात मावि नयाँ बजार, सहारा आधारभूत विद्यालय, कालिका मावि भरतपोखरी, र राष्ट्रिय मावि टुँडिखेल, सिद्ध मावि फलेपाटन, भद्रकाली मावि, पार्दी माविका ती विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिए ।


‘सेवा केन्द्रले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘विद्यार्थीको विद्यालयमा वार्षिक रुपमा लाग्ने सबै खर्च खाजा, परीक्षा शुल्कका आलवा पोशाक, स्टेसनरी लगायतका सहयोग गरेका छौं ।’

Advertisement


अध्यक्ष श्रेष्ठले विकृति विसंगति न्यूनीकरणका लागि सक्रियतापूर्वक काम गरेको संस्थाले शिक्षा र सामाजिक क्षेत्रमा समेत काम गरेको बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले नेपालको संविधानमा भएको निशुल्क शिक्षा पाउने मौलिक हक कार्यान्वन नभएको जनाए । उनले सेवा केन्द्रले राज्यले गर्नुपर्ने काम गरेको उल्लेख गरे ।


राज्यले केही नदिँदा पनि संस्थाले आफ्नै स्रोत र साधन जुटाएर सामाजिक र शिक्षा क्षेत्रमा काम गरेको बताए । संस्थाका पूर्व अध्यक्ष चिरञ्जीवी श्रेष्ठले गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी ६ वर्षदेखि छात्रवृत्तिको कार्यक्रम गरेको जानकारी दिए ।

Advertisement

संस्थाका पूर्व अध्यक्ष जयराम अधिकारीले अध्ययन भ्रमणका क्रममा चितवनमा गरिएको छात्रवृत्तिको व्यवस्थालाई जस्ताको तस्तै लागु गरेको बताए । कार्यक्रममा नव प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक माया थापा, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका सचिव उत्तम जोशी लगायतले छात्तवृत्तिका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया