बस्ती नजिकै हिउँ चितुवा

सुन्दरकुमार थकाली २०८१ वैशाख २३ गते १२:४६

जोमसोम ।
पछिल्लो समय हिमालकी रानीको उपमा पाएको दुर्लभ हिउँ चितुवा मुस्ताङका सडक तथा बस्ती नजिक देखिन थालेका छन् । चालु वर्षको वैशाख महिनामा मुस्ताङका दुई स्थानमा हिउँ चितुवा सडक र बस्ती नजिक स्थानीयले देखेका छन् ।
मुस्ताङमा दुर्लभ हिउँचितुवा देखिन थालेपछि स्थानीयमा कौतुहलता बढ्दै जान थालेको हो ।

वैशाख ९ गते उपल्लो मुस्ताङको लोमान्थाङबाट जोमसोमतर्फ जिपमा यात्रा गर्दै गर्दा लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छिमी बिष्टले जोमसोम—कोरला सडक मार्गको समर खोला नजिकको सडकमै एकसाथ ४ हिउँ चितुवा देखेकी थिइन् । उपाध्यक्ष बिष्टले जिपभित्रै बसेर ती हिउँचितुवाको तस्बिर र भिडियो समेत खिचेकी थिइन् । उनले लिएका हिउँचितुवाको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल बने ।


यो शुक्रबार पनि हिमचितुवा बस्ती नजिक देखा परेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले एउटा हिउँचितुवा वारागुङ मुक्तिक्षेत्र ४ कागबेनी श्राद्धस्थलको कालिगण्डकी नदी पारी बस्ती नजिक देखा परेको जानकारी दिए । ‘हिमालकी रानी हिउँचितुवा कागबेनी गाउँ पारी बस्ती नजिक देखा पर्‍यो, मैले त्यसको भिडियोसमेत खिच्न भ्याएँ,’ बोहोराले भने, ‘टन्न अघाएको जस्तो देखिन्थ्यो, नजिकका पशु चौपायालाई केही क्षति नगरी देखिएको हिउँ चितुवा विस्तारै हिडेर पहाडतिर उक्लियो ।’

Advertisement


बोहोराले पनि मोबाइलबाट खिचेको हिउँ चितुवाको भिडियो फेसबुकमा राखेका छन् । यो भिडियो भाइरल बनेको छ । समुन्द्री सतहको ३ हजारदेखि ५ हजार मिटरको क्षेत्र हिउँ चितुवाको मुख्य वासस्थान हो । हिउँ चितुवा छेवैमा भए पनि नदेखिने जनावर हो ।

बाटो बिराउदा तल झर्न सक्छन्, कहिलेकाँही आहार पछ्याउँदै बस्ती नजिकसम्म आईपुग्न सक्छन् ।
मधु क्षत्री, हिउँ चितुवा विज्ञ

Advertisement


यो लुकेर बस्ने, मानिसलाई छल्ने र झुक्याउन सक्ने प्राणी हो । यसै कारण मानिसले सहजै हिउँ चितुवा देख्न सक्ने अवस्था हुँदैन । उच्च हिमाली क्षेत्रमा पाइने हिउँ चितुवाको मुख्य आहार नाउर नै हो । हिउँ चितुवाको बिषयमा विद्यावारिधि गरिसकेका राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहा चितवनको हिउँ चितुवा विज्ञ मधु क्षेत्रीले मुस्ताङको सडक तथा वस्तीमा हिउँ चितुवा देखा पर्नु अनौठो नभएको प्रतिक्रिया दिए ।


‘हिउँ चितुवा पहिले पहिले पनि तल झर्थे, हामीले नदेखेको भएर अनौठो लागेको हो,’ क्षेत्रीले भने, ‘मुस्ताङमा सडक सञ्जाल सहज भएको छ । मानिसको आवतजावत बढेकाले हिमचितुवा देख्ने अवसर मिलेको हो ।’


पहिला मान्छेको आउजाउ पातलो हुन्थ्यो र देख्न मुश्किल पथ्र्यो । अहिले सर्वसाधारणको हात हातमा मोबाइल भएकाले फोटो र भिडियो खिच्न सक्ने अवसर मिलेको हिउँ चितुवा विज्ञ क्षेत्रीको भनाइ छ । ‘पहिला पहिला फोटो खिच्न मौवाइल हुदैनथ्यो, हिमचितुवा देखेँ भन्दा कसैले पत्याउदैनथे,’ उनी भन्छन्, ‘अहिले फोटो र भिडियो नै प्रमाण भएकाले हिउँ चितुवाको सूचना बाहिर आएको हो ।’


हिउँ चितुवाले बासस्थानबाट कहिलेकाँही लामो दूरीको यात्रा पनि तय गर्ने उनी बताउँछन् । यो डुल्दै जाँदा केही तलसम्म पनि झर्न सक्ने उनले औंल्याए । ‘हिउँ चितुवाले बाटो बिराउदा तल झर्न सक्छन्, कहिलेकाँही आहार पछ्याउँदै गर्दा पनि बस्ती नजिकसम्म आईपुग्न सक्छन्,’ हिउँ चितुवा विज्ञ क्षेत्रीले थपे, ‘यसको बासस्थान र मानव बस्तीको उचाइ पनि त्यहाँ ३ हजार मिटरको रेसियोमा छ, आहारको खोजीमा हिउँ चितुवाले गोठैमा पसेर पनि पशु, चौपाया क्षति गर्न सक्छ ।’


नाउर खोलामा पानी खान झर्दा पछ्याउँदै हिमचितुवा बस्ती नजिक झर्न पनि सक्ने उनको आकलन छ । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा हिउँ चितुवा र मानवबिचको द्वन्द्व बढेको छ । यसबाट यहाँका पशुपालक पीडित बन्ने गरेका छन् । मुस्ताङमा हिउँ चितुवा खर्क र गोठमै पसेर पशुचौपाय खाइदिँदा यहाँको परम्परागत पशुपालन पेशा नै संकटमा पर्न थालेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया