‘रवीन्द्र अहिलेको परिवेशले खोजेको नेता’

रवीन्द्र जयन्तीको सन्दर्भमा भएको कार्यक्रममा ४१ युनिट रगत संकलन

समाधान संवाददाता २०८१ वैशाख २३ गते १२:४८

पोखरा ।
दिवंगत नेता रवीन्द्र अधिकारीको ५५ औं जन्मजयन्तीको सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले शनिबार स्मृति रवीन्द्र विषयक परिसम्बाद गरेको छ । रवीन्द्रको जन्म जयन्तीको सन्दर्भमा भएको खुला रक्तदानमा ४१ युनिट रगत संकलन भएको छ ।


कार्यक्रमका प्रमुख वक्ता नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा श्रीकान्त खतिवडाले रवीन्द्र असाध्यै राष्टवादी सोंच र भावना भएको नेताको रुपमा टिप्पणी गरे । रवीन्द्रको राष्ट्रवादी सोंच र भावना सबै राजनीतिक पार्टीको नीति र कार्यक्रम भन्दा एक तह माथि भएको उनले उल्लेख गरे ।

‘कालापानीबाट भारतीय सेना हटाउन गरेको मार्चपासदेखि सीमा अतिक्रमणलाई रोक्न कालापानी देखि मानेभञ्याङसम्म अभियान चलाएका थिए,’ उनले भने, ‘हरेक लोकतान्त्रिक आन्दोलनलाई उचाईमा पु¥याउन र आन्दोलनलाई संस्थागत गर्न उनको योगदान छ ।’

Advertisement


उनले रवीन्द्र विचार नीति र सिद्धान्तलाई सही ढंगले कार्यान्वयन गर्न सक्ने व्यक्ति भएको जानकारी दिए । उपाध्यक्ष खतिवडाले पोखराको पर्यटन प्रवद्र्धनमा रवीन्द्रको योगदान रहेको बताए । रवीन्द्रको पहलमा पोखरामा पर्यटन सम्बन्धी राष्ट्रिय गोष्ठीले पारित गरेको १७ बुंदे घोषणापत्रको आधारमा सन २०१६मा नेपालको राष्ट्रिय पर्यटन नीति बनेको उनले जानकारी दिए ।


पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले समाजवाद निर्माणमा संरचनागत समस्यालाई हल गर्नको लागि रवीन्द्रसँग ठोस योजना नभएको बताए । रवीन्द्रको हरेक व्यक्तिसँग सम्पर्क र समन्वय पक्ष राम्रो भएको उल्लेख गर्दै उनले रवीन्द्र राजनीतिमा आग्रह र पूर्वाग्रह नभएको व्यक्ति भएको जानकारी दिए । पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा शान्ता खत्रीले नेपालको राजनीतिलाई सभ्य र सुसंस्कृत बनाउन रवीद्रले भूमिका खेलेको बताइन् । देउसी भैलो खेलेर पुस्तकालय निर्माण, प्रौढ शिक्षादेखि हुँदा खाने परिवारका छोरा छोरीलाई शैक्षिक सहयोग गरेको उल्लेख गरिन् ।

Advertisement


नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले रवीन्द्र एमालेको मात्र नभएर सबैको साझा व्यक्ति भएको बताए । उनले रवीन्द्रको योगदानलाई कदर गर्न कास्कीमा शिक्षा, स्वास्थ्य, कृषि पर्यटनको विकासको लागि साझा अभ्यासको सुरुवात गर्न प्रस्ताव गरे । उनले रवीन्द्रले राजनीतिलाई प्रेम, सद्भाव, संस्कार र संस्कृतिसँग जोड्ने प्रयास गरेको चर्चा गरे ।

नेकपा (एमाले ) जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले अहिलेको राजनीतिक परिवेशले रवीन्द्र अधिकारी जस्ता नेता खोजेको बताए । आशा, भरोसा र सिर्जनशील व्यक्तित्व रवीन्द्र आलोचना गर्ने ठाउँ नभएको प्रशंसाको पात्र भएको उनको दाबी छ ।


रवीन्द्र स्मृति प्रतिष्ठानकी अध्यक्ष विद्या भट्टराई, महासचिव पोखराका मेयर धनराज आचार्य, सचिव रश्मि आचार्य, सदस्य कालीदास शर्मा तिमिल्सिना, सदस्य अर्जुन अधिकारी लगायतले नेपालको राजनीतिमा रवीन्द्र अधिकारीको योगदानको चर्चा गरेका थिए ।

२०२६ वैशाख २२गते कास्कीको भरतपोखरीमा जन्मेका अधिकारीको तेह्रथुमको आठराई चुहानडाँडास्थित थुम्कीडाँडामा बन्न लागेको विमानस्थलको अवलोकन गरी पाथीभाराको दर्शन गरेर फर्कने क्रममा २०७५ फागुन १५ गते ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्ने खोलामा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका थिए ।

तपाईको प्रतिक्रिया