सम्पादकीय—डढेलोले आक्रान्त मुलुक

समाधान संवाददाता २०८१ वैशाख २३ गते १२:५०

२ सातादेखि देशका हजार ठाउँभन्दा बढीमा डढेलो सल्किएको छ । डढेलोले वन खाएको छ । वनको डढेलो गाउँवस्त छिरेर घरगोठ खरानी बनाएको छ । मानिसहरुले पनि ज्यान गुमाएका छन् । दसकयताकै सबैभन्दा ठूलो डढेलो यसपालि लागेको भनेर विज्ञहरुले भनिरहेका छन् । तर डढेलो नियन्त्रणका लागि सरकारी पहलचाहिँ शून्य बराबर छ ।

वनमा आगो त्यसै लाग्दैन । लगाइन्छ । प्राकृतिक रुपमा वन डढेलो लागेको दुर्लभमात्रै घटना हुन्छन् । अध्ययनले त्यसै भन्छ । नेपालमा वन सम्बन्धी कानुन निकै कडा छ । एउटा रुख काटे पनि जेल जानुपर्छ । तर वनका हजारौं लाखौं रुख र वन्यजन्तु सबैको सर्वनाश गर्दा पनि कोही जेल गएको सुनिन्न । अर्थात डढेलो लगाउनेमाथि कारबाही गर्न हाम्रो राज्य संयन्त्र चुकेको छ ।


बर्सेनि आगलागीका घटना हुन्छन् । निभाउन सामान्य प्रयास हुन्छ । तर आधुनिक तवरले अग्नि नियन्त्रणको प्रयास हुँदैन । सरकारले डढेलो नियन्त्रणलाई प्राथमिकता दिएकै छैन । सामान्य र स्वाभाविक रुपमा लिन्छ । तर यसले बर्सेनि लाखौं वनस्पति, वन्यजन्तु र कीटपतंगको ज्यान लिने डढेलो नियन्त्रणको दीर्घकालीन योजना नै चाहिएको छ । यन्त्र र उपकरणको बन्दोबस्ती गर्न जरुरी छ ।

Advertisement

नेपाली सेना, प्रहरीलाई डढेलो नियन्त्रणकै लागि हेलिकोप्टरसम्म दिनुपर्छ सरकारले । अग्ला डाँडाकाँडा र कुनकन्दरामा लागेको आगो हेलिकोप्टरबाट पानी खन्याएर निभाउनुपर्ने हुन्छ । घर गाउँमा स्याउलाको भरले आगो निभाउने चलन छ । तर, जंगलको ठूलो डढेलो सानो प्रयासले निभ्दैन । प्राकृतिक रुपमा पानी परे निभ्यो नत्र त्यत्तिकै हुँदा नै अहिलेको विनास व्यहोर्नुपरेको हो भन्ने सरकारले बुझोस् ।


बाढी र पहिरोलाई विपदका रुपमा लिइएजस्तै डढेलोलाई पनि विपदका रुपमा लिनुपर्छ र जोखिम न्यूनीकरण गर्नुपर्छ भन्ने ध्यान सरकारले अहिलेसम्म पुर्‍याउन सकेन । त्यसैको परिणाम बर्सेनि देशका ठूलाठूला जंगल नासिएका छन् । नयाँ घाँस र झार उम्रन्छ भन्ने भ्रमले वनजंगलमा त्यत्तिकै पनि आगो लगाइदिने चलन छ ।

Advertisement

खोरिया फाँड्ने चलन हराए पनि नयाँ घाँसपातका लागि भनेर आगो लगाउने प्रवृत्ति कम नभएको हुँदा सचेतना अभियान चाहिन्छ । कि डढेलो हानिकारक छ, लगाउनु हुँदैन । डढेलोले वनै खायो । वन खानु भनेको नेपालको धन खानु हो । प्रकृतिको विनास गर्नु हो । र, त्यसको प्रत्यक्ष मार मानव जीवनलाई पर्नु हो भन्ने बुझाउन जरुरी छ ।

तपाईको प्रतिक्रिया