मजदुरलाई पाेखरा महानगरको सम्मान

समाधान संवाददाता २०८१ वैशाख २३ गते १३:०३

पोखरा ।
पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ मजदुरलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोग अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले विश्व मजदूर दिवसको सन्दर्भ पारेर उनीहरुलाई सम्मानित गरेको हो ।


यसरी सम्मानित हुनेमा श्रमिक तथा स्वरोजगार मजदुर रहेको महानगरको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए । महानगरले मंगली परियार, कमलबहादुर पुलामी, धनप्रसाद उपाध्याय, रीता कार्की, विष्णुमाया श्रेष्ठ, मुक्ति पाण्डे, तीर्थराज मगर, चन्द्रप्रसाद गुरुङ, चन्द्रकला रानाभाट, इन्द्रबहादुर गुरुङ, दिलबहादुर तुलाधर, महिमा शाही, प्रेमबहादुर कुमाल, दलबहादुर मगर लगायतलाई सम्मान गरेको हो ।


विभिन्न ट्रेड युनियनको सिफारिसमा उनीहरुलाई सम्मान गरिएको हो । श्रम र श्रमिकको सम्मान गर्ने परिपाटीको विकास गर्न यस्तो अभियान थालिएको सहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछाने बताउँछन् । उनले महानगरले मजदुरको तथ्यांक संकलन, उनीहरुलाई न्यूनतम ज्याला र रोजगारीको ग्यारेन्टीका योजना बुनेको पनि सुनाए ।

Advertisement


मजदुर दिवसकै सन्दर्भमा महानगरले शुक्रबार औद्योगिक श्रम सम्बन्ध सुधारमा पालिकाको भूमिका विषयक अन्तरक्रिया पनि आयोजना गर्‍यो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले मजदुरको अधिकार रक्षाका लागि निजी क्षेत्र गम्भीर रहेको बताए । न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धता लगायत विषयमा यसअघि नै सहमति कायम भएको बताउँदै उनले मजदुर र रोजगारदाताबीच असल सम्बन्ध जरुरी रहेकोमा जोड दिए ।


सामाजिक सुरक्षा कोषमा आवद्धतामा केही समस्या देखिएको र कतिपय अवस्थामा मजदुर नै त्यसमा सहभागी हुन नखोजेको उनको भनाइ छ । पोखरा च्याम्बर अफ कमर्स अध्यक्ष यामनाथ तिमिल्सिनाले मजदुरलाई तोकिएको पारिश्रमिक दिनु रोजगारदाता र आफ्नो जिम्मेवारी पूरा गर्नु मजदुरको कर्तव्य भएको बताए ।

Advertisement


संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी संयोजक मुरारी शर्माले मजदुरले अझै पनि राज्यबाट तोकिएको ज्याला पाउन नसकेको बताए । उनले मजदुरको सामाजिक सुरक्षाप्रति संवेदनशील हुन निजी क्षेत्रसँग आग्रह गरे ।


जिफन्ट गण्डकी अध्यक्ष रुद्र खत्रीले स्थानीय तहले औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने अभियान थाल्नुपर्ने बताए । उनले स्वास्थ्य संस्थादेखि उद्योगसम्मले मजदुरलाई तोकेको पारिश्रमिक नदिएको जिकिर गरे ।


अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी अध्यक्ष टंक पौडेलले उद्योग प्रतिष्ठानले तोकेको पारिश्रमिक नदिँदा जनशक्ति विदेशिएको दाबी गरे । पृथ्वी राजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले मजदुरको पेशागत सुरक्षालाई राज्य र रोजगारदाता दुवैले केन्द्रमा राख्नुपर्ने बताए ।


ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष कमल सापकोटाले सामाजिक सुरक्षा कोषको आवद्धता तथा तोकिएको पारिश्रमिक दिनबाट उम्कनको लागि उद्योग/प्रतिष्ठानले ‘आउट सोर्सिङ’को बाटो रोजेकोमा आपत्ति जनाए । एकीकृत ट्रेड युनियन महासंघ गण्डकी अध्यक्ष तीलबहादुर विश्वकर्माले महिलालाई कम ज्याला दिने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखे ।

तपाईको प्रतिक्रिया