उद्यमशिलता विकास तालिम सकियो

समाधान संवाददाता २०८१ वैशाख २३ गते २०:४८

पोखरा ।
युएसएआइडी जल जंगलको आयोजनामा भएको प्राकृतिक स्रोतमा आधारित उद्यमीलाई उद्यमशिलता विकास तालिम आइतबार सकिएको छ । ३ दिनसम्म चलेको तालिमको उद्देश्य उद्यमशिलता विकास गर्ने, प्राकृतिक स्रोतको उपयोग गरी आम्दानी गर्ने र वातावरण तथा जैविक विविधता संरक्षणमा जोड दिनु रहेको छ ।


तालिममा गण्डकी प्रदेशका पालिका १९ जना र मधेस प्रदेशका १ जना गरी २० सहभागी थिए । युएसएआइडी जल जंगलका उद्यम विकास अधिकृत निरबहादुर विक र उद्यम विकास सहजकर्ता सुस्ता गाउँपालिकाका संगिता थापा, विनय त्रिवेणी गाउँपालिकाका सुनिता गुरुङले तालिम सहजीकरण गरेका हुन् ।


तालिम माछापालन, मौरीपालन, दुनाटपरी, जैविक मल, वेल जुस, पटेरका हस्तकला सामग्री बनाउने साना तथा घरेलु उद्यमी लक्षित भएको विकले बताए ।

Advertisement


विनय जैविक मल उद्यमी मीना पौडेलले उद्योग सञ्चालन गर्न प्राविधिक ज्ञान र सिप चाहिने बताइन् । उद्योगलाई सफल बनाउन लगानी, जनशक्ति कच्चा पदार्थका साथै प्राविधिक ज्ञान र सिप पनि आवश्यक पर्ने उनको भनाइ छ ।


विनय सामुदायिक वन उपभोक्ता समुहका २१४ घरधुरी मिलेर २०७३ मा मल उद्योग स्थापना गरेका थिए । एक वर्षमै प्राविधिक ज्ञान सिप नहुँदा उद्योग बन्द भयो । तर पालिकाको सहयोगमा गत वर्ष देखि उद्योगले मल उत्पादन गरिरहेको छ । उद्योगमा दैनिक ८० जनाले रोजगारी पाएको पौडेलले जानकारी दिइन् ।

Advertisement


उनका अनुसार वार्षिक १२१३ टन मल उत्पादन गरेर १२१५ लाख आम्दानी गर्ने उद्योगको योजना छ । १२ टन मल बिक्री लागि तयार भइसकेको छ भने मल किलोको २५ रुपैयाँ देखि सुरु हुन्छ ।


‘खेर जाने कच्चा पदार्थबाट आम्दानी गर्न सकिएको छ । गाईभैंसीको मलको विकल्पमा रहेको छ । यसको प्रयोगबाट उत्पादन भएका खानेकुरा स्वास्थ्यको लागि फाइदाजनक छ साथै उत्पादन पनि बढाउँछ ।’ उनले भनिन् ।


तनहुँको म्याग्दे २ मा रहेको माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफुल प्रशोधन केन्द्र ३ वर्षदेखि बन्द छ । आगामी असोजदेखि केन्द्रलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको केन्द्रका सञ्चालक म्याग्दे ३ का विष्णुकुमार श्रेष्ठले बताए ।


जामुनेका ६ वटा सामुदायिक वनका १३ सय परिवार मिलेर २०७१ मा केन्द्र स्थापना गरेका थिए । कोरोना महामारीको समयमा उत्पादन बिक्री नहुँदा घाटा भएपछि केन्द्र बन्द गर्नुपरेको श्रेष्ठले विवशता सुनाए ।


उनी भन्छन्, ‘वार्षीक २ लाख सम्म आम्दानी भइरहेको थिया तर कोरोनाको समयमा उत्पादन बिक्री भएन, नोक्सानी व्यहोर्नुपर्याे, कच्चा पदार्थ संकलन गर्न पनि सकिएन त्यसैले केन्द्र बन्द भयो । अब फेरी सञ्चालनमा ल्याउन लागेका छौं ।’


बजारको समस्या, कच्चा पदार्थ तथा उत्पादन ढुवानीमा समस्या, औजार उपकरण प्रयाप्त नभएको उनको गुनासो छ । पालिकाले सहयोग गर्नुपर्ने उनले सुनाए ।


वेलको जुसले स्मरण शक्ति बढाउने, पाचन शक्ति बढाउने, मुटु रोग, पायल्स जस्ता विभिन्न रोगबाट बचाउने तथा सबैका लागि फाइदाजन रहेको श्रेष्ठको भनाइ छ ।


तालिमले व्यवसायिक योजना बनाउन, कच्चा पदार्थको संकलन कसरी गर्ने भन्ने तथा उत्पादन कसरी बजार सम्म लैजाने र ग्राहकसँग कसरी समन्वय गर्ने तरिका सिकेको सहभागीहरुले बताएका थिए । खेर जाने कच्चा पदार्थ संकलन गर्न पनि वन नीति नियमले प्रक्रिया झन्झटिलो रहेको उनीहरुको गुनासो छ । सरकारले प्रक्रिया सहज बनाउनुपर्ने उनीहरुको माग छ ।

तपाईको प्रतिक्रिया