नेपाली संगीत चिनाउने ‘रेशम फिरिरी…

बुद्धि परियार गीतकार हुन् तर गीत संकलक भन्नु अन्याय

प्रमिला कुँवर २०८१ वैशाख २४ गते १०:२३

पोखरा ।
कमै संगीतकर्मी हुन्छन् जो मरणोपरान्त पनि सम्झिरहने । जसका कालजयी सिर्जना वर्षाैँ वर्षाैँसम्म गुन्जिरहने । लोकगायक, लोकसर्जक, नर्तक एवं नृत्य प्रशिक्षण बुद्धि परियार हुन् यसको उदाहरण । २००७ मा पोखरा बैदाममा जन्मिएका बुद्धि देश तथा विदेशमा परिचित नाम हो । उनका गीत नेपालमा मात्र नभई विदेशमा पनि लोकप्रिय छन् । उनको ‘रेशम फिरिरी’ गीतले नेपाल र नेपाली संगीतलाई चिनाएको छ ।


उनै बुद्धिले संसार छाडेको २१ वर्ष पुगेको छ । आइतबार उनको २१ औं स्मृति दिवस थियो । त्यही अवसरमा बुद्धि परियार स्मृति ग्रन्थ लोकार्पण गरिएको छ । समानान्तर साहित्यिक मञ्च पोखराले ग्रन्थ प्रकाशन गरेको हो ।


परियार गीतकार भए पनि उनलाई गीतको संकलक भनेर राज्यले अन्याय गरेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव कवि तीर्थ श्रेष्ठले तर्क गरे । राज्यले उनलाई स्रष्टा घोषणा गरी उनका गीतलाई रोयल्टी दिनुपर्ने उनको भनाइ थियो । स्मृति ग्रन्थ लोकार्पणमा सबै समुदायको उपस्थिति नहुँदा विभेद गरिएको महसुस भएको श्रेष्ठले बताए ।

Advertisement


‘अरु संस्थाले पहिलै सम्झनुपर्ने हो तर कसैले चासो नदिनु उहाँप्रतिको विभेद,’ श्रेष्ठले भने, ‘समानान्तर साहित्यिक मञ्चले २१ वर्षपछि भए पनि स्मृतिग्रन्थ प्रकाशन गरेर सम्मान गरेकोमा मञ्चलाई धन्यवाद ।’


संगीतकर्मी राम नेपालीले रेशम फिरिरी गीतको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका परियारलाई राष्ट्रले उचित सम्मान नदिएको गुनासो गरे । परियारले जति नै मिठो गीत गाए पनि, उनका सिर्जनालाई समाजले ताली बजाए पनि, सामाजिक र जातीय विभेद खेप्नुपरेको नेपालीले सुनाए । परियारका कलालाई जोगाइराख्न नसकेकोमा दुख लागेको उनले बताए ।

Advertisement


गीत गाउनकै लागि पोखराबाट काठमाडौं पैदल जानु ठूलो संघर्ष भएको परियारका छोरा धमेन्द्र सेवान भन्छन् । बुद्धिले गीतसंगीतमा पुर्‍याएको योगदानको स्मरण गर्न आवश्यक रहेको बताउँदै स्मृति ग्रन्थले सहयोग पुर्‍याएको सेवानको भनाइ थियो । सेवान पनि गायक हुन् ।


‘बुवा (बुद्धि)ले गीत संगीत क्षेत्रका लागि गर्नुभएका काम गर्व गर्न लायक छन् । सर्जकले के गरे भन्दा पनि के र्सिजना गरे भन्ने कुरालाई प्राथमिकता दिनुपर्छ । उहाँका सिर्जनालाई रिमेक गर्दा जस नदिँदा मन दुख्छ,’ उनले भने ।


परियार सेवा समाज कास्कीका अध्यक्ष किसन परियार, कलाकार हरिदेवी कोइराला, ग्लोबल कलिजियट विद्यालयका संस्थापक पदमराज ढकाल, कार्यक्रमका संयोजक विश्वराज रसाइली, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विक लगायतले नेपाली गीतसंगीत क्षेत्रलाई उचाइमा पु¥याउन बुद्धि परियारको ठूलो योगदान रहेको बताए ।


‘नेपाली तथा विदेशी पर्यटकको मुखमा झुन्डिरहने गीतका सर्जक उहाँ (बुद्धि)को योगदान अविस्मरणीय छ,’ उनीहरुले भने ‘राष्ट्रले त्यस अनुसारको मूल्यांकन गरेको छैन । अधुरा उहाँका काम पुरा गर्ने हाम्रो जिम्मेवारी हो ।’


कार्यक्रममा सविना सुनामको समूहले रेशम फिरिरी र सेवानले हेर्दा राम्रो माछापुच्छ्रे गीत गाएका थिए । परियारको २०६० सालमा ५३ वर्षको उमेरमा निधन भएको हो । उनी ६ महिनाको हुँदा आमाको र ९ वर्षको हुँदा उनका बुवा निधन भएको थियो । परियारको बाल्यकाल निकै संर्घषमा बितेको थियो ।


उनले प्रयाग संगीत समिति इलाहवादबाट कत्थक नृत्यमा जुनियर डिप्लोमाको कक्षा लिएका थिए । राजा वीरेन्द्रले उनको नाच मन पराएर २०२९ सालमा उनलाई नेपाल प्रहरीमा प्रवेश गराएका थिए । उनी त्यहाँ असईसम्म भएर काम गरे । महेन्द्र पुलिस क्लबमा नृत्य निर्देशक भएर पनि काम गरे ।


उनका हेर्दा राम्रो माछापुच्छ्रे, पोखराको बजार, उनका डरलाग्दो रैछ बहिनी थानकोटको भीर, यो मायाले नलाउने बुझ भयो, सरर यो मन धरर, साइको घर कहाँ हो कहाँ, हेर न जुल्फी मेरो लगायत गीत कालजयी गीतका रुपमा परिचित छन् ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया