पामेका अनधिकृत संरचनामा महानगरको डोजर

समाधान संवाददाता २०८१ वैशाख २४ गते ११:४६

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत बनाइका टहरामा डोजर लगाइएको छ । त्यहाँ रहेका प्रेमबहादुर नेपाली र नारायणबहादुर परियारका अस्थायी टहरा महानगरीय प्रहरी बलले हटाइदिएको हो ।


मादी गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा प्रेमबहादुर नेपाली र कास्कीकोट २४ बस्ने नारायणप्रसाद परियारले गएको कात्तिक १२ गते ४ महिना विद्यालयको जग्गा खाली गर्ने शर्तनामा गरेका थिए । सोही सर्तनामा बमोजिम उनीहरूलाई विद्यालयको जग्गा खाली गर्न पटक पटक आग्रह गरेको भए पनि अटेर गरेका थिए ।


कालिका माध्यमिक विद्यालयको कित्त नम्बर १८५४ मा अस्थायी टहरा निर्माण गरेको पाइएपछि उनीहरूलाई त्यहाँबाट हटाई पाऊँ भनी विद्यालयले दिएको निवेदनका आधारमा आइतबार हटाइएको महानगरीय प्रहरी बलका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए ।

Advertisement


यसैबिच पामे–चालिसे बडहरे सिसौउडी रत्नेटार हुँदै राउसेओडार कनेक्टिभिटी रोडको पामेचोकमा सडकको मापदण्ड विपरीत निर्माण गरिएको संरचनासमेत हटाइएको छ । प्रहरी प्रमुख थापाका अनुसार पामेचोक स्थित पामे बचत तथा ऋण सहकारी संस्था रहेको भवन र रामकुमारी सुवेदीको अतिक्रमित संरचना हटाइएको छ ।

सडकको केन्द्र भागबाट ७ मिटरको मापदण्ड नछोडी संरचना निर्माण गर्दा सडकको मापदण्ड नपुगेका कारण रामकुमारी र कृष्णप्रसादका संरचना हटाइएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया