सम्पादकीय—उत्पादनमुलक उद्योगलाई प्राथमिकतामा राख

समाधान संवाददाता २०८१ वैशाख २४ गते १२:०३

कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ प्रयोग वा प्रशोधन गरेर मालवस्तु उत्पादन गर्ने उत्पादनमूलक उद्योगलाई सरकारले प्राथमिकतामा राखेको छ । नेपालमा रोजगारी सिर्जना गर्न, आर्यातलाई प्रतिस्थापन गरी निर्यात बढाउन ती उद्योगको योगदान छ । ती उद्योगको उत्पादन बढाउँदै जादा रोजगारी बढाउन र व्यापार सन्तुलन कायम गर्न सहयोग पुग्छ ।


निजी क्षेत्र आकर्षित गर्न नसक्दा नेपालको अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान हरेक वर्ष घट्दो क्रममा देखिएको छ । पछिल्लो पाँच वर्षमा वार्षिक उत्पादनमूलक उद्योगको वृद्धिदर ०.५५ प्रतिशत पुगे पनि अर्थतन्त्रमा योगदान भने घटेको छ । आर्थिक वर्ष २०७५/७६ को अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान ५.६ प्रतिशत थियो । भने चालु वर्षमा अनुमान गरिएको ५७ खर्ब चार अर्बको अर्थतन्त्र (प्रचलित मूल्यमा)मा उत्पादनमूलक उद्योगको योगदान जम्मा ४.८७ प्रतिशतमा सीमित छ । त्यसैले कतिपय क्षेत्रमा लागत घटाउने तथा लगानीकर्तालाई आकर्षित गर्नमा ध्यान दिन पर्ने देखिन्छ ।


नेपालमा उत्पादनमूलक उद्योग बढ्दा धेरै समस्याहरू एकै पटक समाधान हुन्छ । विशेषगरी रोजगारी सिर्जनामा यसको योगदान ठूलो हुन्छ । धेरै मात्रामा रोजगारी सिर्जना उत्पादनमूलक उद्योगले गर्न सक्छन् । त्यस्तै व्यापार घाटा घटाउन, विदेशी मुद्राको सञ्चिती बढाउन, आर्थिक साख बढाउन पनि उत्पादनमूलक उद्योगले सहयोग गर्ने गर्छन् । उत्पादनमूलक उद्योगमा लगानीकर्ताको आकर्षण बढउनु पर्छ । जसको कारण उद्योगको हिस्सा बढ्न सक्छ । कतिपय क्षेत्रमा आकर्षण बढाउन सकिने आधार भएकोले वातावरण सिर्जना गर्नु पर्छ ।

Advertisement


कुनै पनि उद्योग विस्तार गर्नु आफैँमा ठूलो चुनौती बन्दै गएको छ । निजी क्षेत्रले उद्योग खोलेर पनि अपेक्षित नाफा लिन सकेको छैन । एकातिर लगानीमैत्री वातावरण छैन, अर्कोतर्फ उद्योग खोलेर लागत अनुसारको प्रतिफल हासिल गर्ने अवस्था छैन । सुशासन नदेखिनु, सरकारप्रतिको विश्वास बढ्न नसक्नु र सरकारी नीतिको स्थिरता नहुनु उद्योगीहरू आकर्षिक नहुनका मुख्य कारण हुन् । कमजोर पूर्वाधार र अस्थिर नीति नेतृत्वको असर उत्पादनमूलक उद्योगमा परेको छ । जग्गा, बाटो, ढल, पानी र विद्युत जस्ता विषय सरकारसँग जोडिन्छ । यी विषय सहज हुँदा औद्योगिक वातावरण बनाउन सहयोग पुग्छ ।


नेपाली उद्योगमा उत्पादन लागत बढी छ । प्रतिस्पर्धा गर्न सहज छैन । तर कतिपय क्षेत्रमा तुलनात्मक रूपमा कम लागतमा उत्पादन गर्न सकिन्छ । यी विषय पहिचान गर्न आवश्यक छ । तयारी वस्तु र कच्चापदार्थ बीचको भन्सार अन्तर गरेर, सस्तो दरमा विद्युत उपलब्ध गराएर, उत्पादनलाई प्रोत्साहित गर्ने गरी श्रम नीतिहरू परिवर्तन गरेर पनि उद्योगीलाई प्रतिस्पर्धी बन्न सक्ने आधारहरू छन् । सरकार र सरकारको सेवाप्रति विश्वासलाई बढाएर उत्पादनमूलक क्षेत्रको उद्योगलाई प्रवद्र्धन गर्नु पर्छ । स्थानीय कच्चा पदार्थको प्रयोग गरेर उत्पादनमुलक उद्योग बढाउन सकेमा रोजगारी प्रवद्र्धन गर्न सकिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया