लोमान्थाङ दरबारमा तिजी पर्वको रौनक

तिजी पर्वको सेरोफेरोमा मात्रै ४७२ जना विदेशी पर्यटक उपल्लो मुस्ताङमा

सुन्दरकुमार थकाली २०८१ वैशाख २४ गते १२:४६
तस्बिर : उदय तिमिल्सिना

जोमसोम ।
मौलिक कला, संस्कृति र अभूतपूर्व मौलिकता भरिएको उपल्लो मुस्ताङ विश्व समुदायमा निकै चर्चित पर्यटकीय गन्तव्य हो । यही चर्चित गन्तव्यलाई विश्व समुदाय माझ चिनाउन यहाँको तिब्बती कला संस्कृति र मौलिकतासँग मिल्दो उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृतिक चिनारी मुख्य हुन् ।


उपल्लो मुस्ताङ अर्थात् लोछोदिन समुदायहरुको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी आइतबारदेखि पर्खालले घेरिएको उपल्लो मुस्ताङको लोमान्थाङ दरबार परिसरमा शुभारम्भ भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । तिब्बती कला संस्कृति र मौलिकतासँग दुरुस्तै मेल खाने उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृतिक पर्व ३ दिनसम्म चल्ने अध्यक्ष गुरुङको भनाइ छ ।


तिजी पर्व उपल्लो मुस्ताङमा १५ औं शताब्दीदेखि सुरुवात भएको बताइन्छ । यो पर्व उपल्लो मुस्ताङको दुई पालिकामा बसोबास गर्ने नागरिकहरूको सामूहिक धार्मिक पूजा हो । उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई लोछोदिन क्षेत्र भन्ने गरिन्छ । पर्वलाई पछिल्लो समय धार्मिक पर्यटनसँग जोड्न त्यहाँका स्थानीय तह,आमा समूह, युवा क्लब र पर्यटन व्यवसायी लागिपरेका छन् ।

Advertisement


उपल्लो मुस्ताङीको सबै भन्दा ठूलो र महत्वपूर्ण पर्वको रूपमा तिजी पर्वलाई लिने गरिएको छ । तिजी पर्व दोर्जी स्युनु अर्थात् बज्रकिलाको जीवन कथामा आधारित छ । तिजी पर्वमा मुस्ताङी राजपरिवारको दीर्घायुको कामना गर्दै गरिन्छ । लामा तथा भिक्षु भिक्षुणीहरुमा सामूहिक मन्त्र उच्चारण गरी विश्वशान्तिको कामना पनि गरिन्छ । यो पर्व मुस्ताङी सांस्कृतिक राजारानी बस्ने ऐतिहासिक दरबार र दरबार परिसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै गरेको लोमान्थाङका स्थानीय छेवाङ रिन्जिन गुरुङले जानकारी दिए ।


तिजी पर्वलाई स्थानीय भाषामा तेन्जी भनिन्छ । लोछोदिन क्षेत्रमा बसोबास गर्ने समुदायहरुले तिजी पर्वको पहिलो दिन संयुक्त रूपमा धार्मिक पूजाआजा गर्दै खाँदा चढाएर आर्शीवाद ग्रहण गरे । तिजी पर्वमा छोदे गुम्बाका लामा र भिक्षुहरुले धार्मिक पूजाआजाका साथै विभिन्न देवीदेवताको मुकुट पहिरिएर धार्मिक नृत्य प्रस्तुत गरेका छन् ।

Advertisement


सदिंयौ वर्ष पुरानो तिजी पर्वमा मुख्यतया मुस्ताङी राजाको वंशज नहराओस्, सधै भरिलो होस्, शान्ति छाओस्, कतै अनिष्ठ नहोस् र अन्नबाली सप्रियोस् भन्ने मनोकामना राख्दै उपल्लो मुस्ताङका नागरिकले लोमान्थाङमा भेला भएर धार्मिक पूजाआजा गर्ने प्रचलन रहेको पूर्व सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए ।


तिजी पर्वमा मुस्ताङी सांस्कृतिक युवराज धिण्डुप झिग्मे पलवर बिष्ट दम्पतीको उपस्थितिमा लोमान्थाङ दरबार परिसरमा शुभारम्भ गरिएको उनले बताए । तिजी पर्वमा लामाहरुको विभिन्न कलात्मक भेषभुषासहितको नृत्य देखाईने पूर्व सांसद बिष्टको भनाइ छ ।


तिजी पर्व शुभारम्भको पहिलो दिन ऐतिहासिक मुस्ताङी राजाको लोमान्थाङ दरबारबाट दुई तला अग्लो थान्का बाहिर निकालेर सार्वजनिक गरिएको छ । दरबार निकालिएको थान्का बर्सेनि एकपटक सार्वजनिक गर्ने धार्मिक चलन छ ।


पछिल्लो समय बेनी—जोमसोम—कोरला सडक सहज भएसँगै तिजी पर्व अवलोकन गर्न यस वर्ष पनि सयौं आन्तरिक तथा बाह्य पर्यटक उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका छन् । तिजी पर्वमा विदेशी पर्यटकले निकै चाख लगाएर हेर्छन् । तिजी पर्व अवलोकन लागि गत वर्ष ४४२ जना विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका थिए । यस वर्ष तिजी पर्वको सेरोफेरोमा मात्रै ४७२ जना विदेशी पर्यटक उपल्लो मुस्ताङ प्रस्थान गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ । जसमध्ये १५ जना सार्क र ४५७ जना विदेशी पर्यटक छन् ।


विदेशी पर्यटकका लागि सबैभन्दा महँगो पर्यटकीय गन्तव्यको रूपमा उपल्लो मुस्ताङ चिनिन्छ । स्वदेशी पर्यटकबाहेक यहाँ पुग्न विदेशी पर्यटकलाई नेपाल सरकार अध्यागमन विभागले १० दिनको प्रवेशआज्ञा स्वरुप ५ सय डलर रोयल्टी उठाउँछ । यो क्षेत्र निषेधित तथा नियन्त्रित क्षेत्र अन्तर्गत पर्ने भएकाले भिआइपी पर्यटकबाहेक सामान्य पर्यटक माथि उक्लिन सक्तैनन् । यस वर्षको तिजी पर्व अवलोकन लागि लोमान्थाङ पुगेको पर्यटकको एक साताको तथ्यांक हेर्दा सरकारले ३ करोड १३ लाख ८८ हजार राजश्व संकलन गरेको छ ।


यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङमा तिजी पर्व अवलोकनका लागि बाह्य पर्यटकका साथसाथै आन्तरिक पर्यटकको समेत लर्को लागेको छ । पृथक भूगोल, तिब्बती कला संस्कृति र ऐतिहासिक धार्मिक तथा पुरातात्त्विक सम्पदा भएकै कारण उपल्लो मुस्ताङमा बर्सेनि घुम्नै पर्ने पर्यटकीय गन्तव्यको सूचीमा पर्दै आइरहेको छ ।


तिजी पर्व शुभारम्भ हुनुअघि लोमान्थाङमा सरसफाइ, वृक्षारोपणका साथै आवश्यक तयारी गरिएको थियो । लोमान्थाङमा हुने तिजी पर्वलाई त्यहाँका स्थानीय तह, आमा समूह, युवा क्लब, सुरक्षा निकाय र गाउँ समाजले आपसमा सहकार्य गर्दै सामाजिक योगदान दिएका छन् ।


यसअघि बर्सेनि मनाइने उपल्लो मुस्ताङको लोमान्थाङमा मनाइने धार्मिक तथा सांस्कृतिक पर्व अवलोकनका लागि लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले पर्यटक तथा सर्वसाधारणलाई उपल्लो मुस्ताङ आउन सार्वजनिक अनुरोध गरेको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया