गौसेवाका लागि सञ्चालित महायज्ञमा ४६ लाख बचत

समाधान संवाददाता २०८१ वैशाख २४ गते १६:३५

पोखरा ।
राष्ट्रिय परोपकार महासंघ नेपालले सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरेको छ । महायज्ञमा ७० लाख ७ हजार ७६७ रुपैयाँ दान संकलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुशकुमार कार्कीले जानकारी दिए ।

महायज्ञ सञ्चालनका क्रममा २३ लाख ७२ हजार ७२७ रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । महायज्ञमा ४६ लाख ३५ हजार ४० रुपैयाँ बचत भएको छ । संकलित दान रकममा १ लाख ६६ हजार ६६६ रुपैयाँ बराबरको चेक नसाटिएको आयोजकले जनाएको छ ।


पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गोकुलधामलाई पोखराको नयाँ पर्यटकीय गन्तव्य तथा अध्ययन अवलोकनको एक उत्कृष्ट एवं पवित्रस्थलका रूपमा विकास गर्ने गरी सहयोग गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताए ।

Advertisement

भौतिक विकासका अलवा सामाजिक, शैक्षिक, सांस्कृतिक, वातावरणीय र मानव संसाधनको विकाससमेत अपरिहार्य रहेको उल्लेख गर्दै उनले परम्परागत संस्कार र संस्कृतिको समेत रक्षा गर्नुपर्ने बताए ।


कुनै पनि पशुचौपाय अनुत्पादक भएपछि त्यसलाई सडकमा छोड्ने कार्य दण्डनीय हुने भन्दै त्यस्तो कानुन विपरीत र अमानवीय कार्य नगर्न नगराउन उनले आग्रहसमेत गरे । फोहोरमैला र छाडा पशु चौपायाको व्यवस्थापन चुनौतीपूर्ण भइरहेका बेला महानगरको सहयोग तथा राष्ट्रिय परोपकार महासंघको व्यवस्थापनमा गोकुलधाम सञ्चालनमा आएपछि पोखराको सहरी सौन्दर्यकरण र सडक सुरक्षामा महत्वपूर्ण सहयोग पुगेको प्रमुख आचार्यले बताए ।

Advertisement

महानगरको सहयोग तथा राष्ट्रिय परोपकार महासंघको व्यवस्थापनमा गौशाला सञ्चालन


पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष बोधबहादुर कार्कीले धार्मिक रूपमा महत्व बोकेकी गौ माताको सेवाका लागि अब टाढाको तीर्थ जानुनपर्ने विचार राखे । वर्षौँदेखि फोहोर फ्याँक्ने स्थलका रूपमा परिचित पोखरा १४ सुव्यवस्थित गौशाला सञ्चालनले पवित्र स्थलका रूपमा विकसित हुँदै गएको उनले बताए ।


राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष एवं पुष्करिणी परोपकार गोकुलधामका परिकल्पनाकार भागवत आदिशास्त्र बाचक युवा पण्डित कमलनयन गौतमले बोलीमा मात्र सीमित गौ सेवाको अभियानलाई व्यवहारिक बनाउने उद्देश्यले गोकुल धामको प्रारम्भ गरिएको बताए ।

‘यो समग्र रूपमा पोखराको अर्को एउटा नयाँ गन्तव्य स्थल बन्नेछ, यो केवल गोठमात्र होइन, नजरले हेर्‍यो भने त गोठ हुन्छ, तर, सूक्ष्म आँखा खोल्यौ भने साँच्चीकै गौशाला हुन्छ,’ गौतमले भने, ‘यो छाडा छोडिएका पशुहरूलाई थुन्ने कान्जी हाउस होइन यो, कान्जी हाउस पहिला थियो, अब यो पवित्र गौशालामा परिणत भइसकेको छ, यहाँ गौ माताको रेखदेख र सुसार हुन्छ ।’ गोबर र गौमुत्रको प्रशोधनको प्रक्रिया सुरु गरिएको र जसको उपयोग मार्फत दशौँ रोपनी बन्जर जमिनलाई अर्गानिक उत्पादनको थलोका रूपमा विकास गरिएको उनले बताए ।


आफूहरू गौशाला परिसरमा ३६५ प्रजातिका डाले घाँसका बिरुवाहरू रोप्ने अभियानमा रहेको युवा पण्डित गौतमले बताए । गो बस र मानव सभ्यता एकै ठाउँमा रमाउन सक्ने प्राणी हुन भन्ने कुरा जगलाई स्मरण गराउन यो अभियानको थालनी गर्न लागिएको उनले बताए । गौशालाले विशुद्ध गौमातासँग जोडिएर गर्न सकिने उपचारका पद्धतिहरू, अध्ययनका विद्याहरू, प्रशोधन पश्चात् मानवका लागि आवश्यक सामाग्रीहरू उत्पादन गर्दै आगामी दिनमा यसलाई आत्मनिर्भर बनाउने दिशा तर्फ लैजाने योजना समेत गौतमले सुनाए ।


गौमाताको महिमा अपरम्पार रहेको बताउँदै गौतमले विष पान गरेर पनि अमृत प्रदान गर्ने गौहरूको आश्रय स्थल गौशालालाई जीवन्त पाठशालाका रूपमा चित्रण गरे । पोखरा आउने पर्यटकहरू, भ्रमणका लागि आउने विभिन्न स्वदेशी तथा विदेशी समूहहरू, विद्यार्थीहरू सबैसबैलाई गौशालासम्म पुग्ने अवस्थाको सिर्जना गरिने उनले बताए ।

राष्ट्रिय परोपकार महासंघको १६ औँ वार्षिक उत्सवका अवसरमा गत पुस २६ गतेदेखि पुष्करिणी परोपकार गोकुलधाम पोखरा १४, बाच्छिबुडुवा (वात्सायन क्षेत्र) मा माघ ४ गतेसम्म सञ्चालित ज्ञान महायज्ञको ३५ हजार बढी दानदाता तथा भक्तजनहरूले कथा श्रवण गरेका थिए । महायज्ञबाट संकलित रकम गौसेवा तथा गौशाला व्यवस्थापनमा खर्च गरिनेछ । हाल गौशालामा ३५० बढी गाईवस्तुहरु संरक्षित छन् ।


यसैबिच राष्ट्रिय परोपकार महासंघले नयाँ वर्षको भित्तेपात्रो समेत विमोचन गरेको छ । नगर प्रमुख आचार्य, महासंघका संस्थापक भागवत भास्कर युवा पण्डित गौतम र महासंघका जिल्ला अध्यक्ष जेबी कुँवर लगायतले भित्तेपात्रोको विमोचन गरेका हुन् । सो क्रममा विभिन्न अक्षयकोष दाताहरूलाई सम्मान समेत गरिएको छ ।


पोखरा महानगरपालिकाले महानगर क्षेत्रमा पशुपालन व्यवसाय गरेका व्यवसायी तथा घरमा पालिएका घरपालुवा पशुचौपायका धनीहरूलाई जथाभाबी रूपमा सडकमा पशुचौपाय नछोड्न आग्रह गरेको छ । अन्यथा सडकमा छोडिएका पशुचौपायहरुको पहिचान गरी सडकमा छोड्नेलाई आवश्यक कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया