लोकदोहोरी कलाकारबिच शुभकामना आदानप्रदान

समाधान संवाददाता २०८१ वैशाख २५ गते ११:५२

पोखरा ।
नयाँ वर्ष २०८१ को अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश कार्यसमितिले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा नयाँ वर्ष २०८१ को भित्तेपात्रोसमेत सार्वजनिक गरिएको छ । कार्यक्रममा सञ्जयले उक्त रकम प्रतिष्ठानलाई प्रदान गरे ।


कार्यक्रममा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले राज्यले कलाकारलाई धितो राखेर व्यापार गरेको आरोप लगाए । ‘कलाकारलाई चाहिँदा लगाउने, नचाहिदा थन्काउने गहना बनाउने होइन,’ उनले भने, ‘मुटुभित्र राख्नुपर्ने कलाकारलाई धितो राखेर व्यापार गर्ने काम गलत छ ।’


उनले कला, संस्कृतिको जगेर्ना गर्न पालिका तयार रहेको बताए । अध्यक्ष पौडेलले पालिकाले सांस्कृतिक महोत्सव गर्ने योजना सुनाए । उनले नवप्रतिभा र सिक्न आउने कलाकारलाई प्रोत्साहन गर्न सुझाव दिए ।

Advertisement


कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले अहिलेको सन्दर्भमा बिक्ने खालको गीत संगीत बनाउन नसके कलाकार टिक्न नसक्ने बताए । उनले प्रतिष्ठानलाई बलियो बनाउन सिर्जनात्मक र रचनात्मक कार्यक्रम गर्नुपर्ने सुझाव दिए । प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जीवन दाहालले आगामी भदौ महिनादेखि संस्थागत शुद्धिकरणमा लाग्ने जानकारी दिए ।


प्रतिष्ठान नेपालका अर्का सचिव घनश्याम रिजालले जिल्लालाई उत्कृष्ट बनाउने गरी काम गरे नेतृत्वको गौरव बढ्ने चर्चा गरे । प्रतिष्ठान नेपालका अर्का सचिव शंकरविरही गुरुङले कास्कीको ताङतिङमा बसेको केन्द्रीय कमिटीको बैठकले मर्यादाक्रम निर्धारण गरेको जानकारी दिए ।

Advertisement


कार्यक्रममा संस्थागत विकासमा योगदान पुर्‍याउने प्रतिष्ठान नेपाल गण्डकीका द्वितीय उपाध्यक्ष प्रेमराज अधिकारी, सहसचिव प्रकाश बराल, कोषाध्यक्ष कृष्ण सुवेदी, कार्यसमितिका सदस्यहरु रामप्रसाद ढकाल, अमित विश्वकर्मालाई प्रशंसापत्र वितरण गरियो ।


कार्यक्रममा प्रतिष्ठान नेपालका पूर्व उपमहासचिव चोलेन्द्र पौडेल, प्रतिष्ठान नेपाल गण्डकीका अध्यक्ष राजन कार्की, वरिष्ठ उपाध्यक्ष माया गुरुङ, सचिव ज्योति लोहनी लगायतले लोकदोहोरी क्षेत्रका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया