एमाले कास्कीका अगुवा कार्यकर्तालाई प्रशिक्षण

समाधान संवाददाता २०८१ वैशाख २५ गते १२:३०

पोखरा ।
नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले कास्कीका अगुवा कार्यकर्तालाई आइतबार प्रशिक्षण दिएको छ । प्रशिक्षणमा जिल्ला कमिटीका पदाधिकारी, कार्यसमितिका सदस्य, लेखा आयोगका पदाधिकारी तथा सदस्य, पालिका तथा इलाका कमिटीका अध्यक्षहरुको सहभागिता छ ।


कार्यक्रममा पार्टीका उपमहामहासचिव प्रदीप ज्ञवालीले समाजवादको आधार निर्माणका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको विकास, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टी पद्धति र कार्यकर्ताको नैतिक आचरण, स्थायी कमिटीका सदस्य थममाया थापाले पार्टी निर्माण सम्बन्धी दृष्टिकोण र पार्टी सदस्यहरुको काम कर्तव्य र अधिकार र शिक्षा तथा मानव स्रोत विकासका केन्द्रीय सदस्य के शर्माले दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकता विरुद्धको संघर्षमा पाटी कार्यकर्ताको भूमिका विषयमा प्रशिक्षण दिएको जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।


पार्टीका उपमहासचिव ज्ञवालीले एमालेलाई निर्णायक राजनीतिक शक्ति नबनाएसम्म समाजवादमा जाने आधार तयार नहुने दाबी गरे । २०६२÷०६३ सालको आन्दोलन र नयाँ संविधानको निर्माणपछि नेपाल आर्थिक समृद्धि र दिगो विकासको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै उनले समाजवाद उन्मुख अर्थतन्त्रको विकासको लागि पार्टीले भूमिका खेलेको बताए ।

Advertisement


एमालेको आर्थिक नीतिको सार सामाजिक न्यायसहितको विकास र समृद्धि भएको जानकारी दिर्दै ज्ञवालीले एमाले कमजोर हुँदा लोकतन्त्र र आर्थिक समृद्धिको एजेण्डा कमजोर हुने तर्क गरे । ‘समाजवादको आधार निर्माणको लागि एमालेको सरकारले भूमिका खेलेको छ । समाजवाद पार्टीको रणनीतिक लक्ष्य हो,’ उनले भने, ‘संविधानमा व्यवस्था भए अनुसारको मौलिक हक कार्यान्वयनका लागि १६ कानुन निर्माण, पालिका स्तरमा अस्पताल निर्माण। योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयन, स्वास्थ्य बिमा, जनता आवास लगायतका कार्यक्रम एमालेको अगुवाइमा सुरुआत भएको हो ।’


गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले वैचारिक र संगठनात्मक काम फितलो हुँदा पार्टी पद्धती नमान्ने परिपाटीको विकास भएको बताए । उनले पार्टी पद्धति अनुसार चलेमात्र समाजवादमा जाने आधार गर्न सकिने तर्क गरे । मुख्यमन्त्री अधिकारीले एमालेलाई राष्ट्रिय शक्ति बनाएर स्थीर सरकार बनाउन योजनाबद्ध ढंगले काम गर्ने उल्लेख गरे ।

Advertisement


कार्यक्रममा पार्टीका स्थायी समितिका सदस्य थममाया थापाले कम्युनिस्ट पार्टीलाई निरन्तर रुपमा नैतिक आचरणगत रुपमा स्वच्छ, पारदर्शी र जनमुखी बनाइ राख्न चुनौतीपूर्ण भएको जानकारी दिइन् । पार्टीको अधिवेशनमा नेतृत्वमा जान मरिहत्ते गर्ने उल्लेख गर्दै उनले जिम्मेवारीमा पुगेपछि तदनुरुपको कार्यभार पुरा नगर्ने परिपाटीको विकास भएको बताइन् । शिक्षा तथा मानव स्रोत विभागका केन्द्रीय सदस्य के शर्माले सैद्धान्तिक र राजनीतिक विचलनले अवसरवादको हाबी हुने बताए ।

तपाईको प्रतिक्रिया