२ दिनभित्र आयोजनाहरूको प्रतिवेदन पेश गर्न मुख्यमन्त्रीको निर्देशन

समाधान संवाददाता २०८१ वैशाख २७ गते १०:२६

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा सञ्चालित हरेक आयोजनाको विस्तृत प्रगति विवरण २ दिनभित्र पेश गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।


‘प्रदेशमा सञ्चालित हरेक आयोजनाहरुको वित्तीय प्रगति, भौतिक प्रगति, समस्या र समाधानका उपाय सूत्रमा लेखेर १ दिनभित्र सबैले प्रतिवेदन बुझाउनुहोला,’ मुख्यमन्त्री अधिकारीले भने ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार सरोकारवालासँग छलफल कार्यक्रमको आयोजना गरेर मुख्यमन्त्री अधिकारीले उक्त निर्देशन दिएका हुन् । उनले विकास निर्माणसँग सम्बन्धित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि एवं निर्माण व्यवसायीसँग सामूहिक छलफल गरेर काम गर्नेक्रममा देखिएका समस्या समाधान गर्न प्रदेश सरकार सदैव तयार भएको सुनाए । ‘हालसम्मको कार्यप्रगतिमा सन्तुष्ट हुने ठाउँ छैन,’ उनले भने ।

Advertisement


स्रोत सुनिश्चितता नभएको ठाउँमा ठेक्का लगाउँदा भुक्तानीमा समस्या भएकाले यस्तो काम रोक्न सम्बन्धित मन्त्रालयका सचिवलाई अडान लिन आग्रह गरे । ‘स्रोत सुनिश्चत नभएको ठाउँमा ठेक्का नलगाउन सचिवले अडान लिनुपर्छ, ठेक्का भएपछि रकम छैन भन्ने अवस्था आउन दिनु हुन्न,’ उनले भने । स्रोत सुनिश्चित भएर ठेक्का लगाएपछि काम सम्पन्न नगर्ने छुट निर्माण व्यवसायीलाई नहुने भन्दै कामको गुणस्तरमा सम्झौता नगर्ने उनले बताए ।

स्रोत सुनिश्चित भएर ठेक्का लगाएपछि काम सम्पन्न नगर्ने छुट निर्माण व्यवसायीलाई नहुने

Advertisement


भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङले बजेटको व्यवस्था नगरी आयोजना काम हुँदा समस्या भएको बताए । रकम भुक्तानी नहुँदा दिनहुँजसो निर्माण व्यवसायी गुनासो लिएर आफ्नो मन्त्रालयमा आउने गरेको उनको भनाइ थियो । ‘रकम भुक्तानी नहुँदा निर्माण व्यवसायी समस्यामा परेका छन्, म कहाँ दिनपिच्छै आउँछन्, काम गरेपछि समयमा भुक्तानी दिनुपर्छ,’ उनले भने ।


प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले यो आर्थिक वर्षका लागि अब २ महिनामात्र समय रहेको तर काम आधाभन्दा बढी रहेको भन्दै कामको गति बढाउन आग्रह गरिन् । ‘हामी आर्थिक वर्षको अन्त्यमा छौं, हामीसँग काम गर्ने समय २ महिनामात्र बाँकी छ । गर्ने काम धेरैं छ, आधा काम मात्र भएको छ अबको प्रगति देखाउन खटिएर काम गर्नुपर्नेछ,’ उनले भनिन् ।


विकासका आयोजनाको काममा प्रदेश सरकारबाट गर्नुपर्ने कामको लागि तयार रहेको बताउँदै मुख्य सचिव बस्नेतले योजना कार्यान्वयनमा समन्यवको अभाव देखिएको बताइन्


कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले तोकिएको योजना समयमानै सम्पन्न गर्नुपर्नेमा जोड दिए । ‘यो वा त्यो बहानामा हामीलाई तोकिएको योजना कार्यक्रम अथवा प्राथमिकता टार्ने, ढिलो गर्ने, पन्छाउने छुट छैन, कार्यालय प्रुखको बैठकमा पनि प्रगति अपडेट गरिरहेको हुन्छौं,’ उनले भने ।


पृथ्वी राजमार्ग अन्तर्गत पृथ्वीचोक—जामुने सडक, तालचोक—बेगनासताल, बेगनास—भोर्लेटार, बेगनासताल—भन्ज्याङ र भन्ज्याङ—तालबेसी खण्ड, स्याङखुदी—भन्ज्याङ सडक, स्याङखुदी आनन्दज्योति, छोरेपाटन—मट्टिखान, घाँटीछिना—पञ्चासे, वीरेठाँटी—घान्द्रुक, मध्यपहाडी राजमार्ग अन्तर्गतको सडक, काहुँखोला—काउरे—ताङतिङ, भन्ज्याङ—आनन्दज्योति, काहुँखोला—सिक्लेस लगायत क्षेत्रका योजनाहरुको अवस्था, समस्या र समाधानका लागि अपनाउनुपर्ने कार्यबारे छलफल केन्द्रित थियो ।

तपाईको प्रतिक्रिया