सम्पादकीय—वायु प्रदूषणबाट सिकौं

समाधान संवाददाता २०८१ वैशाख २७ गते १०:२९

राजनीतिक कारणले उथलपुथल भइरहने नेपालमा यसपालि थप अर्को जटिल समस्या थपिन पुगइो । केही दिनयता काठमाडौं, पोखरा लगायत देशका प्रमुख सहरमा बढेको वायु प्रदूषणका कारण जनजीवन कष्टकर बन्न बन्यो । पछिल्लो दुई/तीन दिनदेखि यो समस्या कम भएको छ । अस्वस्थ राजनीतिको मारमा परेर मुलुक नै तरल अवस्थामा पुगेका बेलामा केही दिन सबैको ध्यान वायु प्रदूषणले तान्यो । एक किलोमिटर पर पनि नदेखिने, बाहिर निस्कदा आँखा पोल्ने, हवाई उडानसमेत नहुने अवस्था आयो ।

अहिले विश्वमा प्रदूषित सहरको तेस्रो नम्बरमा रहनुले पनि राजधानी काठमाडौं लगायतका ठाउँको वातावरणीय अवस्था कस्तो होला भन्ने अनुमान गर्न सकिन्छ । तीन वर्षअघि पनि यस्तै खालको समस्या देखा परेपछि सरकारले मुलुकभरका विद्यालय बन्द गर्नुपरेको थियो । वातावरणमा हुने प्रदूषण सबै रोक्ने हाम्रो सामथ्र्यबाट मात्र सम्भव छैन तर हामीले त्यतातर्फ प्रयास नै गरेका छैनौँ ।


अहिले नेपालमा वायु प्रदूषणको मात्रा बढेर अस्वस्थकर वायुमा परिणत भएको छ । यसले फोक्सोको क्यान्सरसमेत गराउन सक्ने भएकाले सजग रहन चिकित्सकहरुले सुझाव दिएका छन् । केही दिनयता अस्वस्थकर वायुका कारण मानिसमा विभिन्न किसिमका रोगका लक्ष्यण देखा परेका छन् । वायु प्रदूषण बढ्नुको कारण पत्ता लगाएर त्यसको न्यूनीकरण गर्नु जरुरी देखिएको छ । अहिले जंगलमा लागेको वा लगाइएको आगोबाट निस्किएको धुवाँका कारण वायु प्रदूषण बढ्दो अवस्थामा पुगेको हो ।

Advertisement

देशैभर निर्माणाधीन सडकबाट निस्किएको धूलो फैलिएर वायुलाई धुमिल बनाइदिएपछि अहिले यहाँको वायु प्रदूषण झन् जटिल बन्दै गयो । लामो समय पानी नपर्दा जमिनमा जताततै धूलो उड्ने र वायुमण्डलमा पुगेर तहका रुपमा बसेको विज्ञहरु बताउँछन् । पोखरा र काठमाडौंको वायुको गुणस्तर सूचकांक दुई सयभन्दा माथि पुगेको थियो । जुन अस्वस्थकर मानिन्छ ।


वायु प्रदूषण हुँदा आँखा, फोक्सो र छालामा असर पर्नुका साथै श्वासप्रश्वासका बिरामी र बालबालिका जोखिममा पर्ने खतरमा हुन्छ । मुलुकभर फैलिएको अस्वस्थकर वायु प्रदूषणबाट जोगिन सकेसम्म घरभित्रै बस्ने, घरबाहिर निस्कनै परे मास्क प्रयोग गर्ने, चश्मा लगाउने र पूरै शरीर ढाकिने कपडा लगाएर हिँड्न आग्रह गर्ने गरिएको छ । वातावरण बिग्रँदै गए पनि यसको रोकथामका लागि अपनाउनुपर्ने उपायका बारेमा राज्य बेखबरजस्तै रहेको देखिन्छ । डढेलो नियन्त्रण गर्नेतर्फ संघ, प्रदेश र स्थानीय सरकार उदासीन हुँदा वायु प्रदूषण फैलँदो अवस्थामा छ ।

Advertisement

धूलो नियन्त्रणका लागि सडक निर्माणको कामलाई व्यवस्थित गर्न नियामक निकायलाई ध्यानाकर्षण गराउनुपर्ने देखिन्छ । छिमेकी मुलुकमा रहेका कलकारखानाबाट नेपालमा आउन सक्ने प्रदूषित वायु नियन्त्रणतर्फ पहल गर्ने र नेपालमै पनि वायु प्रदूषण हुन नदिने उपाय अवलम्बन गर्नु जरुरी छ । यसपालि वर्षा सुरु भएपछि समस्या कम हुने र फेरि अर्काे वर्षमात्र यो समस्याबारे छलफल हुने अवस्था नहोस् । यस्तो वातावरणीय संकट टार्न अहिल्यैबाट आवश्यक रणनीति अवलम्बन गर्न ढिलो गर्नु हुन्न ।

तपाईको प्रतिक्रिया