मुस्ताङमा हिउँ चितुवा सर्वेक्षण सुरु

सुन्दरकुमार थकाली २०८१ असार २६ गते ११:०९

जोमसोम ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)ले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने विभिन्न जिल्लामा दुर्लभ हिउँ चितुवाको संरक्षण कार्यअघि बढाएको छ ।

Advertisement


समुन्द्री सतहको ३ हजारदेखि ५ हजार मिटरको हिमाली वासस्थानमा रहने हिमालकी रानी हिउँ चितुवाको पछिल्लो अवस्थाको विस्तृत विवरण संकलन गर्न एनटिएनसी (एक्याप) ले हिउँ चितुवाको सर्वेक्षण कार्यलाई अघि बढाएको हो ।

मुस्ताङको ४ स्थानीय तहमा हिउँ चितुवाको विद्यमान अवस्था र हिउँ चितुवासँग सम्बन्धित विभिन्न क्रियाकलापको अनुसन्धान तथा सर्वेक्षणका लागि एनटिएनसी (एक्याप) मुस्ताङले अत्याधुनिक क्यामेरा राखिसकेको जनाएको छ ।


एक्याप मुस्ताङका वन अधिकृत र स्थानीय स्रोत व्यक्तिहरुको सहयोगमा दुर्लभ हिउँ चितुवाको भिडियो र तस्विर कैद गर्नका लागि मुस्ताङका विभिन्न स्थानमा क्यामेरा जडान गरिएको एक्याप मुस्ताङका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए ।

‘हामीले स्थानीय स्रोत व्यक्तिको सहयोगमा हिउँ चितुवाको गतिविधि हुन सक्ने स्थान पहिचान गरेर क्यामेरा जडान गरेका छौं,’ कार्यालय प्रमुख रेग्मीले भने, ‘४५ दिनसम्म हिउँ चितुवाको गतिविधि हुन सक्ने उच्च लेकमा सर्वेक्षणका लागि क्यामेरा राखेका हौं ।’

Advertisement


हिउँ चितुवाको सर्वेक्षण तथा हिउँ चितुवाको आहारा प्रजातिको सर्वेक्षणका लागि तथ्यांक संकलन गर्न क्यामेरा ट्यापिङ गरिएको एक्यापले उल्लेख गरेको हो । कार्यालय प्रमुख रेग्मीका अनुसार लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्रको साङ्ता क्षेत्रमा हिउँ चितुवाको सर्वेक्षणका लागि डेटा संकलन गर्न क्यामेरा जडान गरिएको हो ।

हिउँ चितुवाबारे तथ्य र तथ्यांक पत्ता लगाउन प्रत्येक ५ वर्ग किलोमिटरमा क्यामेरासहितका डिभाइस जडान

यसका अतिरिक्त वारागुङ मुक्ति क्षेत्रको कागबेनी आसपास, तिरी ताल क्षेत्र र घरपझोङ गाउँपालिकाको यारुझो भ्युटावर क्षेत्रमा हिउँ चितुवा सर्वेक्षणका लागि क्यामेरा जडान गरिएको एक्याप मुस्ताङले उल्लेख गरेको छ ।


हिउँ चितुवाका सम्पूर्ण गतिविधि र हिउँ चितुवाको आहारा प्रजातिको वस्तुगत अवस्था पत्ता लगाउन प्रत्येक ५ वर्गा किलोमिटर क्षेत्रफलमा एक क्यामेरासहितको डिभाइस जडान गरिएको छ । एक्यापका अनुसार लोमान्थाङमा हिउँ चितुवा सर्वेक्षणका लागि १५ वटा ग्रिड, लोघेकर दामोदरकुण्डमा १६ वटा ग्रिड र साङ्ता क्षेत्रमा १२ वटा ग्रिडमा वैज्ञानिक पद्धति अपनाएर अत्याधुनिक क्यामेरा र डिभाइस जडान गरिएको कार्यालय प्रमुख प्रमोदराज रेग्मीको भनाइ छ ।

अन्य स्थानमा पनि आवश्यकता र औचित्यका आधारमा हिउँ चितुवा सर्वेक्षणका लागि क्यामेरा जडान गरिएको कार्यालय प्रमुख रेग्मीले सुनाए ।


मुस्ताङमा यसअघि सामान्य अनुसन्धानका लागि हिउँ चितुवाको गतिविधि पत्ता लगाउन क्यामेरा ट्यापिङ गरिएको भए पनि यस पटक बृहत्त रुपमा हिउँचितुवाको सर्वेक्षणका लागि डेटा संकलन गर्न ठूलो संख्यामा क्यामेरा ट्यापिङ गरिएको एक्याप मुस्ताङले जनाएको छ । एनटिएनसीले मुस्ताङमा हिउँ चितुवा सर्वेक्षणका लागि ट्यापिङ गरिएको सम्पूर्ण तस्बिर र भिडियोमा कैद भएको डेटालाई हिउँ चितुवा विज्ञहरुको प्राविधिक सहयोग मूल्यांकन गरी यसको प्रतिवेदन तयार गर्ने जनाएको छ ।


जलवायु परिवर्तनका कारण पारिस्थितिक प्रणालीमा ठूलो प्रभाव पार्ने दुर्लभ हिउँ चितुवाको विद्यमान अवस्था र हिउँ चितुवाको आहारा प्रजाति लगायतका बिषयमा डेटा अनुसन्धानपछि ठोस अवस्था पत्ता लगाउन सघाउने जनाइएको छ ।


एनटिएनसीले यसअघि अन्नपूर्ण सरक्षण क्षेत्र अन्तर्गत मनाङमा हिउँ चितुवाको सर्वेक्षणका लागि क्यामेरा ट्यापिङ गरेको थियो । एक्याप मुस्ताङले मनाङपछि मुस्ताङमा हिउँ चितुवा संर्वेक्षेण गर्न क्यामेरा ट्यापिङ गरेको बताएको छ ।


पछिल्लो समय हिमालकी रानी दुर्लभ हिउँ चितुवा विभिन्न कारणले सडक तथा बस्तीमा झर्न थालेको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा घाँसको आहाराको अभाव हुँदा हिउँ चितुवाको आहारा नाउर बस्ती र पाखोमा झर्न थालेका छन् । हिउँ चितुवा आहार नाउरलाई पछ्याउदै वा गन्तव्य पहिल्याउन नसकेर बस्ती नजिक झरेको हुन सक्ने कतिपय हिउँ चितुवा विज्ञ बताउँछन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया