रेडक्रस कास्कीलाई गोर्खा वेलफेयरको सहयोग
८० त्रिपाल, १५ स्टेचर र २ आल्मुनियम भर्याङ गरी ४ लाख १० हजारका सामग्री हस्तान्तरण

पोखरा ।
गोर्खा वेलफेयर ट्रस्ट नेपालले नेपाल रेडक्रस सोसाइटी कास्कीलाई शुक्रबार आपतकालीन राहत तथा उद्वार सामग्री प्रदान गरेको छ ।
उत्थानशील, खानेपानी तथा विपद तयारी कार्यक्रम अन्तर्गत ८० थान त्रिपाल, १५ थान स्टेचर र २ थान आल्मुनियम भ¥याङ गरी ४ लाख १० हजार बराबरका जिन्सी सामग्री हस्तान्तरण गरेको ट्रस्टका कार्यक्रम निर्देशक दीपककुमार श्रेष्ठले जानकारी दिए ।
उनले ट्रष्टले नेपाल सरकारको विपद् व्यवस्थापन नीति नियमको आधारमा रहेर विपद् व्यवस्थापनको काम गरेको जानकारी दिए । सन २०२१ को जुलाईदेखि नेपाल रेडक्रस सोसाइटीसँगको समन्वय र सहकार्यमा उत्थानशील खानेपानी तथा विपद् तयारीको काम गरेको उल्लेख गर्दै उनले पालिका तथा वडा तहमा विपद् व्यवस्थापन योजना तथा विपद् व्यवस्थापन समिति गठन गरेको बताए ।
देशका १४ पालिकामा खानेपानी, सरसफाई तथा विपद् पूर्व तयारी कार्यक्रम सञ्चालन गरेको चर्चा गर्दै उनले युकेएडको आर्थिक सहयोगमा ट्रस्टले विद्यालय निर्माण, खानेपानीका अलवा दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर चलाएको जनाए । उनले ट्रस्टले नेपालमा विगत ५४ वर्षदेखि व्यक्तिगत तथा सामुदायिक सहायता कार्यक्रम गरेको बताए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा पौडेलले निश्पक्ष, तटस्थ व्यवहार र मानवतावादी सांचका साथ रेडक्रसले सबै सहयोगी संस्थाको सहयोगमा विपद् व्यवस्थापनको काम गरेको जानकारी दिए । गोर्खा वेलफेयर ट्रस्ट र रेडक्रसले मानवीय र सामाजिक सेवाको क्षेत्रमा एउटै प्रकृतिका काम गरेको उल्लेख गर्दै उनले ट्रष्टबाट अहिलेसम्मको सवभन्दा ठुलो स्केलको सहयोग भएको बताए । उनले प्राप्त सहयोगबाट विपद्को सहजै रुपमा सामना गर्न सक्ने विश्वास जगाएको प्रतिक्रिया दिए ।
रेडक्रस सोसाइटी कास्की उपसभापति उर्मिला खड्काले राहत तथा उद्वार सामग्रीको अभाव भएको अवस्थामा ट्रष्टको सहयोग भएको बताइन् । उनले प्राप्त सहयोग मनसुनजन्य प्रभावितलाई तत्काल प्रदान गर्ने जनाइन् । कार्यक्रममा गोर्खा वेल्फेयर ट्रष्ट नेपाल खानेपानी, सरसफाइ तथा पूर्व तयारी कार्यक्रमका विपद् जोखिम न्यूनीकरण अधिकृत सुमेरु त्रिपाठी कास्की रेडक्रसलाई तीन प्रकारको राहत तथा उद्वार सामग्री प्रदान गरेको बताए ।
गोर्खा वेल्फेयर ट्रष्ट नेपालले विपद जोखिमका प्रतिकूल प्रभावलाई रोक्न र खोज उद्वारको कामलाई प्रभावकारी बनाउन देशका विभिन्न गाउँपालिका तथा नगरपालिकालाई खोज उद्वारसम्बन्धी तालिम, खोज उद्वार सामग्री वितरण तथा विपद प्रतिकार्य योजना निर्माणका लागि सघाउँदै आएको छ ।
यसैबीच, नेपाल रेडक्रस सोसाइटी कास्कीले अबिरल वर्षात्को कारण बाढी र पहिरो प्रभावितलाई राहत सहयोग गरेको छ । ‘निरन्तर मानवीय सेवा अभियान, जहाँ विपद त्यहाँ रेडक्रस’ भन्ने नाराका साथ पोखरा १९ पुरञ्चौरका ५ घर परिवारलाई खाद्यान्न, गैर खाद्य र नगदसहित पूरै प्याकेज सहित सहयोग गरेको कार्यालय प्रमुख मोहनसिंह खड्काले बताए ।
उनले इन्टरनेसनल फेलोसीप नेपाल (आइएनएफ) र असल छिमेकी नेपालसँगको सहकार्यमा पोखरा १९ का १८ परिवारलाई राहत वितरण गरेको जनाए । कास्कीको मादी गाउँपालिका १० सैमराङका मनसुनजन्य विपद्बाट प्रभावित १ परिवारलाई नगदसहित पूरै प्याकेज र ३ परिवारलाई आंशिक राहत प्रदान गरेको कास्की रेडक्रसले जनाएको छ ।
तपाईको प्रतिक्रिया