पोखरा १९ पुरुनचौरको पहिरो
पहिरो पन्छाउन छोरीज्वाइँ पनि आए, तर परिवारै पुरिए


(पुरन्चौरमा एकै परिवारका ६ सहित ७ कास्कीमा एकै दिन ११ जनाको मृत्यु)
१५ मिनेटअघिसम्म सँगै थियौं
‘के होला, कसो होला भनेर गफ गरेरै बसेका थियौं । अर्कोको घर जाँदा पनि कुरा काट्छन् । बरु पहिरो आयो भने भागौंला भनेर बसेका थियौं । नसुतौैं, ढोका पनि नलगाओ भन्ने सल्लाह भएको थियो । ज्वाइँ र सानी छोरीले छाता मागेर एक फन्को मारेर पहिरो जान्छ कि जाँदैन हेरेर आउनुभयो । १५÷२० मिनेट घुमेर आएपछि पहिरो खस्दैन भन्ने भयो । जेठाजुले पनि मर्ने भए हामी हिजो अस्ति नै मर्ने थियौं, भगवानले बचाएका छन्, हामीलाई भन्नुभएपछि म घरमा सुत्न आएँ ।’ —कोपिला परियार ।
पोखरा ।
स्याङ्जाबाट पोखरा आएर मन्टेसरीमा पढाउँथिन् कुलबहादुर परियारकी माइली छोरी २० वर्षीय प्रभा । विवाहपछि स्याङ्जाको अर्जुनचौपारी १ बस्दै आए पनि महिना दिनअघि उनी पोखरा आएकी थिइन् ।
प्रभाकी श्रीमान् २५ वर्षीय अस्मित परियार पोखराको नदीपुरमा किराना पसल चलाउँथे । बिहीबार बिहानै बुबा कुलबहादुरले प्रभालाई पहिरो घरसम्म आइपुगेको सुनाएका थिए । बुबाको फोनपछि श्रीमानसहित प्रभा सोही दिनै माइत पुगिन् ।
दिनभरि झरी परिरह्यो । वर्षा नरोकिएपछि उनीहरु त्यहाँ बास बसे । बेलुकी केही बेर रोकिएको पानी झमक्क हुँदा फेरि दर्किन थाल्यो । २ दिनदेखि नै घरमाथि पानीको मूल पलाएको थियो । सानोतिनो पहिरोसमेत खसेको थियो ।
कुलबहादुरको परिवारलाई सतर्क बनाउनेसँगै छोरीज्वाइँ पुगेर ढाडस दिएका थिए । कुलबहादुरका दाइ भोजबहादुरको घरसँगै जोडिएको छ । कुलबहादुरको घर तीन कोठे ढुंगा, माटोले बनेको र जस्ताले छाएको थियो । छिमेकीहरुले दुवै परिवारलाई सर्तक रहन दिउँसैदेखि सुझाएका थिए ।
छोरीज्वाइँ आएका बेला अन्यत्र कहाँ जाने भन्ने भएपछि घरमै ढोका नलगाई बस्ने सल्लाह भयो । रातभरि जाग्राम दुवै परिवारबिच सल्लाह भएको थियो । भोजबहादुर, उनकी श्रीमती कोपिला र कुलबहादुरकी ४३ वर्षीय श्रीमती मनकुमारी, आमा ८५ वर्षीय लक्षीमा, कान्छी छोरी १५ वर्षीय प्रशना, २० वर्षीय प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र १७ वर्षीय छोरा पवन घरमै बस्ने सल्लाह भयो ।
बेलुका १० बजेसम्म कुलबहादुरकै घरमा गफ गरेर बसेको कोपिलाले सुनाइन् । ‘के होला, कसो होला भनेर गफ गरेरै बसेका थियौं । अर्कोको घर जाँदा पनि कुरा काट्छन् । बरु पहिरो आयो भने भागौंला भनेर बसेका थियौं । नसुतौैं, ढोका पनि नलगाओ भन्ने सल्लाह भएको थियो,’ कोपिलाले भक्कानिँदै भनिन्, ‘ज्वाइँ र सानी छोरीले छाता मागेर एक फन्को मारेर पहिरो जान्छ कि जाँदैन हेरेर आउनुभयो । १५÷२० मिनेट घुमेर आएपछि पहिरो खस्दैन भन्ने भयो । जेठाजुले पनि मर्ने भए हामी हिजो अस्ति नै मर्ने थियौं, भगवानले बचाएका छन्, हामीलाई भन्नुभएपछि म घरमा सुत्न आएँ ।’
घर आएको १५÷२० मिनेटपछि पहिरो आएको उनले सुनाइन् । ‘म अर्को कोठामा सुतेको थिएँ । मोबाइल हेरेर बसेकी थिएँ । एकछिनपछि त ग्वार..ग्वार ग¥यो, म त भागेँ । धुँवा छुटेर आयो । निस्कँदा निस्कँदै ह्वात्तै पा¥यो । यो कोठामा सुतेको भए म पनि मर्ने रैछु,’ उनले भनिन् । घरमाथि पहिरो गएपछि देवरको घरसम्मै देखिएको उनले सुनाइन् । ‘पहिरो गएपछि गुहार मागियो । सबैजना आउनुभयो । छरछिमेक सबै आउनुभयो । त्यसपछि सबै जना पहिरो पन्छाउन लाग्यौं,’ कोपिलाले भनिन् । पहिरोले भोजबहादुर र कोपिला सुतेको कोठा केही नभए पनि उनको २ कोठे घरको एउटा कोठामा क्षति पु¥याएको थियो ।
कुलबहादुरको घर भने जग नदेखिने गरी पुरिएको छ । दुई दिनदेखि घरमाथि मुल पलाएको र रुख जरासहित आउँदा पहिरोमा आएको थियो । ‘उता घरमा सबै जना एउटा कोठमा बसेर गफ गरिरहनुभएको थियो । कान्छो छोरा हजुरआमालाई शौचालय पु¥याउन बाहिर निस्केको रैछ । उसको पनि आधा शरीर गडेको थियो । उसलाई पनि निकालियो । एकछिनमा प्रहरी आइपुग्यो,’ कोपिलाले भनिन्, ‘खति हुने बेलामा मति हुने रैनछ । बुद्धि रैन छ हाम्रो । त्यस्तो हुँदा पनि यहाँ बसियो । भगवानले मलाई बचाउनुभयो । सासू, देवर, ज्वाइँ, छोरीहरु मेरेपछि म बाँचेको सार भएन ।’ अब बाँचेर पनि कहिल्यै खुसी हुन नसक्ने गरी चोट लागेको उनको भनाइ छ । पहिरोमा परेका १७ वर्षीय पवन परियारलाई सकुशल उद्धार भएको छ । उनीबाहेक सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनासहितको टोली डोजरसहित उद्धारमा जुटेको थियो ।
घटनामा कुलबहादुरकै तल घर भएकी आफन्त ५६ वर्षकी राधिका परियारको पनि मृत्यु भएको छ । राधिकाका छोरा ३१ वर्षीय कुमार परियार पनि घाइते भएका छन् । उनको बायाँ हातमा चोट लागेको थियो । उनी उपचारपछि डिस्चार्ज भएका छन् ।
शुक्रबारै बिहान २ बजे पोखरा महानगरपालिका वडा ३२ चैनपुरस्थित बाह्रबिसेका पहिरो आउँदा २ जनाको मृत्यु भएको छ । ४० वर्षीय आरती ओझाको घरमा पहिरो आउँदा टिनले छाएको १ तले कच्ची घर भत्किएको छ । पहिरोबाट आरतीका छोरीद्वय १८ वर्षीय अनिता ओझा र ११ वर्षीय अनुस्का ओझाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी शर्माले घटनामा ९ वर्षीय प्रतीक सुवेदीको पनि सोही घरमा पुरिएर मृत्यु भएको जानकारी दिए । घटनामा घाइते आरतीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बिहान कास्कीको मादी गाउँपालिकामा पनि दुखद् घटना भएको छ । वडा नम्बर ११ तल्लो ताप्लेस्थितमा ८० वर्षीय माइतीकुमारी गुरुङको १ तले कच्ची घरमाथि पहिरो आएर पुरिँदा उनको मृत्यु भएको हो । माइतीका ५५ वर्षीय छोरा ओमबहादुरलाई भने सकुशल उद्धार गरिएको छ ।
एक्ला पवनलाई महानगरको अभिभावकत्व
अविरल वर्षाका कारण गएको पहिरोमा पोखरा १९, तल्लाकोटका १७ वर्षीय पवन परियारले एकैपटक आमाबुवासहित परिवारका ६ जना सदस्य गुमाएका छन् । विन्धेश्वरी माविमा कक्षा १० मा पढिरहेका उनलाई कमजोर स्वास्थ्य अवस्थाका बुवासँगै उनकी आमाले दुखजिलो गरेर पढाउँदै आएकी थिइन् ।
भारी वर्षसँगै आएको पहिरोले माइती बस्न आएकी दिदीभेनासँगै उनको सहारा बुवाआमा र अन्य नजिकका आफन्त सधैका लागि चँुडेर लगेको छ । वैदेशिक रोजगारीमा रहेकी उनकी दिदीबाहेक उनको परिवार पहिरोसँगै अस्ताएका छन् । पहिरोमा अभिभावक गुमाएका पवनको पोखरा महानगरपालिकाले अविभावकत्व ग्रहण गर्ने भएको छ । पोखरा १९ र १६ का वडाध्यक्ष तथा जनप्रतिनिधिहरु सहित घटनास्थमा पुगी पोखरा महानगर प्रमुख धनराज आचार्यले पवनको पढाइलेखाइ र गासवासको उचित प्रबन्ध महानगरले गर्ने प्रतिबद्धता गरे । उनले पोखरामा प्राकृतिक विपत्तिमा ज्यान गुमाएका प्रत्येक परिवारलाई ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने जानकारी समेत गराए ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया