१६५७ लाई डेंगु संक्रमण

समाधान संवाददाता २०८१ साउन ६ गते १९:५६

पोखरा ।
पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेंगु सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाले ७३ जिल्लाका १ हजार ६ सय ५७ जनामा डेंगुको सङ्क्रमण देखिएको जनाएको छ ।

Advertisement


मन्त्रालयले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्न सक्ने र डेंगुको सङ्क्रमण पनि बढ्न सक्ने आकलन गरिएको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको संक्रमण फैलिएको किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए ।
सबैभन्दा बढी काठमाडौँ जिल्लामा १ सय ९६ जनामा डेंगु देखिएको छ । त्यसपछि झापामा १ सय २८ र चितवनमा ९२ जनामा संक्रमण देखिएको छ । वर्षाका बेला संकलन गरिएको पानीमा लामखुट्टे रहने भन्दै त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको संक्रमण बढेको अनुमान गरिएको छ ।

डेंगु संक्रमितलाई झुलभित्र मात्र आराम गराउने वा सुताउने, संक्रमितको हेरचाहमा खटिँदा पूराबाहुला भएको लुगा लगाउने, लामखुट्टे धूप, कोइला व लिक्विड बाल्ने, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकाम जाली लगाउने र घर वरपर पानी जम्न नदिने जस्ता उपाय अपनाउनु अपनाउन जरुरी छ ।
डेंगु लागेका बिरामीमा उच्च ज्वरो आउने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, आँखाको गेडी बेस्सरी दुख्नु, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु तथा बान्ता हुनुजस्ता लक्षण देखा पर्दछन् । एक्कासि उच्च ज्वरो आउने, बान्तामा रगत देखापर्ने, नाक वा गिँजाबाट रगत, रक्तश्राव धेरै पेट दुखाइ, श्वासप्रश्वासमा समस्या र बेहोस हुनेजस्ता लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा जान मन्त्रालयले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया