हिमाली भेगमा बाली भित्र्याउने चटारो

फापर थन्क्याउँदै मुस्ताङी

सुन्दरकुमार थकाली २०८१ कार्तिक ४ गते १०:१५

जोमसोम । मुस्ताङका किसान यति बेला रैथाने बाली थन्क्याउन जुटेका छन् । रैथाने बाली अन्तर्गत फापर खेती मुस्ताङको लोकप्रिय खाद्यान्न हो ।

Advertisement

मुस्ताङका किसानलाई दसै पर्वसँगै रैथाने बाली फापर थन्क्याउने चटारो चलेको छ । घरायसी प्रयोजन, धार्मिक कर्म तथा विदेशका आफ्ना आफन्तजनलाई कोसेली पठाउने प्रयोजनका लागि मात्रै मुस्ताङका किसानले परम्परागत रैथाने फापर खेती पछ्याउँदै आएका छन् ।

जिल्लाका वारगुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा फापर खेती हुन्छ । बारीमा फापर पाकेपछि किसानलाई थन्क्याउने ध्याउन्नमा छन् । खेतबारीमा फापर छरेको औसत एक सय दिनमा फापर खेती भित्रयाउन योग्य हुन्छ । फापर काटेर लगातार ३ दिनसम्म डाठसँगै खेतबारीमा सुकाएपछि किसानले फापरको केस्रा निकाल्ने गर्छन ।

फापरको डाँठ परालका रुपमा जनावरलाई दिन सुकुटी पारेर राखिन्छ भने फापरको मीठो विभिन्न परिकार बनाएर खाने प्रचलन छ । परम्परागत लौरीले चुटेर फापरको केस्रा निकाल्ने पुरानो प्रचलन भए पनि पछिल्लो समय कतिपय किसानले नयाँ प्रविधि प्रयोग गरी फापरका केस्रा संकलन गर्छन । मुस्ताङका अधिकांश किसानले घरायसी प्रयोजनका लागि सीमित मात्रामा मात्रै फापर खेती गर्ने गरेका छन् ।

हिमाली जिल्ला मुस्ताङको तल्लो क्षेत्रदेखि माथिल्लो क्षेत्रमा स्थानीयले सदिंयौं देखि रैथाने फापर खेती लाउने गरेका छन् । मुस्ताङमा उत्पादन हुने उवा, जौ, मकै, आलु, बोडी, सिमी लगायत फापर खेती पनि यहाँको मुख्य ब्रान्ड बनेको छ । मुस्ताङको

Advertisement

तल्लो क्षेत्र वारागुङ मुक्तिक्षेत्र ३ छुसाङदेखि तल्लो क्षेत्र थासाङ ४ पैरोथाप्लासम्म फापर खेती गर्ने गरिन्छ ।
फापर खेती अन्तर्गत स्थानीयले मिठे फापर र तीते फापरको खेती गर्ने प्रचलन छ । समुन्द्री सतहको १ हजार ९ सय ८४ मिटरदेखि ३ हजार ९ सय मिटर उचाइका क्षेत्रमा फापर खेती गरिन्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा फापर खेती गरिने भए पनि मुस्ताङको चिसो हावापानीमा उत्पादन हुने रैथाने बाली फापरको परिकार स्वादिलो र पोषिलो हुन्छ ।

मीठे फापरको खेती तल्लो मुस्ताङमा असार र साउन महिनाको पहिलो हप्ता खेतबारी छरेर असोजको पहिलो र दोस्रो हप्तामा घरमा भित्र्याउने गरिन्छ । तीते फापर साउन र भदौ महिनामा खेतबारीमा छरेर कात्तिकको पहिलो हप्तादेखि घरमा भित्र्याउने गरिन्छ ।

उपल्लो मुस्ताङमा मीठे फापर वैशाखको पहिलो र दोस्रो हप्तामा खेतबारीका छरेर कात्तिकको पहिलो हप्तादेखि फापर भित्र्याउने काम सुरु हुन्छ । यहाँ तीते फापर बैशाखको पहिलो र दोस्रो हप्तामा खतबारीमा छरेर कात्तिक महिना अन्त्यतीर बाली भित्र्याउने गरिन्छ ।

फापर बाली अन्तर्गत मीठे फापरको झुप्पामा हलुका गुलाबी रंगका फूलहरु फुल्छन् भने फापरको केस्रा हलुका र कालो रंगको हुन्छ । तीते फापरको सेतो रंगको फूलहरु फल्छन् । फापरको केस्रालाई स्थानीय पानी घट्ट र मिलमा पिसेरमीठो तयार गरिन्छ । विषेशगरी फापरको पीठो बढी मात्रामा ढिंडो र रोटी खानका लागि उपयोग गर्ने गरिन्छ ।
मुस्ताङमा अन्य खाद्यबालीको तुलनामा कम झन्टिलो हुने गरे पनि यहाँका किसानले फापर खेतीलाई व्यावसायिक रुपमा अपनाएको पाइँदैन । हिमाली क्षेत्रको महत्वपूर्ण पहिचान बोकेको कृषि उपज फापरलाई यहाँका किसानले व्यक्तिगत घरायसी प्रयोजनमा मात्रै प्रयोग गर्ने गरेका छन् ।

घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले रैथाने खाद्य बाली प्रवद्र्धनका लागि स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले फापर मुस्ताङकै पहिचान भएकाले यसको संरक्षणमा स्थानीय सरकारको दायित्व रहने भएकैले सम्बन्धित किसानहरुलाई रैथाने बाली विविधकरण तालिम, अनुदान, प्रोत्साहन लगायतका कार्यक्रम गर्ने गरेको बताए ।

फापरका परिकारबाट २४ भन्दा बढी प्रकारका पौष्टिक तत्व प्राप्त हुने बताइन्छ । फापरको परिकारले रगतमा कोलेस्ट्रोल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउन सहयोग गर्ने विश्वास गरिन्छ । यसले मानिसको माटोपना घटाउने र उच्च रक्तचापका बिरामीलाई उपयोगी हुने जानकारहरु बताउँछन् ।

विशेष गरी फापरमा खनिज र विभिन्न प्रकारका भिटामिन पाइन्छन् । यसमा कार्बोहाइट्रेड, फाइबर, प्रोटिन, चिल्लो पदार्थ पनि हुन्छन् । मुस्ताङका किसानले फापर खेतीलाई अन्तरबालीका रुपमा समेत अपाउँदै आएका छन् ।

स्याउ बगैंचाभित्र किसानले फापर खेती गरेर दोहोरो फाइदा लिने गरेको पाइन्छ । घरपझोङका किसान निरज थकालीले रैथानी बाली फापर खेती सदिेंयौदेखि किसानले अपनाउँदै आएको बताए । फापरका परिकार पूजाआजा, घरायसी प्रयोजन र कोसेलीको रुपमा पठाउनकै लागि प्रयोग हुने गरेका छन् । मुस्ताङी रैथाने ब्रान्डको फापरको पीठो मुस्ताङमै मात्र नभई पोखरा र राजधानीका होटल र सपिङ मलहरुमा पनि बिक्री हुन्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया