
जोमसोम । उत्तर-दक्षिण ब्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी गण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । आयोजनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ को असार अन्तिमसम्ममा कोरला सडकको भौतिक प्रगति ८० प्रतिशत र वित्तिय प्रगति ७५ प्रतिशत पुगेको जनाइएको छ ।
राष्ट्रिय गौरवको कोरला सडक आयोजना २०७३ साल मंसिर ८ गते सुरु भई निर्माणकार्य अघि बढाइएको थियो । पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै मुस्ताङको उत्तरी कोरलानाकासम्मको २०२ किमी सडक स्तरोन्नति तथा पुलपुलेसा निर्माणका लागि कुल १० करोड बजेट विनियोजन गरिएको थियो । आयोजना सुरुवातीदेखि गत आर्थिक वर्षको असारसम्ममा ७ अर्ब बजेटको ठेक्का लगाइसकेको छ ।
नेपालको दक्षिणी भूभागलाई उत्तरी भूभागसँग हरेक मौसममा सवारी साधन चल्ने सडक सञ्जालबाट जोड्ने र सडक सञ्जालकै माध्यमबाट नेपाल चीन कोरलानाका संञ्चालनमा ल्याउने गरी राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजनाको परिकल्पना गरिएको हो ।
आयोजना प्रमुख धुव्र झाका अनुसार राष्ट्रिय गौरव २०२ किलोमिटर सडक निर्माणकार्य आर्थिक वर्ष २०७९÷०८० सम्ममा सम्पन्न गर्ने प्रक्षेपण गरिएको भएपनि सडक निर्माणमा देखिएका विभिन्न समस्या र प्राकृतिक विपद् लगायतका चुनौती रहेकाले आयोजनाको संशोधित सम्पन्न अवधि थप भएको बताए । उनले पछिल्लो आकंलन अनुसार आर्थिक वर्ष २०८२÷०८३ सम्ममा आयोजनाको काम सम्पन्न हुने उल्लेख गरे ।
त्यसो त कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले विनियोजित वार्षिक बजेट अनुसार ९० प्रतिशत वित्तिय र ९९ प्रतिशत भौतिक प्रगति हासिल गर्न सफल भएको हो । आयोजनाद्वारा निर्माण कम्पनीलाई जरिवाना लगाउने ,अल्टिमेटम दिने ,कालोसूचिमा राख्ने र निर्माण कम्पनीलाई काममा फर्किने पटकपटक ताकेता गरेकै कारण गतवर्ष आयोजनाको कामले उत्कृष्ट कार्यसम्पादनकै कारण सडक निर्माणको कामले गति लिएको थियो ।
कोरला सडकखण्ड अन्तर्गत मालढुंगादेखि कोरलासम्मको २०२ किलोमिटर दुरी मध्ये १०५ किलोमिटर कालोपत्रे र ९७ किलोमिटर ग्राभेल सडकको ठेक्का व्यवस्थापन गरिएको थियो । जसमध्ये आयोजना अन्तर्गत हालसम्म १०५ किमी कालोपत्रे सडक पुरा गर्नुपर्नेमा ४८ किलोटिमर अर्थात ४५ दशमलव ७१ प्रतिशत कालोपत्रे सम्पन्न गरेको छ । यस्तै, कोरलासडक अन्तर्गत ९७ किमी सडकमा ग्राभेल गर्नुपर्नेमा ७७ किलोमिटर सडकमा ग्रोभल पुरा भईसकेको छ । ग्राभेल सडक अन्तर्गत चराङ—छोसेर २५ किलोमिटर सडकको ग्राभेल सडक निर्माण पुरा हुन सकेको छैन । यहाँ निर्माण कम्पनीको चरम ढिलासुस्ती तथा प्रतिकुल मौसमका कारण चराङ—छोसेर ग्राभेल सडक सम्पन्न हुनमा ढिलाई भएको आयोजना प्रमुख धुव्र झाले उल्लेख गरे ।
कोरलानाका जोड्ने राष्ट्रिय गौरवको सडक अन्तर्गत मालुढंगा—कोरला सडकको २०२ किमी दुरीमा कुल २४ वटा पुलको आवश्यक पर्ने भएपनि हालसम्म १९ वटा पुलको ठेक्का व्यवथापन भएको जनाइएको छ । जसमध्ये ११ वटा पुल सम्पन्न भईसकेका छन् । ४ वटा पुल निर्माणाधीन छन् भने ४ वटा पुलको ठेक्का आयोजनाले ताडेको छ । यसैगरी आयोजनाले थप ५ वटा पुल निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी भइरहेको बताएको छ ।
कालोपत्रे स्तरसम्मकोस्तरोन्नति कार्यको लागि आयोजनाबाट मालढुंगादेखि मुस्ताङको कागबेनीसम्म ८ वटा ठेक्का मार्फत निर्माणकार्य सम्पन्न गर्नुपर्नेमा ३ वटा निर्माण कम्पनीले निर्माणकार्य सम्पन्न गरेको आयोजना प्रमुख धुव्र झाको भनाई छ । उनका अनुसार मालढुंगा कागबेनी ८ ठेक्का मध्ये ५ वटा निर्माणधिन अवस्था रहेको छ । यस सडकमा पर्ने केही खोलाहरुमा शाखा पुलबाट ठेक्का भई पुल सेक्टर पोखराले पुल निर्माणकार्य गर्दैआईरहेको र केही पुलहरुको निर्माणकार्य सम्पन्न गरिसकेको उनले बताए । यद्यपी केही खोलाहरुमा पुल निर्माणका लागि पुल डिजाईनको काम भईरहेको उनले जनाए ।
उत्तर/दक्षिण जोड्ने कोरला सडक अन्तर्गत १९ वठा पुलको ठेक्का व्यवस्थापन मध्ये रघुगंगा,घट्टे खोला,लेते,छाक्ताङ, स्याङ,पान्डा खोला,छुसाङ,लोमान्थाङ,किमलिङ,नाम्डोक र भर्मा खोला पुल निर्माण सम्पन्न भइसकेको छ । यस्तै, सेतो खोला, मार्फा खोला, कागबेनी, घमी र चराङ खोला पुल निर्माणाधीन अवस्थामा छन् । छुसाङ खोला पुल भदौमा सम्पन्न भएको हो । मार्फा र चराङ खोला पुल निर्माणको अन्तिम चरणमा छन् । आयोजनाले ३ वटा अस्थायी बेलिब्रिजको ठेक्का लगाएकोमा ३ वटै बेलिब्रिज निर्माण सम्पन्न गरिसकेको जनाएको छ । आयोजनाले बेनी, तातोपानी र रुप्सेमा बेलिब्रिज निर्माण गरेको हो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया