
जोमसोम ।
मुस्ताङमा अत्यधिक मात्रामा चिसो बढेसँगै भौतिक विकास निर्माणको काम ठप्पै भएको छ । चिसोको कारण उपकरण सञ्चालन, जनशक्ति व्यवस्थापन तथा विकास निर्माण कार्यमा अवरोध सिर्जना भएकाले मुस्ताङमा संघ तथा प्रदेश र स्थानीय निकायका दर्जनौँ योजनाको काम रोकिएको हो ।
राष्ट्रिय गौरवको उत्तर—दक्षिण जोड्ने (बेनी–जोमसोम–कोरला) सडक आयोजना अन्तर्गत मुस्ताङ खण्डको सडक निर्माण योजनाको काम चिसोले प्रभावित भएका हुन् । त्यसो त मुस्ताङमा निर्माणाधीन केही सडक तथा पुलका योजना निर्माण कम्पनीका कारण अलपत्र छन् । आयोजन ाअन्तर्गत सञ्चालनमा रहेका केही योजना पनि अहिले चिसोका कारण रोकिएको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाका प्रमुख ध्रुव झाले जानकारी दिए ।
आयोजना प्रमुख झाका अनुसार मुस्ताङमा आयोजनाका विकासका कामहरू पुसअगावै चिसोले रोकिएको हो । ‘अहिले चिसोले केही काम गर्न सकिने अवस्था छैन, कामदारसमेत तल झरिसके,’ आयोजना प्रमुख झाले भने, ‘अनुकूल मौसम सुरु हुनासाथ स्थगित विकासका कामहरू पुनः सञ्चालन हुने छन् ।’
चिसो याममा काम गर्दा विकास योजना दिगो पनि नहुने हुँदा फागुन लागेपछि योजनाहरू पुनः सञ्चालनमा आउने
मुस्ताङमा आयोजना अन्तर्गत सडक तथा पुलपुलेसा निर्माणका कामहरू चिसोले रोकिएको भए पनि म्याग्दी खण्डमा भने धमाधम काम भइरहेको आयोजना प्रमुख झाको भनाइ छ । मुस्ताङको तापक्रम माइनसमा झरेको छ । उपल्लो मुस्ताङमा झनै अत्यधिक चिसोले स्थानीय नागरिकको दैनिकीसमेत निकै कष्टकर छ ।
यसैका कारण पनि मुस्ताङका संघीय तथा प्रादेशिक सरकार तथा स्थानीय निकायका विकास योजनाका काम सञ्चालन गर्न निकै चुनौती हुन्छ । चिसोका कारण विकास निर्माण कार्यका लागि परिचालन हुने उपकरणहरू स्टार्ट नहुने, निर्माण स्थलमा काम गर्न नसकिने भएकाले विकास निर्माणमा प्रयोग भएका उपकरण चलाउने अपरेटरहरू कार्यस्थलमा खटिन सक्दैनन् ।
चिसोले सडक तथा पुल लगायतका विभिन्न योजनामा परिचालन भएका मजदुर जनशक्ति समेत चिसो सहन नसकेर अन्य स्थानमा फर्किने गर्छन् । चिसोले विकास निर्माणको कार्य गर्दा सिमेन्ट, छड र बालुवाको काम गर्न सक्ने अवस्था रहँदैन ।
प्रादेशिक योजना अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङका अधिकांश विकास योजनाको काम चिसोले अवरुद्ध बनेको पूर्वाधार विकास कार्यालयका प्रमुख अजय श्रेष्ठले जानकारी दिए । चालु वर्ष नयाँ र पुराना साना ठूला गरी २४ वटा योजना रहेकोमा तल्लो मुस्ताङको २ वटा स्थानमा मात्रै आंशिक काम भएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।
उनका अनुसार थासाङमा लेते–धम्पु पुलको फाउन्डेसनको कटिङ काम र न्याउरिकोट जाने सडकको ढलानको काम भइरहेको उनले जनाए । कार्यालय प्रमुख श्रेष्ठले प्राविधिक समस्याले रोकिएका विकासका कामहरूको आवश्यक प्रक्रिया अघि बढाइएको र निर्माणाधीन अवस्थामा रहेका विकासका कामहरू फागुन महिनाको दोस्रो सातादेखि पुनः सुरु गरिने बताए ।
यस्तै, खानेपानी, जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालय मुस्ताङका विकास योजनाका कामहरू समेत चिसोका कारण रोकिएको कार्यालयका इन्जिनियर कल्याण पौडेलले जानकारी दिए । खानेपानी, जलस्रोत र सिँचाइ योजनाका करिब २ दर्जन साना–ठूला योजनाले चिसोले रोकिएको इन्जिनियर पौडेलको भनाइ छ । कार्यालय अन्तर्गत कालीगण्डकी नदी अन्तर्गत व्यापक नदी नियन्त्रण परियोजना अन्तर्गतको ३ वटै खण्डकाको काम चिसोले प्रभावित बनेको उनले जनाए ।
मुस्ताङमा चिसोका कारण मंसिर महिनादेखिनै विकास निर्माणका योजनाहरू प्रभावित हुन थालेका हुन् । जस अन्तर्गत मुस्ताङका ५ वटै स्थानीय तहबाट सञ्चालन भएका साना–ठूला योजनाहरू चिसोले अवरुद्ध बनेका हुन् । अहिले मुस्ताङमा स्थानीय निकायबाट सञ्चालन भएका दर्जनौँ योजनाको काम रोकिएको सम्बन्धित स्थानीय तहले जनाएका छन् । १ करोडभन्दा कम लागतमा निर्माण भइरहेको उपभोक्ता समितिबाट काम भएका योजनाहरू समेत नागरिक बेँसी झरेकाले टुक्रे योजनाको काम ठप्प भएको हो ।
लोमान्थाङ गाउँपालिकाका सबइन्जिनियर उदय तिमिल्सिनाले उपल्लो मुस्ताङमा चाहेर पनि विकासको काम नियमित गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारे । सबइन्जिनियर तिमिल्सिनाले पालिकाबाट ठेक्का सम्झौता भएका र उपभोक्ता समितिले गर्ने सबै विकासका कामहरू चिसोले रोकिएको बताए । यस्तै, घरपझोङ गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले चिसोका कारण कामदारहरू मुस्ताङ बस्न नसक्ने अवस्था भएकाले विकासको काम ठप्प हुन पुगेको बताए । ‘चिसोले ज्यान लिन्छ कि भन्ने डर छ, दैनिक जीवनयापनमा पनि समस्या छ,’ सबइन्जिनियर कँडेलले भने, ‘चिसोयाममा जबरजस्ती काम गर्दा विकास योजना दिगो पनि हुँदैन, अब फागुन लागेपछि पालिकाका योजनाहरू पुनः सञ्चालनमा आउनेछन् ।’
मुस्ताङमा संघ, प्रदेश र स्थानीय निकायबाट सञ्चालन हुने भौतिक निर्माणका विकास योजना चिसोले प्रभावित भए पनि यहाँका कृषि लक्षित विकास योजनाहरू भने निरन्तर छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, कृषि ज्ञान केन्द्र र शीतोष्ण वागवानी विकास केन्द्र मार्फा कार्यालयले भने कृषि लक्षित सैद्धान्तिक तथा प्राविधिक कामहरूलाई निरन्तरता दिएका छन् ।
मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन, स्याउको अनधिकृत हाँगा–बिँगा काटछाँट, विषादी छर्किने, सिँचाइ र खेतीयोग्य जमिनमा आवश्यक मलजल गर्न संघ तथा प्रदेशका कृषि लक्षित कार्यालयले निरन्तरता दिइरहेको पाइयो । मुस्ताङको तल्लो क्षेत्रका स्थानीय निकायले पनि वार्षिक स्वीकृत कार्यक्रमअनुसार जिल्लाका कृषकहरूलाई स्याउ बगैँचा व्यवस्थापनसम्बन्धी आवश्यक तालिम दिन थालेका छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया