श्रद्धा सदनमा दोहोरिए नीरज

समाधान संवाददाता २०८१ पुष १३ गते १८:२६

पोखरा । ज्येष्ठ नागरिकको सुसार, हकअधिकारका क्षेत्रमा क्रियाशील श्रद्धा सदन प्रालिको अध्यक्षमा नीरज थापा निर्वाचित भएका छन् । सदनको शुक्रबार पोखरामा भएको चौथो साधारणसभा एवं दोस्रो अधिवेशनले थापाको नेतृत्वमा सञ्चालक समिति निर्वाचित गरेको हो ।

Advertisement

संस्थाले विगत ३ वर्षदेखि ज्येष्ठ नागरिकहरूको प्रत्यक्ष रेखदेख, स्वास्थ्य सेवा र सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष थापाले बताए । मानव सेवा नै संस्थाको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै आगामी दिनमा ज्येष्ठ नागरिकहरूको जीवनस्तर सुधार्न थप प्रभावकारी कार्यक्रम ल्याइने बताए ।

कार्यक्रमको बन्दसत्रमा पछिल्ला ३ वर्षका गतिविधिको समीक्षा गर्दै आगामी वर्षको कार्ययोजना प्रस्तुत गरिएको थियो । पोखरा महानगरपालिका–१५ स्थित सदनकै कार्यालयमा भएको कार्यक्रममा ज्येष्ठ नागरिक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति सहभागी थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १५ का सदस्य बलराम पौडेलले यस्ता संस्थाहरुका लागि वडा कार्यालयको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाए । संस्थाकी परिकल्पनाकार तथा प्राविधिक सल्लाहकार रीता गुरुङले विगतका कमी कमजोरीको समीक्षा गर्दै नयाँ योजनासहित अघि बढ्नु पर्ने बताइन् ।

उक्त अवसरमा संस्थाका प्रबन्धक उर्मिला राउतले आफ्ना दिवंगत पतिको स्मृतिमा २५ हजार बराबरको जिन्सी सामान सहयोग गरिन् । शोभा कुंवरले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव अनिल श्रेष्ठले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया